September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘शिक्षा सँगसँगै, स्वास्थ्य र जीवन रक्षा पहिलो प्राथमिकता हो’ : प्रमुख पौड्याल

August 13, 2020
शैक्षिक प्रशासन महाशाखा भरतपुर महानगरपालिकाका प्रमुख महेन्द्र पौड्याल /

विश्वव्यापी कोरोना महामारीको कारण देखाउँदै सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्दको घोषणा गरेसँगै चितवनमा विद्यालयहरुको शैक्षिक गतिविधि ठप्प भएको छ । वैकल्पिक सिकाई कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको शिक्षण सिकाई निरन्तरताका लागि सञ्चालित घरदैलो कार्यक्रम, अभिभावक शिक्षा कार्यक्रम, गृहकार्य वितरण र परीक्षण लगायतका क्रियाकलाप बन्द भएको हो । कोरोनाको त्रास बढेकाले सोमबार बसेको मन्त्रिपरिषदको वैठकले अर्को सूचना जारी नभएसम्म विद्यालय एवम् शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको स्पष्ट भइसकेको छ । यसअघि सरकारले आउँदो भदौ १ गतेदेखि यसवर्षको शैक्षिक सत्र सुरु गर्ने गरी विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने तयारी थालेको थियो तर बढ्दो कोरोना भाइरसका कारण समय अवधि थप गर्नु पर्ने अवस्था आएको हो । यसै विषयमा आधारित रही शैक्षिक प्रशासन महाशाखा भरतपुर महानगरपालिकाका प्रमुख महेन्द्र पौड्यालसँग न्यूजप्रवाह डटकमका सम्वाददाता प्रीति तामाङले गरेको भलाकुसारी यहाँहरु समक्ष प्रस्तुत छ –

१. सर नमस्ते, स्वागत छ यहाँलाई ।
– नमस्ते, धन्यवाद छ ।

- ADVERTISEMENT -

Advertisement

२. सरकारले शैक्षिक संस्था बन्दको घोषणा गरेसँगै विद्यालयहरु पूर्ण रुपमा बन्द भएका हुन् र ?
– त्यसो होइन । हामीले विद्यालयहरुमा वैकल्पिक प्रणालीबाट पठनपाठनका लागि सञ्चालन गर्दै आएका शिक्षण सिकाई गतिविधिहरु मात्र बन्द गर्ने भनिएको हो । विद्यालय प्रशासन खुला रहन्छ तर पठनपाठनका गतिविधि भने हुँदैनन् ।

३. वैकल्पिक माध्यमका रुपमा सञ्चालित अनलाइन कक्षाहरु पनि बन्द भएको भन्न खोज्नुभएको हो ?
– शिक्षक र विद्यार्थीको प्रत्यक्ष भेटघाट नहुने भएकाले अनलाईन कक्षाहरुमा कुनै रोक लगाइएको छैन । विद्यार्थीलाई नै उपस्थित गराएर कुनै विद्यालयले कक्षा सञ्चालन गरेको छन् त्यस्तालाई तत्काल बन्द गर्न भनिएको हो । हामीले यसअघि महानगरका सबै विद्यालय तथा शिक्षकहरुको सक्रियतामा विद्यार्थीहरुको शिक्षण सिकाई प्रक्रियाको निरन्तरताका लागि प्रत्यक्ष घरदैलो कार्यक्रम, अभिभावक शिक्षा कार्यक्रम, गृहकार्य वितरण तथा परीक्षण जस्ता गतिविधि सञ्चालन गर्दै आएका थियौंँ । सरकारले गरेको निर्णयसँगै हामीले अब उप्रान्त त्यस्ता गतिविधि नगर्न, नगराउन महानगरका सम्पूर्ण विद्यालयलाई सूचित गरिसकेका छौँ ।

४. शैक्षिक प्रशासन महाशाखाले विद्यार्थीहरुको सिकाई निरन्तरताका लागि अब कस्तो कार्यक्रम ल्याउँदैछ ?
– हाललाई पाठ्यक्रम विकास केन्द्रद्वारा सञ्चालित टेलिभिजन कार्यक्रमका माध्यमबाट विद्यार्थीले सिकाइलाई निरन्तरता दिन सक्ने छन् । तत्कालका लागि शिक्षकलाई सक्रिय बनाएर विद्यार्थीको सिकाइका लागि टोलटोलमा पठाउने, घरदैलोमा पठाउने कार्य हामी गर्दैैैनौँ । आगामी दिनमा शिक्षा मन्त्रालयबाट कुनै नयाँ निर्देशन आएछ भने हामी त्यही अनुसार गर्नेछौँ ।

