– बबिलाल तामाङ
नेपाल पत्रकार महासंघ चितवन शाखाले धेरै अघिदेखि भ्रमण जाने विषयमा निकै कसरत गरिरहेको थियो । अन्ततः माघ २८ देखि फागुन २ गतेसम्म चार दिनको लागि अन्तरदेशीय भ्रमणको साइत जु¥यो । बागमती प्रदेश अन्तर्गत नेपाल पत्रकार महासंघका शाखाहरु अवलोकन भ्रमण गर्ने योजना रहेको थियो । महासंघका प्रत्येक शाखासँग भेटघाट, संस्थागत अवस्था, पत्रकारहरुको वास्तविक स्थिति, प्रदेशको भौगोलिक स्थिति अवलोकन तथा भ्रमण नै हाम्रो उद्देश्य थियो । हाम्रो भ्रमण धादिङ, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र मकवानपुरका शाखाहरुसम्म पुग्ने लक्ष्य थियो । महासंघका केन्द्रीय सदस्यद्वय कृष्ण गिरी, सिर्जना अर्याल र नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकाललगायत १६ जना कार्यसमिति साथीहरुको सहभागितामा अवलोकन भ्रमण सुरु भएको थियो ।
२०७६ माघ २८ गते
महासंघ चितवन शाखाको आफ्नै भवन परिसरबाट माघ २८ गते बिहान ८ः०० बजे यात्रा सुरु भयो । त्यसदिन बिहानै महासंघका उपाध्यक्ष नारायण अधिकारी र सल्लाहकार सूर्यप्रकाश कंडेलज्यूले मलाई फोन पनि गर्नु भएको थियो । खै त, खै ढिला भयो, आउने बेला भएन भन्दै थिए उनीहरु । म निस्किहालेँ सर भन्दै महासंघतिर हानिए । त्यतिखेरसम्म करिब ७ः३० बजेको थियो । म ढिलो भएको होला भन्ठानेको त अरु साथीहरु अझै आउन बाँकी नै रहेछ । एकछिनको पर्खाईपछि मात्र साथीहरु सबै जुटे र दुई वटा स्कारपिओ गाडीमा हामी १६ जना गुटुङटुङ धादिङतर्फ लाग्यौँ । धादिङमा हामी बिहानको १० बजेतिर पुगेका थियौं । नेपाल पत्रकार महासंघ धादिङका साथीहरुले हाम्रो स्वागतका लागि बिहानैदेखि प्रतिक्षारत रहेछन् । धादिङ शाखाका अध्यक्ष नवराज छतकुली सरलगायत अन्य कार्यसमितिका सदस्य साथीहरुले हामीलाई भव्य स्वागत गर्नुभएको थियो । छोटो मिठो अन्तक्र्रिया पश्चात हामीले हल्का नाता लियौं । स्वागत सम्मानका लागि धादिङका साथीहरुलाई धन्यवाद ।
धादिङमा झण्डै दुई दशक अघि २०५६ सालतिर मेरो २०÷२२ दिनको बसाई भएको थियो । त्यसबेला एकजना अग्रज पत्रकार राजेन्द्र शाह सरसँग मेरो चिनाजानी भएको थियो । उहाँसँग भेट्ने मौका जु¥यो यो भ्रमणले । यो मेरो लागि एक खालको राम्रै उपलब्धि नै भएको हो । परिचयात्मक कार्यक्रममा मैले उहाँलाई त चिने तर उहाँले मलाई बिर्सनु भएको रहेछ । म नजिकै गएर, सर नमस्कार चिन्नु भो मलाई भने । उहाँले मलाई निकै नियाल्नु भयो– गाह्रो भयो, कहाँ भेट भएको थियो हाम्रो भन्दै थिए मलाई । मैले २० वर्ष अघिको कुरो अनि मैले उहाँको पत्रिकाको म स्वयम्ले ले–आउटको विषयमा सबै बेलिबिस्तार