September 8, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाठशाला निर्माणका लागि सहयोगको अपिल : अध्यक्ष तामाङ

July 4, 2020
नारायणपुरस्थित उर्गेन नोर्बु छोयलिङ गुम्बाको संरक्षकत्वमा निर्माणाधिन पाठशाखा । फोटो : सन्तोष तामाङ ।

–बबिलाल तामाङ
नारायणपुर, चितवन / भरतपुर महानगरपालिका ५, नारायणपुरमा अवस्थित उर्गेन नोर्बु छोयलिङ गुम्बा तामाङ समुदायहरुको जाति, धर्म र परम्पराको पहिचान हो । नारायणपुरका करिब २०० घरधुरी तामाङ समुदाय मिलेर सो गुम्बा निर्माण कार्य सम्पन्न गरेको हो ।
अहिले गुम्बाकै संरक्षकत्वमा पाठशाला निर्माण कार्य भइरहेको छ र यसले पूर्णता पाउन थुपै्र सहयोगी हातहरुको आवश्यकता देखिएको छ । २०७६ साल मंसिरमा कृषि तथा भूमिसुधार मन्त्री दावा दोर्जे लामाद्वारा पाठशालाको शिलान्यास गरी निर्माण कार्य प्रारम्भ गरिएको गुम्बाका अध्यक्ष मेघबहादुर तामाङले बताए ।
सुरुवाती चरणमा नारायणपुर ५ का स्थानीय तामाङ समुदाय मिलेर १ कठ्ठा जग्गा खरिद गरी गुम्बा निर्माण कार्य सुरु गरिएको अध्यक्ष तामाङको भनाइ छ । जमिन खरिद भए पश्चात विभिन्न दाताहरुको सहयोगमा गुम्बा निर्माणको प्रक्रिया बढेको थियो ।पाठशाला निर्माण कार्यको लागि भरतपुर ५ का वडा अध्यक्ष पदमपाणि सुवेदीले रु. ३ लाख सहयोग गरेको उनी बताउँछन् । यसैगरी गुम्बा संघर्ष समिति चितवनको समन्वयमा ५ लाख कबोल भएको र सो रकम छिटै आउनेमा अध्यक्ष तामाङ आशावादी छन् ।
‘भरपर्दो ठूलो स्रोत केही नभएको चन्दा संकलन, देउसी भैलो कार्यक्रम, नाचगान गरेर रकम जम्मा गर्छौ, उनी भन्छन्, ‘बेलाबेलामा विदेशका आएका स्थानीयहरुकै सहयोग पनि जुट्ने गरेको छ ।’ ‘हामी तामाङ समुदाय विदेशबाट आएकाहरुका घरमा गएर नाचगान, रमाइलो गरेर उनीहरुलाई मनोरंजन गराएर स्वेच्छा अनुसार चन्दा संकलन गर्दछौं ।’
पाठशाला निर्माणमा हालसम्म नौ लाख बढी खर्च भइसकेको उनले बताए । यसलाई पूर्णता पाउन करिब ३० लाख लाग्ने हुँदा सहयोगी हातहरुको आशामा पाठशाला रहेको उनले भने । सामाजिक काम र समाजकै गहनाको रुपमा स्थापित हुन गइरहेको पाठशालालाई सबै सहयोगी मनहरुलाई सहयोग गर्न उनी आग्रह गर्छन् ।
उनले भने हाल पाठशालाको भुईतलाको निर्माण कार्य सम्पन्न भएको छ र ५ जना शिष्यहरुलाई लामा कक्षा दिइरहेको छ । लामा कक्षाको गुम्बाका प्रमुख लामा धर्मगुरु पेमा बाङछुले शिष्यहरुलाई शिक्षा दिइरहेको उनले बताए । पाठशालामा अध्ययनरत शिष्यहरुलाई निःशुल्क पढाइ, बस्ने तथा खाने सबै खर्च गुम्बाले गर्दै आएको छ र यसको लागि दाताहरुको सहयोगबाट संचालन भइरहेको उनको भनाइ छ ।
उनका अनुसार तामाङ समुदायको आस्थाको धरोहर गुम्बा र गुम्बामा निर्माणाधिन पाठशालाले पूर्णता पाएपछि भविष्यमा धर्मगुरुहरु उत्पादन हुने, धर्मको संरक्षण हुने, रितिरिवाज, परम्परालाई जोगाउन सकिने बताउँछन् । चितवनको मध्यभागमा रहेको सो गुम्बा र गुम्बाको संरक्षणमा निर्माण भइरहेको पाठशाला समाजको मात्र नभएर देशकै गहनाको रुपमा स्थापित हुने उनी भन्छन् ।