December 6, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

५ घण्टा अस्पतालको चक्कर काट्दाकाट्दै होमबहादुरले ज्यान गुमाए

August 31, 2020

चितवन । चितवनको भरतपुरले ‘मेडिकल सिटी’को उपनाम पाएको छ । तर त्यही भरतपुरमा अस्पतालको चक्कर काट्दाकाट्दै कावासोती ३ गुम्बाचोक, नवलपुरका ५४ बर्षीय होमबहादुर गुरूङले मृत्युवरण गर्नु परेको छ । ५ वर्षदेखि कलेजोसम्बन्धी रोगबाट पीडित उनलाई पछिल्लो समय जण्डिस पनि भएको थियो । पछिल्लो समय स्वास्थ्यमा समस्या आएपछि भाइ टेकप्रसाद र श्रीमती मायाले स्थानीय कालीगण्डकी अस्पताल लगे । तर अवस्था जटिल रहेको भन्दै चिकित्सकले सुविधासम्पन्न अस्पताल लैजान सुझाए ।
तर, भरतपुरका सुविधा सम्पन्न अस्पतालमा बेलैमा पु¥याए बिरामीलाई बचाउन सकिने परिवारको आशा त्यतिबेला टुट्यो, जतिबेला होमबहादुरलाई एम्बुलेन्समा राखेर ५ घण्टासम्म अस्पतालहरु चाहार्दा पनि उपचार पाएनन् । आफन्तले होमबहादुरलाई करिब रातको १२ बजे पूर्वपश्चिम राजमार्गसँग नजिकै रहेको चितवन मेडिकल कलेजमा लगेका थिए । तर अस्पतालले आईसीयू भरिएको भन्दै अर्को अस्पताल लैजान सुझाएपछि एम्बुलेन्सबाट नझारी नारायणी सामुदायिक अस्पतालमा लगियो । उनी बेलाबखत उपचारका लागि यहाँ आउने गर्दथेँ । तर, उनलाई बोकेको एम्बुलेन्स अस्पताल पुग्दा अस्पतालको गेट बन्द थियो । चिकित्सक र स्वास्थ्यकर्मी आइसोलेसनमा बसेकाले उपचार हुन नसक्ने भनेर उनलाई गेटबाहिरबाटै फर्काइयो ।
एम्बुलेन्स, नजिकैको मनकामना अस्पताल पुग्यो । तर त्यहाँ पनि होमबहादुरको उपचार हुन सकेन । त्यसपछि उनीहरु पुरानो मेडिकल कलेज पुगे । पुरानो मेडिकल कलेजले पनि बिरामी हेर्न मानेन । कारण बतायो, ‘यहाँ आईसीयू र भेन्टिलेटर खाली छैन ।’ एकपछि अर्को अस्पतालले भर्ना लिन नमान्दा टेकप्रसाद र माया आत्तिसकेका थिए । कावासोतीबाट हिँडाउँदा होस्मा रहेका होमबहादुर अस्पतालको चक्कर काट्दाकाट्दै शिथिल भइसकेका थिए ।
त्यसैले उनीहरु फेरि चितवन मेडिकल कलेज पुगे, बिरामीलाई भर्न गर्न हारगुहार गरे । तर बिरामीलाई आईसीयूमा राख्नुपर्ने भएको तर आईसीयू बेड खाली नभएको भन्दै अन्यत्र लैजान भनियो । बरु भरतपुर अस्पताल लैजान सुझाएपछि उनीहरु कोभिड बिरामीको उपचारमा केन्द्रित भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुगे । तर त्यहाँ पनि उपचार हुन सकेन ।
‘रातभरी एम्बुलेन्समा राखेर अस्पताल चाहार्दा चाहार्दै ५ घण्टा वितिसकेको थियो, दाइ निकै सिकिस्त बनिसक्नुभएको थियो’ भाइ टेकप्रसादले भने । एकपछि अर्को अस्पतालले भर्ना लिन नमानेपछि होमबहादुरका आफन्तले प्रहरीप्रशासन गुहारे । प्रहरीले ‘विरामीको उपचार गर्नुस्’ भनेपछि एक जना चिकित्सक आए । होमबहादुरलाई एम्बुलेन्सबाट झिकेर आकस्मिक कक्षमा करिब डेढ घण्टा राखेर उपचार गरे । तर बिरामीको अवस्था सुधार नभएपछि चिकित्कसले जतिसक्दो छिटो सुविधा सम्पन्न अस्पतालमा लैजान आग्रह गरे ।
उनीहरूले फेरि बिरामी लिएर तेस्रो पटक चितवन मेडिकल कलेज पुगे र आकस्मिक कक्ष अगाडि एम्बुलेन्स रोकेर हारगुहार गरे । अस्पतालका कर्मचारी आएर ज्वरो नाप्दा १०५ डिग्री आएको भनियो र बिरामी लैजान ल्याइएको स्ट्रेचर रित्तै भित्र फिर्ता लगे । अन्य एम्बुलेन्सहरु बिरामी लिएर आउन थालेको भन्दै होमबहादुर चढेको एम्बुलेन्सलाई हटाउन लगाए ।
त्यसपछि आफन्तको अस्पताल परिसरमै रुवावासी चल्यो । त्यसपछि बल्ल डाक्टर आएर बिरामीलाई भित्र लगे । केहीबेरमा भेन्टिलेटरको जोहो गरेर बिरामी राखियो । त्यसको केही समयमै होमबहादुरको मृत्यु भएको उनका ज्वाइ बुद्ध आलेले बताए ।
यसबारे मृतकका आफन्तले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई जानकारी गराएका छन् । भट्टराईले भने जिल्लामा उपचार नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर अस्पतालहरुलाई स्पष्ट निर्देशन दिइएको बताए । ‘हामीले एउटा संयन्त्र नै बनाएका छौं, कसैले पनि उपचार नपाएर मर्नु हुँदैन हाम्रो स्पष्ट निर्देशन छ’ प्रजिअ भट्टराईले भने ।
–नारायणी अनालाइनबाट ।

- ADVERTISEMENT -