लगाएपछि उहाँले बल्ल चिन्नु भयो मलाई । त्यो बेला उहाँले गणेश हिमाल साप्ताहिक पत्रिका प्रकाशन गर्नुहुन्थ्यो । २० वर्ष अघिको भेट भर्खरै जस्तो ताजा हुन पुगेको थियो एकछिनका लागि । म ज्यादै खुशी भएको थिएँ, सँगै उहाँ पनि । अरु नयाँ साथीहरु सगरमाथा टिभीका सम्वाददाता गोमा थापा, सीताराम वर्मा राससका सम्वाददातालगायत अन्य साथीहरुसँग भलाकुसारी रामै्र भयो ।
बिहान ११ः०० बजे धादिङका साथीहरुसँग विदा भई हामी काभ्रेतिर लाग्यौँ । धादिङबाट नुवाकोट जानु पर्ने थियो तर समय अभावले हामीले नुवाकोटलाई थाँती राख्दै काभ्रेतिर लाग्यौँ । नुवाकोटलाई अर्को पटक भेट्ने वाचा गर्दै मनलाई नमिठो बनाउँदै निस्केका थियौँ हामी । यात्रारत हामी चन्द्रागिरी पहाड जान्छौ भन्ने सहपाठी पत्रकार मित्र सूर्यप्रकाश कँडेलमार्फत मैले जानकारी पाएँ । चन्द्रागिरी कस्तो होला ? कहाँ होला ? कस्तो ठाउँमा होला ? एकदमै कौतुहल भइरहेको थियो मनमा ।
समुद्र सतहबाट ३ हजार ८ सय मिटर उचाइमा रहेको यो चन्द्रागिरी पहाड पर्यटकीय दृष्टिकोणले निकै चर्चित मानिन्छ । त्यहाँसम्म पुग्न केबुलकारको सहारा नै विकल्प रहेछ । चन्द्रागिरीको गन्तव्यसम्म झण्डै १५ देखि २० मिनेटको ठाडै उकालो केबुल कारमा पहिलो पटक चढियो । सम्भवत नेपालकै ठूलो हो यो केबुलकार । केबुलकारबाट माथि चढ्दै गर्दा तल हेर्नै नसकिने डरलाग्दो दृश्य, पहाडका खोँचहरु साह्रै मन डराएको थियो । केवलकारको यात्रापछि चन्द्रागिरी अवस्थित चर्चित भालेश्वर मन्दिरको दर्शन भयो । भालेश्वर मन्दिरको आफ्नै इतिहास छ । स्वस्थानी कथामा सतिदेवीको भाल पतन भएको र राष्ट्र एकीकरणका पिता पृथ्वीनारायण शाहले पहिलो पटक काठमाण्डौ देखेको जस्ता पौराणिक धार्मिक तथ्य चन्द्रागिरी पहाडले बोकेको इतिहास रहेछ । हाल चन्द्रागिरी र भालेश्वर मन्दिर एउटा पर्यटकीय गन्तब्य बन्दै गइरहेको पाइयो त्यहाँको अवलोकन भ्रमणले ।
चन्द्रागिरी पहाड अनि भालेश्वर मन्दिरको दर्शन पश्चात् हामी दिउँसोको करिब ३ बजेतिर काभ्रेतिर हानियौँ । बेलुका झण्डै ६ः१५ तिर हामी काभ्रेको एक होटलमा पुगेका थियौं । जहाँ हाम्रो प्रतीक्षामा नेपाल पत्रकार महासंघ काभ्रेका साथीहरु थिए । त्यो दिनको बास हाम्रो काभ्रेकै होटलमा भयो । दिनभरिको यात्राले शरीर थकित थियो । मसँग मेरो सहपाठी मित्र सूर्य प्रकाशजी सँगै थिए । चारपाँच साथीहरु मिलेर त्यो दिन बेलुका हल्काफुल्का रमाइलो पनि गरेका थियौँ । समग्रमा साथीहरुसँग रमाइलो नै गरियो भन्दा फरक नपर्ला ।
२०७६ माघ २९ गते
