September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘संचारमाध्यमलाई जोगाउन राज्यले अलग्गै नीति ल्याउनुपर्दछ’

May 22, 2020
संचारउद्यमी हरि कार्की /

सूचना तथा प्रविधिको विकास क्रमसंँगै सञ्चारमाध्यमले पनि ठूलो फड्को मारेको छ । छापा पत्रकारिता, रेडियो टेलिभिजनसंँगै पत्रकारिता अनलाईन मल्टिमिडिया डिजीटल प्रविधिसम्म फराकिलो हुन पुगेको छ । पछिल्लो समयमा नेपालमा सबैभन्दा विकास र फड्को मारेको क्षेत्र हो सूचना र प्रविधि क्षेत्र । यसले प्रतिस्पर्धासँगै यसको क्षेत्र र विज्ञापनको दायरा पनि फराकिलो बनाई दिएको छ । जसका कारण अधिकांश संचारकर्मीको लागि व्यवसायिक र पेशागत सुरक्षा दिन सफल भइसकेको छ ।
तर विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण सारा जगतलाई निकै ठूलो मानवीय क्षति पुर्याएको छ । त्यसमाथि कोरोनाका कारण लकडाउनले आर्थिक क्षेत्रमा ठूलो पहिरो गएको छ । विश्व अर्थतन्त्र नै तहसमहस पारिदिएको छ । यसले नेपालको अर्थतन्त्रलाई कहांँसम्म पुर्याउने हो यसै अनुमान गर्न सकिँदैन । आर्थिक क्षेत्र ध्वस्त र ठप्प भइरहेको बेला यसको गम्भीर असर संचार क्षेत्रमा समेत परेको हो । समग्र आर्थिक क्षेत्रभित्र नै संचार क्षेत्र आश्रित छ । यतिबेला अधिकांश स्थानीय तथा राष्ट्रिय छापामाध्यमहरु पनि बन्द जस्तै अवस्थामा छन् । विज्ञापनमा आश्रित मिडियाहरु झण्डै २ महिनादेखि संकटमा रहेका छन् ।
विगत १० वर्षदेखि चितवनमा रहेर छापा पत्रकारिता, विज्ञापन एजेन्सी र इभेन्ट मेनेज्मेन्ट संचालन गर्दै आउनु भएका संचारउद्यमी हरि कार्कीसँग रहेर लकडाउनले संचार क्षेत्रमा गरेको नोक्सानी र भविष्यमा पर्ने असरका बारेमा गरिएको संक्षिप्त कुराकानी ः
१) कोरोना महामारी विश्वव्यापी रुपमा फैलिरहंँदा यसले संचार क्षेत्रमा कस्तो असर पारेको छ ?
– विशेषगरी संचारमाध्यम, मिडिया पनि एउटा उद्योगको रुपमा विकसित भइरहेको परिप्रेक्ष्यमा यसले संचार क्षेत्रमा गम्भीर असर पारेको छ । एकातिर संचार क्षेत्रलाई नियमित गर्नुपर्ने चुनौति छ भने अर्कोतिर विज्ञापन नहुँदा दोहोरो मारमा परेको छ । ठूला संचारमाध्यमलाई समेत अहिले नियमित कार्य चलाउन धौ–धौ परिरहेको बेला साना संचारमाध्यमहरु अबको यही स्थिति रहने हो भने पलायन हुने अवस्था निश्चित छ ।
२) आर्थिक क्षेत्र र संचारमाध्यमको अन्तरसम्बन्ध कस्तो हुन्छ ? तपाईले यसलाई कसरी लिइरहनु भएको छ ?
– विना लगानी आखिर कुनै व्यवसाय उद्योग चल्दैनन । त्यसैले संचार माध्यमपनि एउटा सेवामुलक व्यवसाय हो । सरकारी मिडीयाहरु त सरकारको बजेट र लगानीले चल्न सक्लान तर निजी संचार माध्यम चल्ने भने उद्योग, व्यवसायको विज्ञापनबाट नै चल्ने हो । सरकारले लोककल्याणकारी विज्ञापनको लागि बजेट छुट्याए पनि त्यो प्रर्याप्त पनि छैन र सबैको पहुंँचमा पनि छैन । जसका कारण अहिले चलिरहेका उद्योग, व्यवसाय एवं विज्ञापनदाता पनि अन्यौलमा छन् । लकडाउनको समय कति लम्बिने हो र यसको असर कहिलेसम्म पर्छ यसै भन्ने अवस्था छैन । जबसम्म नेपालको आर्थिक क्षेत्र तंग्रिदैन तबसम्म संचारक्षेत्र पनि थलिने निश्चित छ । त्यसैले आर्थिक क्षेत्र र संचारमाध्यमबीचको सम्बन्ध नङ र मासुको जस्तै हो ।
३) लकडाउनका कारण अहिलेको संचारमाध्यमको कुन अवस्थामा छन ? यसलाई कसरी नियाल्नु भएको छ ?
– अहिलेका सबै सञ्चारमाध्यहरु पर्ख र हेर को अवस्थामा छन् । कहिले महामारी मत्थर होला र अवस्था सामान्य होला भन्ने पर्खाइमा छन । तर जति लकडाउन थपिँदै गएको छ उति संचारमाध्यम थलिँदै गएका छन । कतिपय संचारमाध्यमले घरभाडा बुझाउन सकेका छैनन, विज्ञापनमा दिनहुंँ कटौती भइरहेको छ । नयांँ विज्ञापन आउने कुनै आधार र आशा छैन । संचारकर्मीको तलब रोकिएको छ । यो दयनीय अवस्था हो । यस्तो अवस्था संचारमाध्यमले सशस्त्र द्वन्द्व र भुकम्पका बेला पनि व्यहोरेका थिएनन् । जसका कारण यसले गर्दा विज्ञापन एजेन्सी, संचारमाध्यम र संचारकर्मी सबैलाई उठ्न नसकिने गरी थला पारेको छ । संचारमाध्यम धरासायी बन्ने अवस्थामा पुगेको छ ।
४) तपाईको बिचारमा लकडाउनलाई कसरी व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ ? र यसले कतिसम्म असर पार्न सक्छ ?
