चितवन / रत्ननगर बकुलहरमा रहेको निर्मल बहुउदेश्यीय सहकारी संस्थाले अनुदानमा प्राप्त गरेको युरीया मल कालो बजारी गरी महङ्गो मूल्यमा बेच्ने गरेको पाइएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनबाट प्रति बोरा ७ सय ५२ रुपैया ५० पैसामा खरिद गरेको मल उक्त सहकारीले १२ सय ५० रुपैयाँसम्ममा बिक्री गर्दै आएको छ । जिल्लामा मलको हाहाकार भएको बेला सहकारीले किसानलाई बिना बिल मल दिएर पठाउने गरेको छ ।
सहकारीले प्रतिबोरा १२ सय ५० मात्र नभई प्रति केजी पनि २५ रुपैयाँका दरले बिक्री वितरण गर्दै आएको पाइएको हो । यता साल्ट ट्रेडिङ कर्पोरेशनले प्रत्येक सहकारीलाई ७ सय ५२ रुपैयाँ ५० पैसामा मल वितरण गरेको बताएको छ ।
कर्पोरेशनका चितवन शाखा प्रमुख बुद्धिविनोद दाहालले सहकारीले बढीमा २० रुपैया प्रति केजी तथा प्रति बोरा हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री वितरण गर्न नपाउने बताउँछन् ।
आजको मितिसम्म सहरकारीले ५० केजीको प्रति बोरा मल हजार रुपैयाँभन्दा बढी मूल्यमा किसानलाई विक्री वितरण गर्न नपाउने उनको भनाइ छ । कर्पोरेशनका चितवन शाखा प्रमुख दाहालका अनुसार लामो दूरीमा रहेका स्थानमा भने सहकारीको समितिले नै हजारभन्दा माथि मूल्य कायम गर्न सक्ने छन् ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी संस्थापक अध्यक्ष रहेको उक्त सहकारीले प्रति केजी २५ रुपैयाँमा मल बिक्री गरेको स्वीकार गरेको छ । सहकारीका संस्थापक अध्यक्ष तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष रेग्मीले भने आफूले प्रति बोरा हजारसम्म रकम तिरेर मल ल्याउने गरेको बताउँछन् ।
तर, साल्ट ट्रेडिङ कर्पोरेशनले भने प्रति बोरो सहकारीलाई ७ सय ५२ रुपैयाँ ५० पैसामा वितरण गरेको बताउने गरेको छ । उनले गाडी भाडा ३५ सय हुने र सरदरमा हिसाब गर्दा मुनाफा समेत नहुने बताए ।
यता कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले बढी मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने बताउछन् । महामारी र मल अभावका बेलामा केही सहकारीहरुले किसानसँग चर्को मूल्य उठाएको गुनासो बढ्न थालेपछि आफूहरु पनि उक्त काममा लागेको ढकालको भनाइ छ ।
चितवनमा केही सहकारीले सुपथ मूल्यमा बेचेको भएपनि केहीले चर्को मूल्य लिने गरेको गुनासो कृषि ज्ञान केन्द्रमा पुग्ने गरेको छ ।
–कालिका दैनिकबाट ।