भोलिपल्ट बिहान सबेरै ६ बजे उठ्नु पर्ने तालिका थियो सोही अनुसार हामी सबैजना आ–आफ्नो रुमतिर लाग्यौं । बिहान ५ बजे नै उठेर सबै साथीहरुलगायत म नेपाल पत्रकार महासंघ काभ्रे शाखासँगको अन्तरक्रियामा सहभागी भयौँ । परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष मोतिराम तिमिल्सिना, सचिव नगेन्द्र अधिकारी, कोषाध्यक्ष रमेश न्यौपानेलगायत अन्य सबै नयाँ साथीहरुसँग चिनजान भयो । काभ्रेका साथीहरुले मायाको चिनो स्वरुप डायरी, पेन र स्मारिका उपहार दिनुभएको थियो । त्यसको लागि धेरैधेरै धन्यवाद छ काभ्रे महासंघका अध्यक्षलगायत सबै साथीहरुलाई । कार्यक्रम पश्चात सेलरोटी, तरकारी, तात्तातो चियाको स्वागत, प्रशंसा गर्न लायक नै थियो । उहाँहरुको त्यो न्यानो आतिथ्यता मन मस्तिष्कमा अहिले पनि ताजै छ । नचाहेर पनि विदा हुनु पर्ने बाध्यता आफ्नो ठाउँमा छुट्टै छ । साथीहरुलाई चितवन भ्रमण आउन निम्तो दिँदै, स्वागत गर्ने बाचाकासाथ हाम्रो टोली त्यहाँबाट प्रस्थान ग¥यौँ । बाटैमा पर्ने मिराबेल रिसोर्टका डाइरेक्टर भोला थापा सरसँग थोरै समय कफि चियाको लागि दिइयो । उहाँ अरनिको टिभीका अध्यक्ष समेत हुनुहुन्छ । थापा सरलाई स्वागतका लागि धेरैधेरै धन्यवाद दिन चाहन्छु ।
यात्रारत हामी अबको यात्रा पलाञ्चोक भगवती मन्दिरतर्फ थियो । सोही अनुसार त्यतै निस्कियौँ । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलहँुदै पाँचखाल भन्दा अलि अघि लामीडाँडा बजारबाट उकालो लागेपछि हामी पलान्चोक भगवती मन्दिर पुग्यौँ । त्यहाँका स्थानीयका अनुसार वैशाख पूर्णिमा र कार्तिक पूर्णिमामा भव्य मेला लाग्ने यहाँ टाढाटाढाबाट भक्तजन आउने गर्दा रहेछन् । अचम्म त के छ भने उक्त मूर्ति एउटै ढुङ्गाबाट बनेको छ र यसमा कुनै रसायन प्रयोग गरिएको रहेनछ । जे भए पनि पलाञ्चोक भगवतीको दर्शन गरियो । यात्रा धेरै गर्नु थियो । पहाडको बाटोघाटो निकै अप्ठेरो, टाढा पुग्नु पर्ने कारणले ढिला नगरी हामी त्यहाँबाट कुलेलाम ठोक्यौँ ।
यात्रारत हामी नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखामा पुगेर केही समयका लागि विश्राम ग¥यौँ । खानाको व्यवस्थापन सिन्धुपाल्चोकका साथीहरुले गर्नु भएको रहेछ । साथीहरुको न्यानो आतिथ्यता र हामीलाई गर्नुभएको स्वागतका लागि मुरीमुरी धन्यवाद भन्न चाहन्छु । त्यहाँ पनि छोटो अन्तक्र्रिया तथा परिचयात्मक कार्यक्रम भएको थियो । सिन्धुपाल्चोक साथीहरुसँग विदा माग्दै हाम्रो आफ्नो यात्रा पाँचखाल, तामाघाट, दोलालघाटहुँदै चरिकोट, दोलखा बेलुका हामी ७ः०० बजे पुगेका थियौं । पहाडका बाटाघाटा निकै अप्ठेरा थिए, जीवनमा पहिलो पटक पहाडी बाटो हिँडेको रमाइलो अनुभव भयो । बेलुका ८ बजेपछि हामीलाई नेपाल पत्रकार महासंघ दोलखा शाखा अध्यक्ष जीवन लामालगायत साथीहरुले स्न्याक लगायत खानाको राम्रो प्रबन्ध मिलाएका थिए । सुविधासम्पन्न होटलमा हामीलाई आश्रय दिनु भएको थियो । उहाँहरुको त्यो न्यानो आतिथ्यता मेरो मानसपटल अहिले पनि ताजै छ । उहाँहरुको स्वागत मनन् गर्न योग्य छ ।
