September 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौंसहित देशभर वर्षा हुने सम्भावना

June 14, 2020

काठमाडौं । आज देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । प्रदेश १ र २ का एक–दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।
प्रदेश ६ र ७ मा हल्का वर्षा भइरहेको छ, दिउँसो देशका अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना देखिएको श्रेष्ठको भनाइ छ । काठमाडौं उपत्यकामा अहिले आंशिक बदली छ, तर केही बेरपछि मौसम पूर्ण बदली भई आकाश पूरै बादलले ढाकेर दिउँसोतिर मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले सीआईएनलाई भने ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार आइतबार आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, र ५ का केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ । राति प्रदेश २, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको श्रेष्ठको भनाइ थियो । गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको उनले बताए ।