July 25, 2024
- ADVERTISEMENT -

‘सकेसम्म लक्षण भएका संक्रमितले मासु नखाँदा राम्रो’

October 24, 2020

काठमाडौं / दशैं पर्व रातो टीका र जमराका साथै खानपानका लागि पनि उत्तिकै महत्वपूर्ण छ । उहिलेको समयमा मासु खानका लागि दशैं नै कुर्नुपर्ने भएकाले पनि दशैंलाई टन्न मासु खाने पर्वको रूपमा लिने गरिन्छ । अहिले पनि दशैं भन्नेबित्तिकै घरमा खसी काट्नैपर्ने, मासु खानैपर्ने मान्यता छ ।
संसारभर महामारीका रूपमा फैलिरहेको कोभिड–१९ का कारण यसपालिको दशैं पहिलेको भन्दा कम चहलपहल देखिन्छ । कोरोना संक्रमणको जोखिमसँग बच्नुका साथै उपत्यकासहितका धेरै ठाउँमा संक्रमण समुदायस्तरमा फैलिएपछि संक्रमित बढ्दै जान थालेका छन् । जसले गर्दा धेरै संक्रमित होम आइसोलेसनमै बसेर दशैं मनाउँदै छन् ।
लक्षण भएका संक्रमितले मासु नखाऊँ
यतिखेर ४० हजारभन्दा बढी सक्रिय संक्रमित होम आइसोलेसनदेखि अस्पतालसम्म उपचाररत छन् । त्यस्तै, एक लाख बढीको संख्यामा संक्रमण मुक्त भइसकेका छन् । संक्रमण मुक्त भइसकेकाहरुले भन्दा सक्रिय संक्रमितहरूले खानपानमा विशेष ध्यान दिनुपर्छ । सकेसम्म लक्षणसहितका संक्रमितले दशैंमा माछामासु धेरै नखाएको राम्रो हुन्छ। तर, कोरोना संक्रमितहरूलाई शरीर कमजोर हुने हुँदा लक्षणअनुसार धेरै चिल्लो पीरो नभएको मासु खाँदा भने राम्रै हुन्छ ।
हालसम्म यो रोगविरुद्ध आवश्यक उचित जानकारी पर्याप्त गर्न नसकेको हुँदा यसबीच र प्रतिरक्षा प्रणालीलाई बढावा दिँदै कोभिड–१९ विरुद्ध लड्ने केही खानाहरू खानुपर्छ। हालसम्म कुनै पनि खाना वा आहारले कोभिड–१९ को संक्रमणलाई रोक्छ भन्ने कुनै पक्का प्रमाण रहेको छैन। तर, आइरन, फोलेट, कपर, जिंक, भिटामिन ए, बी, बी–१२, सी र डीजस्ता पोषक तत्वले हाम्रो प्रतिरक्षा प्राणालीमा महत्वपूर्ण भूमिका खेल्दछ ।
सामान्यतयाः यी तत्वहरू फलफूल र तरकारीमा प्रशस्त मात्रामा पाइने भएकाले यस्ता खानालाई आफ्नो आहारमा समावेश गर्न सल्लाह दिइन्छ । स्वस्थ खानाका अतिरिक्त शारीरिक रूपमा सक्रिय रहने, तनाव कम गर्ने पर्याप्त निदाउने जस्ता गतिविधिले पनि सामान्य प्रतिरक्षा कार्यमा सघाउ पु¥याउन मद्दत गर्दछ । यसबाहेक उचित आहारको अभ्यास, सामाजिक दूरी र संक्रमितको घेराबाट आफूलाई अलग राख्नु नै संक्रमणबाट बच्ने भरपर्दो माध्यम हो ।
सँगै बसेर नखाऊँ
यस्तै, हाल धेरै संक्रमितहरू होम आइसोलेसनमा बसेको अवस्था छ। यस्तो बेलामा कम लक्षण भएका संक्रमितहरूसँगै चाडवाड न हो भनेर सँगै बसेर खानु हुँदैन । सकेसम्म संक्रमित र परिवारका अन्य सदस्यहरू सँगै बसेर नखाऊँ। यस्तै संक्रमितहरूले माछामासुमा भन्दा पनि अन्य झोलिलो खानेकुरामा ध्यान दिऊँ ।