२०७६ फागुन १ गते
हामी सबैलाई भीमेश्वर मन्दिर दर्शनका लागि बिहान ६ बजे तयार हुन अघिल्लो दिन सूचित गरेका थिए अध्यक्षजीले । सोही अनुसार त्यो दिन बिहानै हामी सबै भीमेश्वरतर्फ प्रस्थान ग¥यौँ । दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल रहेछ । यसको स्थापना किराँतकालमा नै भएको अनुमान गरिएको छ । देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतको रूपमा पसिना आउने गर्दछ भन्ने भनाइ त्यहाँको स्थानीयबाट जानकारी पाइयो । सो मन्दिरमा नित्य पूजा बाहेक भीम एकादशी, वालाचर्तुदशी, चैतेदशैँ, बडादशैँ इत्यादिमा मेला लाग्ने रहेछ ।
अर्को मन्दिर कालिञ्चोक भगवती मन्दिर जानु पर्ने कारणले भीमेश्वर मन्दिरमा छिटोछिटो पूजा गरेका थियौँ हामीले । खाजा खाने कि नखाने भन्ने द्विवीधा भइरहँदा अन्ततः नखाई जाने सबैले सहमतिमा बिहान ७ः३० बजे त्यहाँबाट कालिञ्चोक भगवती मन्दिरतर्फ लम्क्यौ । कालिञ्चोक भगवती मन्दिर जाने बाटाहरु अत्यन्तै असजिला र डरलाग्दो रहेछ । झण्डै १८ किमीको बाटो स्कारपिओ गाडीलाई डेढ घण्टा लागेको थियो । सदरमुकाम चरिकोटबाट करिव १५ कि.मी. उत्तरमा पर्ने यो मन्दिर पदयात्राको दृष्टिकोणले रमणीय स्थल रहेछ ।
कालिञ्चोक गाविसमा अवस्थित कालिञ्चोक मन्दिर समुद्री सतहबाट ३ हजार ८ सय ४२ मी.को उचाइमा रहेको छ । निकै उचाइमा रहेको हुनाले लेक (अक्सिजनको कमीले लाग्ने रोग) लाग्ने कुरा गर्दै थिए साथीहरु । लेकको कारणले मलाई द्विवीधा भइरहेको थियो जाउँ कि नजाउँ । गाडीको गन्तव्य सकियो अब हामीले केवलकारको सहारा लिनु पर्ने थियो । लेकका कारण हाम्रा अध्यक्ष साथीहरुलाई भन्दै थिए जो जहाँ पुगेर आफूलाई असहज हुन्छ ऊ त्यहाँबाट फर्कने । सबै साथीहरु जाने निश्चित गरेपछि मैले पनि आफूलाई रोक्न सकिन । यहाँसम्म आएर के नजानु, मनमा एक खालको भय लिँदै केवलकार चढियो । कालिञ्चोक भगवतीको कृपाले सबैलाई राम्रो नै भयो । कालिञ्चोक भगवतीको दर्शन गरियो । मेरो लाइफमा यति उचाइमा पुगेको पहिलो नै हो । पहाडको टुप्पामा रहेको सो मन्दिर अचम्मलाग्दो नै छ । जहाँ वरपर डाँडामा पूरै हिउँ छ, तर मन्दिरको पहाडमा हिउँ नै थिएन । एउटा अद्भूत नै थियो । त्यहाँका स्थानीय भन्दै थिए यो भगवतीमाइको शक्ति हो । कालिञ्चोक भगवती मन्दिर रहेको डाँडा बाहेक सबै डाँडा हिउँले भरिएको पाइयो । कालिञ्चोक भगवतीको दर्शनपछि एकाध घण्टा हामीले हिउँ खेल्ने समय निकालेका थियौँ । लाइफमा पहिलो पटक हिउँ खेल्ने अवसर जुरेको थियो मलाई ।
