२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

नेपाल अझै कोरोनाको उच्च जोखिममा – डब्लुएचओ

प्रकाशित मिति : २०७७ बैशाख १३ गते
- ADVERTISEMENT -

काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झरेको डब्लुएचओ जनाएको हो ।
छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिएका छन् । उहाँका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तरराष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो ।
‘नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन’, उनले भने, ‘त्यसैले नेपाल
कोभिड–१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो।’ नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड–१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ । नेपालमा कोभिड–१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड–१९ र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ ।
दुवैले आआफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन् । यसैगरी सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ । ती अस्पतालमा कोभिड–१९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ । कैलालीमा विदेशबाट आएकाबाट एक जनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोभिड–१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो । अहिले १५ स्थानमा पिसिआर र ७५ जिल्लार्मा यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरिएको छ ।
अहिले प्रत्येक २५० जनामा एक जनामा परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा पिसिआरबाट नौ हजार ४०९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ। तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन् । यसैगरी कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेशनमा छन् ।

- ADVERTISEMENT -