– नेपाल एउटा विकासोन्मुख देश र साथै गरिब मलुकको दर्जामा पर्छ । यसको आफ्नो आन्तरिक श्रोत खासै छैन । नेपालको अर्थतन्त्र रेमिट्यान्सको भरमा अडिएको छ । आशाको रुपमा रहेको पर्यटन क्षेत्रपनि धराशायी र ध्वस्त छ । केही निमार्णाधिन रुपमा रहेको जलविद्युतका श्रोतहरु पनि पूरा हुन सकेका छैनन् । विश्वमै बेरोजगारी दिनानुदिन बढिरहेका बेला झण्डै देश बाहिर रहेका ८० लाख नेपालीको रोजी रोटी पनि संकट पर्ने देखिन्छ । उनीहरुले अब केही समय रेमिट्यान्स पनि पठाउन सक्दैनन् । त्यहाँ रहेका अधिकांश कामदार पनि करीब १५ लाख भन्दा बढी नेपाल फर्कनुपर्ने तरखरमा छन् । यस्तो बेला सरकारलाई दोहोरो भार र मार पर्ने देखिन्छ । उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न तत्काल सम्भव छैन । लगानी गर्ने कुनै क्षेत्र संभव छैन विकल्पको रुपमा रहेको कृषि क्षेत्र हो तर यसमा पनि सरकारको कुनै अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजना नभएको कारण यसको असर वर्षौंसम्म पर्ने देखिन्छ ।
५) अब संचार माध्यमको भविष्य कस्तो देख्नु भएको छ ?
– संचारमाध्यम एउटा जनतालाई सुसूचित गर्ने भरपर्दो माध्यम हो । तर सूचना प्रविधि र इन्टरनेट स्मार्ट डिभाइसका कारण सबै पाठक, दर्शकले अनलाईन माध्यम र अनलाईन टेलिभिजन र सोसल मिडियालाई रुचाएको र स्वीकारेको अवस्था हो । तर पछिल्लो समय यसको अस्वस्थ प्रतिस्पर्धा र मिडिया पनि व्यवसायिक नबन्दा निष्पक्ष, तटस्थ, समाचार सम्प्रेषण गर्ने संचार माध्यम चेपुवामा परेका छन् । अर्को कुरा मानिसको जीवनशैलीमा पनि व्यापक परिवर्तन आएको छ । शहर केन्द्रित पाठक, दर्शक अनलाईन मिडिया र अनलाइन टिभीमा आकर्षण हुनु र छापामाध्यम र रेडियो प्रतिको क्रेज घट्नुका कारण यसका पाठक दर्शकको संख्यामा कमी आएको छ । जसले गर्दा विज्ञापनको बजार साँघुरिदै जानु र संचार माध्यमको संख्या बढ्दै जानुले यसको सन्तुलन हुन सकेको छैन । छापा माध्यम र रेडियोको पहुंच गाउँका दुरदराजमा सजिलै पुग्न नसक्नु र पाठक, श्रोता र दर्शकले आफूले चाहेजस्तो कन्टेन्ट नदिँदा विकल्पको रुपमा अनलाईन समाचार, भिडियो, सामाजिक संजाललाई लिएका हुन् । त्यसैले अनलाईन मिडिया, च्यालनको भविष्य राम्रै देखिएपनि छापापत्रकारिता, रेडियो र टेलिभिजनको भविष्य संकटमा पर्दै गएको छ ।
६) संचार माध्यमलाई जोगाउन र यसको व्यवस्थापन गर्न के गर्नुपर्ला जस्तो लाग्छ ?
– सबैभन्दा पहिला त संचारमाध्यमलाई जोगाउन राज्यले अलग्गै नीति ल्याउनुपर्दछ । ताकि अहिलेको परिवेशलाई नियाल्ने हो भने पनि विज्ञापन नीति न त व्यवहारिक छ न त समावेशी छ । मूलधार र ठूला मिडियाको विज्ञापनमा एकछत्र राज छ । जसका कारण मोफसलका मिडियाहरु मारमा परेका छन । यसलाई जोगाउन तथा व्यवसथापन गर्न विज्ञापनलाई समानुपातिक ढंगले वितरण गर्नुपर्छ । अर्को कुरा विज्ञापनको बजार र संचार क्षेत्रको आवश्यकता र मागलाई अध्ययन गर्नु जरुरी छ । अहिले संख्यात्मक रुपमा प्रतिष्पर्धा र छ तर संचार माध्यमको गुणस्तर खस्किरहेको छ । विशेषगरी अनलाईन माध्यमका भ्रामक समाचारले आम यसको दर्शक, पाठक, श्रोता पीडित छन् । यसलाई सही व्यवस्थापन गर्न राज्यले यसको स्तर निर्धारण गर्ने, सबै मिडियालाई दर्ताको दायरामा ल्याउने र असंख्य खुलिरहेका मिडियालाई नियन्त्रण, नियमन गर्ने संयन्त्र तयार पार्नुपर्ने देखिन्छ । असंख्य रुपमा खुल्दै जाने मिडियाले न त संचारमाध्यमलाई, न त जनतालाई, नत समाज, अनि राष्ट्रलाई नै फाइदा पुग्छ । त्यसैले अबको बाटो भनेको व्यवसायिक पत्रकारितातर्फ आम सरोकारवाला केन्द्रित हुनु जरुरी छ ।