उता दोलखा शाखाका अध्यक्ष जीवन लामा सरलगायत अन्य साथीहरुले हाम्रो प्रतीक्षा गरिरहनु भएको रहेछ विदाईको लागि । हामीलाई दिउँसो ३ः१५ बजेतिर दोलखाका साथीहरुले विदाई गर्दै चितवन आउने वाचा पनि गरेका छन् । दोलखा बसाई अत्यन्तै अविस्मरणीय रह्यो । उहाँहरुको स्वागत, आतिथ्यता अहिले पनि मेरो मानसपटलमा झल्झल्ती छ । धन्यवाद सबै दोलखाका साथीहरुलाई ।
त्यहाँबाट हाम्रो यात्रा सिन्धुलीतर्फ सुरु भयो । जहाँ हामी जिरी, किराँती छाप, तामाकोशी, खिम्ती हुँदै नेपाल पत्रकार महासंघ रामेछाप जिल्ला शाखामा पुगेका थियौँ । रामेछाप शाखामा पनि साथीहरुले न्यानो स्वागत तथा सम्मान गर्नु भयो । साथीहरु सबैलाई धेरै धेरै धन्यवाद छ । सबैभन्दा हामीलाई समय अभाव भइरहेको थियो । अन्यत्र बास नहुने हुँदा जतिसक्दो चाँडो सिन्धुली पुग्नु पर्ने थियो । साथीहरुसँग हतारहतार गर्दै विदा भयौँ बेलुकाको ७ः३० बजे । मन्थली हुँदै सिन्धुलीको लागि रात्रिकालीन यात्रा भएको हुँदा हामीले त्यहाँको बाटाहरु बारे केही बुझ्नै पाएनौ । सिन्धुलीको बाटो नेपालकै चर्चित भएकोले मैले अत्यन्तै अवलोकन गर्न चाहेको बाटो, तर दुर्भाग्य हाम्रो यात्रा राति भएकोले त्यो मौकाबाट हामी चुक्यौँ ।
नेपालको सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान मानिन्छ । समुद्री सतहबाट ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर रहेको छ । नेपालको इतिहासमा सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । सदरमुकाम सिन्धुलीमाढीबाट बीपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करीव २० किलोमिटरको दुरीमा छ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौंं आक्रमण अर्थात विसं १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक, सामाजिक तथा ऐतिहासिक महत्व बोकेको छ ।
सिन्धुली गढीसम्म आइपुग्दा रातिको ८ः३० बजेको कारण हामीले सिन्धुलीगढी त्यो दिन हेर्न पाएनौँ । भोलिपल्ट हेर्ने वाचा गर्दै सबैजना आफ्नो गन्तव्यतर्फ लाग्यौँ । जहाँ हाम्रो लागि नेपाल पत्रकार महासंघ सिन्धुलीका साथीहरु स्वागतका लागि आतुर रहेछन् । गन्तव्यसम्म पुग्दा हाम्रो घडीमा ९ः०० बजिसकेको थियो । हाम्रो लागि भनेर राम्रो खानपानको व्यवस्था गरेका रहेछन् साथीहरुले । खाने साथीहरुले सबैले चुस्स चुस्स पारे, मैले त्यही मेसोमा चान्स लिएको थिएँ । सिन्धुलीका शाखाका कोषाध्यक्ष मित्र लक्ष्मण घिमिरेसँग मेरो राम्रो परिचय हुन पुग्यो । उहाँ अत्यन्तै मिलनसार व्यक्तित्व हुनुहुँदो रहेछ । साथीहरुले हाम्रो खानपानमा कुनै कसर छोड्नु भएन । सिन्धुली शाखालाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु यो न्यानो आतिथ्यता र स्वागतको लागि ।
