April 29, 2025

‘प्रचण्ड सर्वनासको बाटोमा जानुभयो’ – थापा

November 21, 2020
- ADVERTISEMENT -

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वनासको बाटोमा गएको टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले खुमलटारबाट प्रधानमन्त्री ओलीविरुद्ध दाहालले षड्यन्त्र गरेको आरोप लगाए । उनले अराजनीतिक प्रतिवेदन ल्याएर दाहालले ठूलो भुल गरेको बताएका छन् ।
‘उहाँ (प्रचण्ड) सर्वनास र विनासको बाटोमा जानुभयो । खुमलटार षड्यन्त्रको खानी रहेछ । रातारात हर्कतमा उत्रिनुभएको छ’, थापाले भने, ‘सचिवालयको बैठकमा अराजनीतिक प्रस्ताव राख्नुभएको छ । मूल्य र मान्यता, विधान, प्रक्रिया र भावनाको उल्लंघन गर्नुभएको छ । कुठाराघात गर्नुभएको छ ।’
सल्लाहकार थापाले दोस्रो वरीयताका अध्यक्ष दाहाल निहीत स्वार्थमा केन्द्रित भएको बताएका छन् ।
‘विनासकाले विपरित बुद्धिका साथ परिचालन हुनुभएको छ । नेतृत्वलाई खुइल्याउन लाग्नुभयो’, उनले भनेका छन् ।
‘आफूभन्दा सिनियर अध्यक्षविरुद्ध गाली गलौजमा उत्रिनुभएको छ । यो उहाँको संस्कारहीनता र धुन्दुकारी प्रवृत्ति हो’, थापाले कडा टिप्पणी गर्दै भनेका छन् ।
दाहालको व्यक्तिगत कुण्ठा र अराजनीतिक प्रतिवेदनले गर्दा ओली–दाहालबीच कात्तिक २५ गतेदेखि प्रत्यक्ष सम्वाद हुन नसकेको बताए ।
‘कात्तिक २५ गतेदेखि प्रधानमन्त्री ओली र उहाँबीच सम्वाद भएको छैन । प्रत्यक्ष सम्वादको अन्त्य भएको छ’, थापाले भने, ‘उहाँले नैतिकता धरातल गुमाउनुभएको छ ।’
‘११ लाख मतको प्रतिनिधित्व गर्ने व्यक्ति (प्रचण्ड)ले ३३ लाख मतको प्रतिनिधित्व गर्ने व्यक्ति (ओली)लाई पूर्वाग्रहबाट दोष लगाउने व्यक्तिलाई यत्तिकै छाड्ने खालको विषय होइन । उहाँको दुष्टता हो ।’
प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले दोस्रो वरीयताका अध्यक्ष दाहालको जवाफ तथ्यको आधारमा दिएर अगाडि बढ्ने बताए ।

- ADVERTISEMENT -