January 13, 2025
- ADVERTISEMENT -

‘चितवन भेटेरान कप’ दार्जिलिङले उचाल्यो

September 24, 2019

भरतपुर । रोयल एफ सी दार्जिलिङले चितवनको इतिहासमै पहिलो पटक आयोजना भएको ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबल’ को उपाधि हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा झापा भेटेरानलाई सडन डेथमा हराउँदै दार्जिलिङ च्याम्पियन बनेको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा दुबै टोलीबाट १–१ गोल मात्र भयो । दार्जिलिङले टाईब्रेकरमा फरवार्ड पाल्जर भुटिया पिटरलाई गोलरक्षकको जिम्मा दिएको थियो । टाईब्रेकरमा उनले झापाको २ प्रहार रोके । यस्तै झापाका गोलरक्षक रुपक गुरुङले पनि दार्जिलिङको २ प्रहार रोकेपछि ट्राइब्रेकरबाट निर्णय आउन सकेन र खेल सडन डेथमा धकेलियो । सडन डेथमा दार्जिलिङका गोलरक्षक पिटरले झापाको प्रहार रोके । अर्को तर्फ दार्जिलिङले गोल गरेपछि झापा पराजित भयो ।

खेलको ‘म्यान अफ द म्याच’ दार्जिलिङका पिटर घोषित भए । विजेता बनेको दार्जिलिङले नगद रु १ लाख ११ हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरे । त्यसैगरी उपविजेतामा सिमित भएको झापाले ५० हजार ५ सय ५५ रुपैँयामा चित्त बुझाएको थियो । झापाका रुपक गुरुङ प्रतियोगिताभरको उत्कृष्ट गोलरक्षक घोषित भए भने दार्जिलिङका प्रनव घोष उत्कृष्ट डिफेन्डर घोषित भए ।

यस्तै दार्जिलिङका बी बान्तवा उत्कृष्ट मिडिफिल्डर घोषित भए भने प्रतियोगिताभर ६ गोल गरेका दार्जिलिङकै पिटर सर्र्वा्धिक गोलकर्ता बने । उनीहरुले जनही ५–५ हजार रुपैयाँ प्राप्त गरे । झापाका नरेन्द्रमणि लिम्बुले प्रतियोगिताभरको उत्कृष्ट खेलाडी बन्दै १० हजार प्राप्त गरे । उनीहरुलाई प्रदेश ३ का प्रदेश सभा सदस्य विजय सुवेदी, अखिल नेपाल फुटबल संघ चितवनका अध्यक्ष श्री कृष्ण कार्की, आयोजक चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रविन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गरे । गत असोज ४ गतेबाट सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोलीको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -