January 21, 2025
- ADVERTISEMENT -

महिलाहरूको अथक प्रयासद्वारा निर्मित पञ्चशील गुम्बा

May 25, 2020
गुम्बाकी अध्यक्ष शिवकुमारी लामा (इन्सेकमा) । फोटो - न्यूजप्रवाह डट कम ।

–बबिलाल तामाङ
विशेष गरी हरेक सार्वजनिक संस्था निर्माणमा पुरूषको तुलनामा महिलाको प्रत्यक्ष सहभागिता कमै हुन्छ । यस्ता संघसंस्था निर्माणको काम गाह्रो हुने भएकोले पनि महिलाभन्दा पुरूषहरू नै अघि सर्छन् । तर, चितवन जिल्लाको भरतपुर–११, लामाटोलमा रहेको गुम्बा निर्माणमा भने पुरूषको उपस्थिति शून्य छ । जहाँ महिलाहरूको मात्रै सहभागितामा गुम्बा निर्माण भएको छ । वि.सं. २०६६ सालमा निर्मित भरतपुर–११, लामा टोलमा रहेको विश्व पञ्चशील शान्ति गुम्बा व्यवस्थापन समितिमा समेत हालसम्म महिलाहरूको मात्रै नेतृत्व छ । जसले गर्दा आवश्यक पर्दा पुरुष सरह महिला पनि काम गर्न सक्छ भन्ने बलियो प्रमाण बनेको छ । ‘वि.सं. २०६३ सालमा लालमति लामाको अध्यक्षतामा लम्हेन्दो आमा समूह (गुठी) गठन भयो, त्यसपछि अहिलेसम्म कुनै पनि कार्यकालमा पुरूषको उपस्थिति छैन,’ गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष शिवकुमारी लामा भन्छिन्, ‘समिति गठन भएको एक वर्षपछि हामीले प्रत्यक घरधुरीबाट १०÷१० रूपैयाँ संकलन गरेर गुम्बाको संरचना निर्माण थालेका हौँ ।’
तामाङ जातिले बुद्ध धर्मप्रति आस्था र विश्वास राख्ने हुनाले बुद्ध दर्शनसम्बन्धी सन्देश दिन पनि गुम्बा निर्माण आवश्यक भएको उनको बुझाइ छ । हाल समूहमा ५५ सदस्य रहेको उनले बताइन् । समूहमा ८१ घरधुरी उक्त गुठीमा आवद्ध छन् । उक्त टोलमा तामाङ समुदायको मात्रै १२० घरधुरी छन् । त्यसैले सबैलाई गुठीमा आवद्ध गराउने प्रयास भइरहेको उनले बताइन् ।
गुठीमा आवद्ध ८१ घरधुरीबाट वार्षिक ६०० को दरले रकम उठाएर गुम्बा सञ्चालन गर्दै आएको अध्यक्ष लामाले बताइन् । ‘हरेक वर्ष तिहारमा देउसी–भैलो खेलेर रकम संकलन गर्छौं,’ उनले भनिन्, ‘केही रकम हामीले गाउँघरमा नाचगान गरेर पनि संकलन गर्ने गरेका छौँ । जेनतेन त्यसैले चलिरहेको छ ।’ गुम्बाले करिब दुई विगाह क्षेत्रफल जमिन भोगचलन गर्दै आएको छ । सोही जग्गामा ५ लाख रूपैयाँ लागतमा गुम्बा निर्माण गरेको उनले बताइन् । गुम्बा निर्माण भए पनि चाडपर्वमा कार्यक्रम गर्नको लागि मञ्चको आवश्यक परेकोले २०७५ सालमा ४ लाख रूपैयाँ खर्च गरेर मञ्च निर्माण गरिएको उनको भनाइ छ ।
हालसम्म गुम्बाको संरचना ‘निर्माणमा भरतपुर महानगरपालिकाको वडा नं. ११ भरतपुरबाट ४० हजार र भरतपुर नगरपालिकाबाट ५० हजार रूपैयाँ बाहेक सरकारी सहयोग आएको छैन,’ उनले भनिन्, ‘बाँकी खर्च चन्दादाताबाटै संकलन भएको हो ।’ त्यो बाहेक कतिपयले निर्माण सामग्री र गुठीमा आवद्ध रहेका सदस्यहरूको श्रमदानबाट गुम्बा निर्माण भएको उनको भनाइ छ । सुरुका दिनमा ज्यादै कठिन परिस्थितिको सामना गर्नु परे पनि अहिले गुठीमा आवद्ध हुनेहरूको संख्या बढ्दै गएको र मानिसहरूले विश्वास गर्न थालेकाले केही सहज भएको उनले बताइन् ।
समयअनुसार गुठी सञ्चालन र गुम्बा व्यवस्थापनमा खर्च बढ्दै गएको छ । गुम्बाको संरचना निर्माणमा सुरूवाती चरण मात्रै पार गरेकोले अझ बढी लगानीको आवश्यक पर्ने उनले बताइन् । ‘हामीले थोरै रकम र श्रमदान तथा सहयोगबाटै गुम्बाको संरचना स्थापना ग¥यौँ,’ उनले भनिन्, ‘तर, अब यसलाई पूर्णता दिनको लागि कम्तीमा पनि पाँच करोड रूपैयाँ जुटाउनुपर्ने देखिन्छ ।’ गुम्बालाई पूर्णता दिन सके भविष्यमा ‘लामा स्कुल’ सञ्चालन गर्ने योजना रहेको उनले सुनाइन् । हाल गुम्बामा ‘सम्वोटा लिपि’को निःशुल्क पठनपाठन भइरहेको छ । त्यसका लागि लामा गुरू खेन्पो दावा लामाले शैक्षिक सामग्री सहयोग गर्दै आएका छन् । तर, राज्यले बौद्ध धर्मलाई सधैँ पछि पारेकोले सरकारी निकायबाट आवश्यक सहयोग नपाएको उनले गुनासो गरिन् । ‘विश्वले बुद्धलाई मानिरहेको छ, तर दुर्भाग्य भनौँ कि के भनौँ, नेपाल सरकारले बुद्ध धर्मलाई अपहेलना गरिरहेको छ,’ उनी दुखेसो पोख्छिन् ।
गुम्बाका लागि युनिक युथ क्लब तथा नेपाली काँग्रेसका भरतपुर ११ का वडा सभापति अम्बर लामाले पनि सहयोग गरेका छन् । तामाङ समुदायको धर्म, संस्कृति र संस्कारको जगेर्ना गर्न ल्होसार, बुद्ध जयन्ती जस्ता पर्वसँगै हरेक दिन पूजापाठ गर्दै आइरहेको छ । गुम्बाभित्र तीन वटा ढुंगाका मूर्ति कुँदिएका छन् । पश्चिम भेगमा मञ्च बनाइएको छ भने अगाडि भागमा झण्डा (लुङ्दा) राखेर आकर्षक बनाइएको छ । गुम्बालाई अझ आकर्षक बनाउन धेरै काम गर्न बाँकी रहेको अध्यक्ष लामाले बताइन् । तर, आर्थिक अभावका कारण गुरुयोजना अनुसारको काम पूरा हुन नसकेको उनको भनाइ छ । सरकारी तथा गैरसरकारी संघसंस्थाबाट सहयोगको अपेक्षा गरिएको उनले बताइन् । देशविदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँग पनि सहयोगको लागि अपिल गरिएको उनले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -