April 23, 2025

सौराहामा पर्यटन विकासका लागि ५ तलाको सभाहल निर्माण कार्य तिब्र

November 18, 2020
फोटो : खबर तरंग ।
- ADVERTISEMENT -

–अर्जुन बस्ताकोटी
चितवन / चितवनको सौराहामा नवनिर्मित सभाहलले कोरोना महामारीका बीच निर्माण कार्यले निरन्तरता पाएको छ । शहरी विकास तथा भवन निर्माण मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माणको आयोजनामा सभाहल निर्माण कार्य हुने भएको हो ।
रत्ननगर नगरपालिका मेयर नारायण वनका अनुसार सभाहल पर्यटकीय दृष्टिकोणले निर्माण भइरहेको छ भने सञ्चालनमा आएपछि सौराहाको पर्यटनले थप गति लिनेछ । कोरोना महामारीका कारण थलिएको सौराहाको पर्यटनलाई सभाहलले माथि उठाउने मेयर वनको भनाइ छ । सौराहा पर्यटनका लागि सबै किसिमका सेवाहरु उपलब्ध हुँदाहुँदै पनि मास पर्यटनको विकास गर्न नसकिएको र यस सभाहलले मास पर्यटनको विकास गर्ने मेयर वनले बताए ।
उनले भने रत्ननगर नगरपालिकाले भूमाफियाको कब्जाबाट फिर्ता गरेको जग्गामा नेपाल सरकारले सौराहा सभाहल निर्माण सुरु गरेको हो । पर्यटकीय नगरी सौराहामा ठूलो क्षमतामा मान्छे अट्ने सभाहल नभएका कारण पर्यटन विकासमा बाधा पुगेकाले उक्त सभाहलले पूरा गर्ने उनको विश्वास छ ।
सौराहा नजिक रहेको सिसुवार चौरमा सभाहल निर्माणले मास पर्यटनको विकासमा सहयोग गर्ने बताइएको छ । साउन महिनामा बुढीराप्ती नदिमा आएको बाढीका कारण एक महिना निर्माण कार्य रोकिएको थियो । कोरोना महामारीको प्रभावले सभाहल निर्माणको काम नरोकिएको रेलिगेर कन्स्ट्रक्सन प्रा.लि. ललितपुरका सिभिल इन्जिनियर राजेश थापामगरले बताए ।
प्रा.लि.ले ३५ करोड २२ लाख ७० हजारको ठेक्का सम्झौतामा सभाहल निर्माणको सुरु गरेको हो । २०६७ फागुन महिनाबाट सुरु भएको निर्माणको काम जग निर्माण सकिएर डिपीसी लेभलको काम भइरहेको इन्जिनियर थापामगरले बताए । अहिलेसम्म १५ प्रतिशत काम सम्पन्न भएको छ ।
सभाहल निर्माणको काममा हाल ३५ जना कामदार खटिएका छन । कोरोना महामारीले देश ठप्प हुँदा समेत मेयर नारायण वनको सक्रियतामा कामदारहरुलाई निर्माण स्थलमै सुरक्षित तरिकाले राखेर सभाहल निर्माणको कामलाई निरन्तरता दिइएको इन्जिनियर थापामगरको भनाइ छ । सो सभाहल पाँच तलाको बन्ने भएको छ ।
सभाहलको भवनमा दुर्लभ एकसिंगै गैंडाको आकृति मोडलमा बन्ने सो भवनको प्रवेशद्धारमा गैंडाको टाउको हुनेछ । एक हजार क्षमताको पाँच तले भवनसहित १५० क्षमताका ३ वटा छुट्टै भवन निर्माण हुनेछ । सभाहलमा वाल निर्माण, बगैंडासहित सेफ्टीट्याङ र रिजभ ट्याक्टी समेत निर्माण गरी सभाहल रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरिने उनले बताए ।
२०७९ साल बैशाख अन्तिम साता सभाहलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

- ADVERTISEMENT -