तर, दशैंमा खानपानमा ध्यान नदिँदा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकको जस्ता समस्या देखिन्छ। एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म राखेर खाँदा स्वास्थ्यलाई असर गर्छ । यस्तै, दशैंमा खाइने रातो मासुले कोलेस्ट्रोरोल बढ्ने र चिल्लो पदार्थ बढेपछि रक्तनली साँघुरिँदा हृदयाघात, उच्च रक्तचापको सम्भावना बढ्छ ।
रातो मासुभन्दा सेतो मासु खाऊँ
वर्ष दिनमा आउने चाड भनेर दशैंमा अन्य समयमा भन्दा धेरै मासुलगायत अन्य खानेकुरा खाने चलन छ । दशैंको समयमा काम गरिने र खानेकुरा बढी खाने हुँदा हामीले खाएको खाना पचाउनसमेत गाह्रो हुन्छ । दशैंमा धेरैले खसी, राँगालगायतका चार खुट्टे जनावरको रातो मासु अत्यधिक खाने हुँदा यसमा भएको चिल्लोले शरीरमा कोलेस्ट्रोरोलको मात्र बढ्न गई उच्च रक्तचाप, हृदयाघात हुने सम्बावना बढ्छ। त्यसैले रातो मासुभन्दा सेतो मासु अर्थात् कुखुरा, माछाको मासु खानु उपयुक्त हुन्छ ।
माछामा चिल्लो कम हुनुको साथै प्रोटिन र भिटामिन जस्ता शरिरलाई आवश्यक तत्वहरू प्रशस्त हुन्छन् । माछामा भिटामिन बी, फोस्फोरस, आयोडिन, सेलिनियम, पोटासियम, ओमेघा ३ जस्ता खनिज तत्व पाइने हुँदा यसले शरीरलाई आवश्यक पर्ने प्राय धेरै खनिज तत्वको पूर्ति गर्छ र स्वस्थकर पनि हुन्छ । मुटु र मधुमेह तथा उच्च रक्तचाप भएका मानिसले रातो मासु नखानु नै राम्रो हुन्छ ।
धूमपान र पेय प्रदार्थ कम खाऊँ
दशैंमा माछामासुका साथै धूमपान तथा पेय पदार्थको प्रयोग धेरै हुन्छ । वर्ष दिनमा आउने चाड भन्दै साथीभाइसँग रमाइलो गर्ने बहानामा माछामासुसँगै पेय पदार्थको प्रयोग अत्यधिक हुने भएकाले रमाइलो गर्ने बहानामा माछा मासुसँगै खाइने पेय पदार्थले शरीरलाई हानि गर्छ । चाडवार्डको बहानामा खाइने यस्ता पेय पदार्थ र धूमपानले मुटु र फोक्सोलाई हानि गर्छ। चिसो र पेय पदार्थमा अत्यधिक गुलियो हुने भएकाले धेरै सेवन गर्नु राम्रो हुँदैन। सुगर, प्रेसर र मुटुरोग भएका व्यक्तिले पेयपदार्थ सेवन गर्नु उचित हुन्न ।
हरियो सागसब्जी र फलफूलमा जोड दिऊँ
दशैंमा धेरै माछामासु खानुभन्दा फलफूल, दूध, दही, सलाद र हरियो सागपातमा जोड दिनु राम्रो हुन्छ । यसले शरीरमा कोलस्ट्रोरेलको मात्रालाई बढ्न दिँदैन ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीमा आधारित । (थाहाखवरबाट)

- ADVERTISEMENT -