April 12, 2024

कोरोना लागेपछि घर लैजान दबाब

August 27, 2020

भरतपुर / भरतपुर महानगरपालिका वडा नं. १६ का ५० वर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । पुरानो मेडिकल कलेजमा ती महिला भदौ १ गतेदेखि उच्च रक्तचापका कारण उपचाररत रहेको भरतपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
अध्यक्ष हमालका अनुसार उच्च रक्तचापले घरमै ढलेपछि उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको र केही दिन अघि स्वाब परीक्षणका लागि लिइएकोमा हिजो बुधबार कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । रक्तचापको उपचार गर्न गएका विरामी अहिले कोरोना संक्रमित पुष्टि भएको देख्दा वडाअध्यक्ष हमाल अचम्मित भएका छन् ।
विरामीका एक आफन्तकाअनुसार ती महिलाको टाउकाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले बताएको थियो । इमर्जेन्सी वार्डबाट विरामीलाई आइसोलेसनमा सिफ्ट गरिएको उनी बताउँछन् । आइसोलेसनबाटै स्वाब निकालिएको र परीक्षणका लागि लगिएको उनी बताउँछन् । तर अहिले कसरी पोजेटिभ आयो उनी दंग परेको बताउँछन् । शल्यक्रिया गर्नुपर्ने विरामीलाई किन आइसोलेसनमा लगिएको आफूले बुझ्नै नसकेको उनको भनाइ छ ।
ती महिला गाउँकै हुन्, कहिँ कतैबाट पनि आएको हैन तर कसरी लाग्यो कोरोना एक छिमेकी दंग परेको बताउनुहुन्छ । यो त अस्पतालकै लापरवाही भएको उनले गुनासो पनि गरे । एउटा रोग लागेर गयो अर्को रोग भएको देखाइ दिएको परिवारका आफन्तहरुले आरोप लगाएका छन् । अस्पतालले प्रति दिन ७ हजार खर्च लाग्ने विरामीका आफन्तहरुले बताएका छन् भने विरामीलाई घर लैजान पनि दबाब दिइएको छ ।
ती महिलालाई घर फिर्ताका लागि प्रगति टोल विकास संस्थाका अध्यक्ष लालकुमार श्रेष्ठसँग समन्वय भइरहेको वडाअध्यक्ष हमालले बताउनुभयो । ती महिलाका श्रीमान र छोरा होम क्वारेन्टिनमा रहेका छन् भने त्यस वरपरका स्थानलाई प्रहरीले सिल गरेको छ ।

- ADVERTISEMENT -