विश्व नै कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको छ । नेपाल पनि कोरोना भाइरसको चपेटामा परिरहेको छ । यस विषम घडीमा हरेक क्षेत्र प्रभावित भएको छ । सबै क्षेत्र मध्ये सिनेमा क्षेत्रलाई झनै नराम्ररी असर पारेको हामी सबैलाई सर्वविदितै छ । सरकारले पनि मनोरंजनभित्र पर्ने सिने क्षेत्रलाई ६ महिना यता केही सोचेको छैन । यसले सिनेमा क्षेत्रलाई पारेको प्रभाव र यसले अब सिने क्षेत्र कुन दिशातर्फ जाँदैछ र भावी दिनहरुमा कस्तो मोड लिँदैछ भन्ने आदि विषयमा आधारित रही न्यूजप्रवाह डटकमका प्रधान सम्पादक बबिलाल तामाङले भरतपुर २४, जगतपुर निवासी चलचित्र निर्देशक तथा निर्माता सन्तलाल घिसिङसँग गरिएको भलाकुसारी :-
१) तपाईको पूरा परिचय दिनुस न ।
मेरो नाम सन्तलाल घिसिङ, घर भरतपुर महानगरपालिका २४, जगतपुर, चितवन हो । मेरो पेशा भनेको सिनेमा निर्देशन र निर्माण सम्बन्धी हो र म तामाङ फिल्म एशोसियसनको संस्थापक अध्यक्ष हुँ । साथै राजनीतिमा पनि लगाव छ ।
२) तपाईले हालसम्म कति वटा फिल्म निर्देशन गर्नुभयो ? के के हुन् र उत्कृष्ट कुन रह्यो ?
— हालसम्म दर्जनौ तामाङ भाषाको चलचित्र निर्देशन÷निर्माण गरी सकेको छु । ती मध्ये ‘जालमाया’, ‘येला माया’, ‘दुङाल’, ‘माया छो’, ‘थारेङ थारेङ’, ‘खसु’, ‘लानी’, ‘च्याङ्बा’ अरु थुप्रै छन् । सबै उत्कृष्ट लाग्छ । मैले भन्ने भन्दा पनि दर्शकहरुले नै यसको मूल्याकंन गर्नुहुनेछ । म उहाँहरुकै हातमा सुम्पिन ठीक सम्झन्छु ।
३) तामाङ भाषाको सिनेमा बनाउनु हुन्छ, यसले तामाङ समुदायमा कस्तो किसिमको सन्देश जाने किसिमको बनाउनु हुन्छ ?
— हो निश्चय नै मैले तामाङ भाषाको फिल्म बढी निर्देशन तथा निर्माण गरेको छु । म एउटा तामाङ समुदायको मानिस भएकाले मैले आफ्नो जातित्वलाई प्रोत्साहन गर्नु आवश्यक छ । सो मेरो कर्तव्य पनि मैले आफ्नो समुदायको केही गर्नु पर्छ भन्ने हो । र मैले सिनेमा निर्देशन तथा निर्माण गर्ने क्रममा बढी तामाङ समुदायको सबैभन्दा ठूलो भाषा, संस्कार, सस्कृति अनि साँस्कृतिक, सामाजिक झल्कने किसिमको विषयवस्तुलाई प्राथमिकतालाई अगाडि राखेर काम गर्ने गरेको छु । मैले जहिले पनि समाज, तामाङ समुदायमा सकारात्मक र आफ्नो भाषा, संस्कृति, भेषभूषालाई लोप हुनबाट बचाउने किसिमको सन्देश दिएर अगाडि बढिरहेको छु ।
४) हाल कुनै सिनेमा तयारी गर्दै हुनुहुन्छ कि ? छ भने दर्शकको लागि कस्तो किसिमको सन्देशमूलक बन्नेछ ?
— हाल सिनेमा निर्माण तयारीमै छु । कोरोना भाइरस तथा लकडाउन पश्चात निर्माण गरिनेछ । अहिले ‘जिन्जी ताम’ (भाषा सकेको) निर्माण कार्य भइरहेको छ । लकडाउनले गर्दा अहिले स्थगन गर्नु परेको अवस्था छ । लकडाउन खुले लगत्तै सुरु गर्ने योजनामा छौं । यस सिनेमाले तामाङ समुदायको भाषा विषयलाई लिएर निर्माण गर्दैछु । हाम्रो तामाङ समुदायमा नयाँ पिडीमा भाषाको ज्ञानको अभाव हुँदै गइरहेको छ । यस सिनेमा मार्फत भाषा सम्बन्धी ज्ञान र सन्देश दिने जमर्को गरेको छु । दर्शक लगायत तामाङ समुदायमा यो अति जरुरी भइसकेको छ । यस चलचित्रले नयाँ पिडीको लागि सकारात्मक सन्देश बोकको छ तामाङ समुदायको लागि ।
५) देश अहिले कोरोना भाइरसको विषम परिस्थितिबाट गुज्रिरहेको छ तपाईको फिल्म क्षेत्रलाई कति प्रभावित बनाएको छ ?