२०७६ फागुन २ गते ।
भोलिपल्ट बिहान ९ः०० बजेतिर सिन्धुली शाखामा अन्तक्र्रिया तथा परिचयात्मक कार्यक्रम भयो । सिन्धुली शाखाको भवन अवलोकन गरियो । हाम्रो अवलोकन मध्ये सबैभन्दा सम्पन्न शाली सिन्धुली शाखा नै रहेको पाइयो । सबै खाले सुविधाले सम्पन्न रहेछ । जे होस् साथीहरु निकै इनरजेटिक रहेछ । सबैजना उत्तिकै क्रियाशील पनि ।
सिन्धुलीको बसाइ हाम्रो फागुन २ गते बिहानको १०ः१५ सम्म मात्र भएको थियो । हामी साथीहरुसँग विदा लिई मकवानतर्फ प्रस्थान ग¥यौँ । करिब १ घण्टाको यात्रापछि हामी गौतम होटल बर्दिवास पुगेका थियौँ । जहाँ हामीले ढिडो खाने कार्यक्रम तय गरेका थियौँ । बर्दिवासको सो होटल निकै चर्चित पनि रहेछ । त्यहाँ सामान्य मानिसदेखि मन्त्री लेवलका सबैले खाना खाने ठाउँ रहेछ । त्यहाँ आ–आफ्नो इच्छा अनुसार साथीहरुले खाना खाए । मैले ढिडो नै रोजेँ । खाना पश्चात हामी सप्तरी, लालबन्दी, महोत्तरी हुँदै साँझ ४ बजे हामी मकवानपुर आइपुगेका थियौं । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुर प्रदेशका प्रताप विष्ट लगायतका साथीहरु हाम्रा स्वागतको लागि प्रतीक्षारत रहेछन् । हामीलाई त्यहाँ स्वागत तथा सम्मान गरिएको थियो साथै परिचयात्मक कार्यक्रम र छोटो अन्तक्र्रिया पनि भयो । यो सँगै हाम्रो यात्राका सबै गन्तव्यहरु टुंगिएको थियो । त्यसपछि हामी सोझै आफ्नो महासंघको भवनमा बेलुका ६ः१५ आइपुगेका थियौँ ।
निष्कर्ष ः बागमती प्रदेशका सबै शाखाहरुको अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भयो । सबै शाखाहरुको गतिविधिहरु जान्ने मौका पनि प्राप्त भयो । विभिन्न शाखाका साथीहरुसँग भेटघाट तथा परिचय भयो । देशका पहाडी इलाका, त्यहाँका बाटोघाटो, पहाडी क्षेत्रमा भइरहेको बाटोघाटोको विकास अवलोकन राम्रै भयो । पर्यटकीय गन्तव्य चन्द्रागिरी पहाड, ऐतिहासिक मन्दिरहरु ः पलाञ्चोक भगवती, भीमेश्वर, कालिञ्चोक भगवतीको दर्शन गर्ने राम्रो अवसर जु¥यो । समग्रमा हाम्रो चार दिने अन्तरदेशीय अवलोकन भ्रमण सुखद् एवम् लाभदायक रह्यो । अन्तमा, यो अविश्मरणीय अन्तदेशीय अवलोकन भ्रमणका लागि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाज्यूलगायत सबै साथीहरुलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।