विश्वव्यापी रुपमा फैलिरहेको महामारी कोरोना भाइरस (कोभिड १९) का कारण पूरै विश्व नै धरासायी हुँदै गइरहेको छ । यो विषम परिस्थितिमा सम्पन्नशाली राष्ट्रहरुले समेत घुँडो टेकेको अवस्था छ । हालसम्म कारोना भाइरसको कुनै पनि भ्याक्सिन पत्ता लागेकोे छैन । यो महामारीबाट नेपाल पनि अछुतो रहेको छैन । अन्य देशमा जस्तै नेपालमा पनि सरकारले लकडाउन जारी नै गरेको छ । जारी लकडाउनले मानिसको जीवनसँग अत्यावश्यक पर्ने खाद्यान्नसँग जोडिएको फलफूल तथा तरकारीसँग सम्बन्धित रहेर महानगर फलफूल तथा तरकारी थोक बजार भमनपा–२, क्षेत्रपुर, चितवनका प्रबन्ध निर्देशक तथा फलफुल तथा तरकारी थोक व्यवसायी संघका निवर्तमान अध्यक्ष थिरप्रसाद धितालसँग न्यूजप्रवाह डट कमले लिएको संक्षिप्त कुराकानी :-
१) राज्यले गरेको लकडाउनले तपाईहरुलाई के कति असर परेको छ ?
– नेपाल सरकारले गरेको लकडाउनले सम्पूर्ण व्यवसायमा ठूलै असर परेको छ । त्यसमा त झन् हाम्रो जस्तो नाशवान प्रकृतिको सिजनेवल उपजमा त झन् नराम्रोसँग असर परेको छ । किसानको तरकारी, फलफूल कुहिएको छ, लकडाउनले निकै ठूलो प्रभावित भएको अवस्था छ ।
३) यही क्रम जारी रहिरहे यो बजारको भविष्य कतातिर जाला ?
– यही क्रम जारी रहेमा बजार र व्यवसायी त धराशायी हुने नै छन्, त्यसमा पनि किसान अत्यन्तै मारमा पर्नेछ । यही बजारबाट बाहिरी १६,१७ जिल्लामा तरकारी फलफूलको व्यावसायिक नेटवर्क छ त्यो नै धराशायी हुनेछ ।
४) तपाईले विकल्प के देख्नु भएको छ ?
– नेपाली किसानले उत्पादन गरेका कृषि उपजलाई सुरक्षाका सावधानी अपनाउँदै स्वदेशी उपजको बजारीकरणमा स्थानीय तहले आवश्यक पहल गरी व्यवस्था मिलाउनु पर्छ ।
५) सरकारले दुई महिना अघिदेखि लकडाउन गरी रहेको छ । यो अवधिसम्म तपाईहरुले के कसरी यहाँका मजदुर तथा साना व्यवसायीहरुलाई हेर्नु भएको छ ?
– हामीहरूले हाम्रो बजारभित्र रहेका मजदुरलाई दैनिकी गुजारा गाह्रो नहोस् भनी राहत वितरण गरी आवश्यक समन्वय गरिरहेका छौँ र व्यवसायीको हकमा लकडाउन अझै अनिश्चित भएकोले लकडाउन खुलेपछि छलफल गरी आवश्यक व्यवस्थामा पैरवी गर्नेछौँ ।
६) किसानहरुलाई प्रत्यक्ष असर परेको सर्वविदितै छ, यस विषयमा सरकारलाई के भन्न चाहनुहुन्छ ?
– अहिलेको परिस्थितिमा किसानलाई अत्यन्तै मार परेको छ । त्यसैले किसानलाई मल, बिउ र आवश्यक प्रविधिमा सहुलियत र तरकारी बारीमा नै कुहिएको अवस्थामा न्यूनतम लागतको आधारमा अनुदानको प्याकेज आवश्यक छ । किसानहरू विशेष गरेर बिचौलियाबाट पीडित छन् तसर्थ हरेक थोक बजारमा किसानले आफ्नो सामान आफैँ बिक्री गर्न पाउने व्यवस्था मिलाउनु पर्दछ ।
७) भावी दिनमा सरकारले के गरी दिए हुन्छ जस्तो लाग्छ ?
– कृषि क्षेत्रका व्यवसायी, किसानदर कृषि बजारलाई सहुलियतका ऋण सहजरूपमा पाउने वातावरण बनाउनु पर्दछ । स्वदेशी उत्पादनमा वृद्धि गरी तरकारी फलफुलमा परनिर्भरताको अन्त्य गरिनु पर्दछ । देशभरिका कृषि बजारका लागि संकलन केन्द्र, थोक बजार, खुद्रा बजारलाई थप व्यवस्थित गर्नु पर्दछ ।
८) कोरोना भाइरस तत्कालै निर्मूल हुने अवस्था देखिँदैन, अबका दिनमा तपाईहरु कसरी जाँदा ठीक होला ?
– हाम्रो कृषि क्षेत्र अत्यन्तै जोखिमपूर्ण क्षेत्र र प्रत्यक्ष किसान र दैनिक उपभोग्य वस्तुको सेवा क्षेत्र भएको हुनाले सुरक्षाका सावधानी अपनाउँदै सामाजिक दूरी कायम गरी किसानको बारीबाट उपभोक्ताको भान्सासम्म पुर्याउनका लागि आवश्यक ढुवानीका साधन, बजारलाई सबै क्षेत्रको पहलमा सुचारु गर्नुपर्ने देखिन्छ ।
९) मैले सोध्न बिर्सेका र तपाईलाई लागेको केही कुरा भए थप गर्न सक्नु हुनेछ ।
– अहिलेको परिस्थितिले हामीलाई किसान महान रहेछन् र हामीलाई आवश्यक पर्ने दैनिक उपभोग्य कृषि उपजमा हामी आत्मनिर्भर हुनु पर्ने रहेछ भन्ने पाठ सिकाएको छ । तसर्थ हामी निजी क्षेत्र र सरकारको सहकार्यमा कृषि पेशालाई थप व्यवस्थित र व्यावसायिक गर्नु पर्ने देखिन्छ । अन्तमा, यो जानकारी गराउने अवसर दिनु भएकोमा न्यूजप्रवाह डट कम परिवारलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।
- ADVERTISEMENT -
लकडाउनले फलफूल तथा तरकारीमा ठूलो असर : प्रबन्ध निर्देशक धिताल
May 27, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -