February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सरकारी विद्यालयमा निजी विद्यालयको किताब बिक्री

June 21, 2020

गोरखा । जिल्लाको पालुङटार नगरपालिका वडा नं.७ धुवाँकोट स्थित अकला माध्यमिक विद्यालयमा निजी विद्यालयमा पठनपाठन गराइने पाठ्यपुस्तक बिक्री वितरण भइरहेको छ । विद्यालयका प्रधानाध्यापक राजेन्द्र अंगाईका अनुसार विद्यालय व्यवस्थापन समितिले किताब बेच्न अनुमति प्रदान गरेकाले विद्यार्थीहरुलाई विशेष छुट सहित किताब बिक्री गरिएको हो ।
सामुदायिक विद्यालयमा नेपाल सरकारले लागू गरेको पाठ्यक्रम अनुसार जनक शिक्षा केन्द्रले छापेको किताब पठनपाठन गराउनुपर्दछ । यसका लागि राज्यले अनुदान समेत दिने गरेको छ ।
अकला मावि धुवाँकोट गोरखामा भने विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन सहितको मिलिमतोमा अत्यधिक नाफा कमाउने उद्देश्यका साथ किताब बिक्री वितरण भइरहेको हो । यसबारेमा वडा कार्यालय र पालुङटार नगरपालिकाको शिक्षा शाखाले मौन समर्थन गरेका छन् । विद्यालयमा व्यापार गर्न सरकारले पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ ।
निजी शिक्षकहरुलाई तलब भत्ता दिनका लागि केही रकम संकलन हुने आशयका साथ विद्यालयमा निजी कम्पनीबाट प्रकाशित पुस्तकहरु बिक्री गरिएको विद्यालय व्यवस्थापन समितिका एक सदस्यले बताए । विद्यालयको आयस्रोत वृद्धिका लागि विद्यालय हाताभित्र चाउचाउ, कुरमुरे, चटपटे पसल समेत राख्न सकिने उनको भनाइ छ ।
कतिपयले लकडाउनका समयमा विद्यार्थीको हितका लागि विद्यालयबाट निजीस्तरका पाठ्यपुस्तक वितरण गरिएको बताएका छन् । पुस्तक कारोवारका लागि नेपाल सरकारको प्रचलित नियम अनुसार खुलेका पुस्तक पसल भएपनि अकला माविले आफै व्यापारमा अग्रसर भएको हो । । आगामी दिनमा पालुङटार लगायतका क्षेत्रबाट आएका सबै प्रकाशनका किताबहरु विद्यालयबाट बिक्री बितरण गरिने एक शिक्षकले बताए ।
जिल्लामै अग्रणी स्थानमा रहँदै आएको उक्त विद्यालयमा पछिल्लो समय मायाप्रेम लाउने र व्यापार गर्ने थलोको रुपमा तिव्र गतिमा विकास भइरहेकोले सचेत विद्यार्थी, अभिभावक, शिक्षक र शिक्षाप्रेमीहरु समुदायहरु निराश बन्दै गएका छन् ।

- ADVERTISEMENT -