५. भरतपुर महानगरपालिकाद्वारा केही समय अघिसम्म सञ्चालित रेडियो शिक्षा कार्यक्रम हाल बन्द रहेछ । कार्यक्रम प्रभावकारी नभएर हो ?
– हामीले असार महिनामा रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेका थियौँ । साउनमा हामीले थप शिक्षणका विकल्पहरुको बारेमा समीक्षा गर्दा यो कार्यक्रम भन्दा घरदैलो कार्यक्रम, गृहकार्य वितरण र परीक्षण, अनलाईन कक्षा, टेलिभिजन कार्यक्रमहरु अझै प्रभावकारी भएको महसुस ग¥यौ । सो कार्यक्रम प्रभावकारी नभएको भन्ने होइन, त्यसलाई निरन्तरता दिन पनि सकिन्छ ।
६. हाल महानगरमा कति विद्यार्थी बैकल्पिक माध्यमको शिक्षणमा संलग्न रहेका छन् र कति अझै सिकाइबाट बञ्चित रहेका छन् ?
– यस विषयमा हामीले सबै विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल र समीक्षा गर्ने गरेका छौ । वैकल्पिक माध्यमको सिकाई भएको कारणले यसमा हामीले निश्चित यति नै विद्यार्थी भनेर डाटा भने संकलन गरेका छैनौँ । विद्यार्थीहरु कुनै न कुनै माध्यमबाट सिकाइमा भने संलग्न छन् । कोही रेडियो, कोही टिभी, कोही अनलाइन र कोही घरदैलो भेटघाटको माध्यमबाट पनि सिकाइमा संलग्न भएका छन् । महानगरले अभिभावक शिक्षा पुस्तिका पनि यसअघि बालविकासदेखि कक्षा आठसम्मका विद्यार्थीका अभिभावकहरुलाई वितरण गरेका थियौँ । विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरेका छौँ । यसरी कुनै न कुनै रुपमा सबै विद्यार्थीहरु सिकाइमा संलग्न रहेका छन् ।

७. विद्यार्थीहरु सबैको हातमा नयाँ पाठ्यपुस्तक पुगेका छन् त ?
– पाठ्यपुस्तक सबै विद्यार्थीको हातमा पुगिसकेको छ । यसको लागि ढुक्क हुनुहोस् ।

८. हाललाई विद्यार्थी भर्ना कार्यक्रमको मिति सरे पनि महाशाखाले यस विषयमा विद्यालयहरुलाई तयारीका लागि कस्तो निर्देशन दिएको छ ?
– भर्नाका लागि हामीले सुरक्षाका विधि अपनाएर तयारी अवस्थामा रहन विद्यालयहरुलाई निर्देशन दिएका छौँ । हाललाई अब भदौ १ गतेदेखि हुने भनिएको भर्ना कार्यक्रम रोकिएको छ । यस बीचमा कक्षा उत्तीर्ण भएका विद्यार्थीहरुको अभिलेखिकरण गर्ने, संख्या निर्धारण गर्ने कार्य भने विद्यालयले गर्न सक्नेछन् ।

९. हाल महानगरपालिकाभित्रका शिक्षकहरु विद्यालयमा नियमित उपस्थित हुने गरेका छन् ?
– शिक्षकहरु असारदेखि नै वैकल्पिक सिकाइको सन्दर्भमा विद्यालयमा उपस्थित रहेका छन् । हाल कारोना सन्त्रासको समयमा दशदेखि चार बजेसम्म उहाँहरु उपस्थित नभए पनि दैनिक रुपमा विद्यालयमा हाजिरीका लागि पुग्ने गर्नुहुन्छ । त्यसपछि वैकल्पिक सिकाइ क्रियाकलाप र विद्यालयका अन्य गतिविधिमा संलग्न हुने गर्नुभएको छ । हाल पठनपाठनका क्रियाकलाप नहुने भएकाले विद्यालयमा धेरै बेरसम्म शिक्षकहरुलाई राखेर भेला पार्ने काम गरेका छैनौँ । हामीले सबैको स्वास्थ्यको दृष्टिकोणले सजगता अपनाएका छौँ ।

१०. शैक्षिक सत्र गुम्ने खतरा कत्तिको देख्नुहुन्छ ?
– यो परिस्थितिले निर्धारण गर्ने कुरा हो । स्वास्थ्य र जीवन रक्षा पहिलो प्राथमिकता हो । संक्रमणको अवस्था कस्तो रहन्छ त्यसका आधारमा सरकारले गर्ने निर्णयका आधारमा हामी अगाडि बढ्ने छौ ।

११. शैक्षिक प्रशासन महाशाखाको प्रमुखको रुपमा सम्पूर्ण विद्यार्थी र अभिभावकलाई के भन्न चाहनुहुन्छ ?
– म विद्यार्थी भाईबहिनीहरुलाई अहिलेको समयलाई सिक्ने अवसरको रुपमा लिन आग्रह गर्दछु । अहिले विद्यार्थी भाइबहिनीहरुले आफ्नो अध्ययनसँगै सृजनात्मक तथा रचनात्मक सिपको विकास गर्ने उपयुक्त मौका पाउनुभएको छ । साहित्य सृजना, कथा कविता लेखन, चित्रकला, हस्तकला लगायतका क्षेत्रमा आफ्नो सिप तिखार्न सक्नुहुन्छ । अध्ययनका क्रममा कुनै समस्या आए विषयगत शिक्षकसँग टेलिफोन तथा इन्टरनेटको माध्यमबाट सम्पर्कमा रही समाधान गर्न म अनुरोध गर्दछु । अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई व्यवहारिक सिपहरु सिकाउन पनि म अनुरोध गर्दछु । हामीले वितरण गरेको अभिभावक शिक्षा पुस्तिकाको अध्ययन गरेर सोही अनुरुपका गतिविधि उहाँहरुले आफ्ना बालबालिकालाई गराउन सक्नुहुनेछ ।

१२. अन्तमा तपाईलाई लागेको केही कुरा भए भन्न सक्नु हुनेछ ।
– यहाँ लगायत यहाँको न्यूजप्रवाह टिमलाई धेरै धन्यवाद दिन चाहन्छु । यहाँले मेरो भनाइलाई प्रत्यक्ष रुपमा अभिभावक तथा बालबालिकाहरुको अगाडि मिडिया मार्फत ल्याउन सहयोग गर्नु भयो र सम्पूर्णमा सुरक्षाको मापदण्ड प्रयोग गर्दै आफू पनि सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन र सजग रहन सहयोग गर्नुहोस् । धन्यवाद ।