— कोरोना भाइरसका कारण देशमा आर्थिक संकट छाइसकेको छ । कोरोना भाइरस तथा लकडाउनले सबै क्षेत्र मध्ये सिनेमा क्षेत्रलाई झनै नराम्ररी प्रभावित बनाएको छ । फिल्म हल र कलाकारहरुको कन्त विजोग भैसक्यो । जहाँसम्म लाग्छ अब सिनेमा नगरी एकाध वर्षको लागि विस्थापित नै हुनेछ । अब सिनेमाहरु छिट्टै निर्माण हुने कुनै लक्षण नै देखिदैँन । त्यसैगरी हलवालाहरु पूरै घाटामा गइसकेको अवस्था छ । अब हामी कलाकारहरुले पनि विकल्प सोच्नु पर्ने अवस्था आइसकेको छ ।
६) राज्यले लकडाउन यदि लकडाउन खुल्ला गरे पनि सिनेमा चल्ने छाँटकाँट देखिदैँन अब यसको लागि के तयारी गर्नु भएको छ ?
— राज्यले लकडाउन खुल्ला गरे पनि सिनेमा चल्ने वातावरण अब हुँदैन । अब एउटै विकल्प अनलाइन एप्स पोर्टलबाट मात्र सम्भव देख्छु । तर यसले झन् फिल्म हललाई पूरै माइनास गराउने देखेको छु । अब सिनेमा निर्माण भएको खण्डमा पनि एप्स पोर्टलबाट नै रिलिज गर्ने र त्यसैबाट संचालन गर्नुपर्ने हुन्छ । अबको तयारी सायद यो नै हुनेछ । अरु विकल्प देखेको छैन ।
७) तपाई आफ्नो जाति, र भाषाको लागि निकै लागू पर्नु भएको छ, पछिल्लो समयमा नयाँ पिडीले आफ्नो संस्कृति बिर्सदैँ गएको देखिन्छ, यसमा तपाई के भन्न चाहनुहुन्छ र के छ यसको उपाय ?
— एकदमै सही कुरा गर्नुभयो । हामी तामाङ समुदायमा नयाँ पिडीले आफ्नो संस्कृति बिर्सदैँ गएको देखिन्छ यो सत्य हो । र यसको लागि हामीले नयाँ पिडीलाई झक्झक्याउनुको विकल्प छैन । यसको लागि हामीले सिनेमा मार्पmत पनि सन्देश दिने जमर्को गरेका छौं । भाषा सम्बन्धी थुप्रै तामाङ चलचित्र बनिसकेको छ । मैले पनि हालै निर्माणाधिन चलचित्र यसै विषयमा आधारित रहेर निर्माण गर्दैछु । जसले गर्दा हाम्रो हामीले नयाँ पिडीको लागि भाषा, संस्कृति जगेर्ना गर्ने कार्यमा थोरै भएपनि जोड दिन्छ भन्ने लाग्दछ । अबको नयाँ पिडीले पनि आफ्नो भाषा सिक्नु पर्छ र आफ्नो पहिचानलाई बुझन जरुरी छ ।
८) चलचित्रबाटै तामाङ भाषा, लिपिबाट ज्ञानबद्र्धक हुने किसिमको सिनेमा बनाउन सकिदैँन ?
— सकिन्छ, यसअघि पनि यस्ता किसिमका चलचित्र निर्माण भइसकेका छन् । हाल निर्माणाधिन अवस्थामा रहेको मेरो चलचित्र ‘जिन्जी ताम’ पनि तामाङ भाषा र लिपिबाट बनेको छ । भविष्यमा पनि मेरो जोड जमर्को नै तामाङ भाषा र लिपिको लागि समर्पित भएर तामाङ सिनेमा निर्माण गर्ने लक्ष्य रहेको छ जसले गर्दा हामी तामाङ समुदायको भाषा र लिपि लोप हुनबाट थोरै भएपनि जोगाउन जोडबल पुग्नेछ ।
९) राज्यले सिनेमा क्षेत्रलाई ६ महिना यता संचालनमा बन्देज लगाएको छ । यसमा के भन्नुहुन्छ ।
— विश्व नै कोरोना भाइरसको महामारीमा छ । नेपाल पनि कोरोना भाइरसको चपेटामा परिरहेको यो घडीमा सरकारले कोरोना भाइरस रोकथामका लागि भन्दै लकडाउन गरेको अवस्था छ । यसमा पनि मनोरंजनभित्र पर्ने सिनेमा क्षेत्रलाई सरकारले ६ महिनाको लागि बन्देज नै लगाएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै लकडाउन जरुरी नै हो । मलाई लाग्छ अहिले सिनेमा भन्दा मानव जगत नै ठूलो कुरो हो । यसलाई बचाउन हामी तरहबाट लागि पर्ने अवस्था छ । यसको लागि हामीलाई सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गर्नुपर्नेछ । राज्यले गरेको लकडाउनलाई मेरो पूर्ण समर्थन छ । र भोलिका दिन सहज भएपछि पक्कै पनि तपाई हामीले केही गर्न सक्छौं । अहिलेको अवस्थामा हामी सबै सुरक्षित रहने नै हो ।
१०) राज्यले तामाङ भाषाको सिनेमालाई के कति प्रोत्साहन गरेको छ ? छैन भने किन, कति कारणले ?
— राज्यले तामाङ भाषाको सिनेमालाई मात्र होइन सिङगो आदिवासी जनजातिहरुको सिनेमालाई प्रोत्साहन गरेको पाइँदैन । जनजातिहरुको हकको विषयमा राज्य जहिले विमुख नै छ । नेपालमा सदियौंदेखि नै जनजातिहरु प्रताडित भएको पाइन्छ । जुनसुकै क्षेत्रमा हामीलाई उपेक्षा गरेको धेरै उदाहरणहरु छन् । त्यसमा पनि हामी तामाङ सिनेमा क्षेत्रका कलाकारहरु झनै पीडित छन् । अरु सिनेमाको तुलनामा हाम्रो सिनेमालाई स्थान कहिँ कतै दिइएको पाइँदैन । सिनेमा घरहरुमा प्रदर्शन गर्न पनि ठाउँ पाइँदैन । हामीले सिनेमा त निर्माण गर्दछौं तर हल अभावले गर्दा हाम्रो लगानी, मेहनत लगायत कलाकारको कलाकारिताको कुनै मूल्य नै हुँदैन । एकदमै कठिन परिस्थितिबाट हामी तामाङ सिनेमा चलचित्रकर्मी गुज्रिरहेका छौं ।
११) राज्यबाट तपाई जस्ता सिनेकर्मीहरुले के आशा राख्नु हुन्छ ?
— राज्यबाट त्यस्तो केही सहयोग पाइएको छैन हालसम्म । राज्यबाट हामी तामाङ समुदाय मात्र नभई सम्पूर्ण जनजातिलाई हेरिनु पर्छ । त्यसमा हामी तामाङ सिनेकर्मीहरु अत्यन्तै मारमा छौं । हामीसँग कला छ, हिम्मत छ, देशको लागि केही गर्छु आत्मविश्वास छ । राज्यले आगामी दिनमा हामी तामाङ सिनेकर्मीहरु लगायत हामीले निर्माण गरेको सिनेमालाई स्थान दिइनु पर्छ र तामाङ सिनेकर्मीहरुलाई विशेष प्याकेजको व्यवस्था गरिनु पर्छ भन्ने हाम्रो माग पनि हो ।
१२) अन्तमा मैले भन्न छुटाएको केही भए र तपाईलाई लागेको केही छ भने भन्न सक्नुहुन्छ ?
– सर्वप्रथम त तपाई लगायत न्यूजप्रवाह डटकम परिवारलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । मेरो आवाजलाई प्रत्येक पाठक तथा शुभेच्छुकहरु माझ पु¥याई सहयोग गरी दिनुभयो । मेरो मनमा गुम्सिएका हरेक कुरालाई पस्कने ठाउँ दिनुभयो । म यसको लागि धेरैधेरै आभारी छु । र सम्पूर्ण पाठक, शुभेच्छुक महानुभावहरु, मेरा फ्यानहरु लगायत सबैमा म सन्तलाल घिसिङको हृदयदेखि आभार व्यक्त गर्दै नमस्कार भन्न चाहन्छु ।