September 18, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गाँउपालिकासँग समन्वय नै नगरी गाँजा फाँड्न गाउँ पस्यो प्रहरी

December 6, 2020
फोटो : बुलबुल खबर ।

–ज्ञानेन्द्र तामाङ
राक्सिराङ । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा अवैध लागुऔषध भनिने गाँजा खेती नष्ट गर्नका लागि प्रहरी पारिचालित भएको छ । गाउँपालिकाको विभिन्न वडामा लगाइएको गाँजा खेती नष्ट गर्नका लागि ४०÷५० जनाको संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटाइएको हो । प्रहरीले गाँउगाँउमा पुगेर गाँजा खेती नष्ट गर्ने काम सुरु गरिसकेको प्रहरी चौकी चैनपुरले जानकारी दिए ।
समन्वय नगरिएकोमा गाउँपालिकाको आपत्ति :
राक्सिराङ गाँउपालिकाले प्रहरीले कुनै समन्वय तथा जानकारी बिना नै गाँजा खेती नष्ट गर्न भन्दै गाँउगाँउ पुगेकोमा आपत्ति जनाएको छ । आइतबार बिज्ञप्ति नै जारी गरि गाउँपालिकाले प्रहरीको कार्यशैलीको बिरोध गरेका छन । बिज्ञप्तिमा कोभिड १९ ले सबैतिर आक्रान्त पारेको बेला स्वास्थ्य सुरक्षाको कुनैपनि मापदण्ड पुरा नगरि गाउँगाउँमा प्रहरीको डफ्फा परिचालन गरिनु जोखिमपुर्ण भएको बताएका छन् । यसबाट ग्रामीण क्षेत्रमा कोरोना फैलिए त्यसको जिम्मेवार सम्बन्धित निकायले नै लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा संविधानको धारा २३२ मा संघ प्रदेश तथा स्थानीय सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा सम्बन्ध स्थापित हुने ब्यवस्था उल्लेख भएपनि संविधानको मर्म र संघीयताको भावनाविपरित काम भएको आरोप लगाइएको छ । गाँउपालिका आफ्ना नागारिकको स्वास्थ्य सुरक्षाको सन्दर्भमा संवेदनशील रहेको बताउँदै प्रहरीबाट जनमानसमा त्रास फैलाउने काम भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी कहाँबाट आयो थाहा छैन, संक्रमण फैलिए जिम्मेवार लिन सक्दैनौ : अध्यक्ष मल्ल
गाउँपालिकाका अध्यक्ष मल्लले आफुलाई प्रहरी कहाँबाट आएको भन्नेसमेत जानकारी नभएको बताए । ‘प्रहरी कहाँबाट आएको हो केहि थाहा छैन, डिआइजी लेभलबाट आएको भन्ने अपुष्ट कुरा सुन्छु’ उहाँले भन्नुभयो ‘गाँजा नफाँड्नु भनेको हैन तर गाउँपालिकामा समन्वय किन गरेन ?’
उहाँले गाँजा फाँड्न गाउपालिकाले सहयोग गर्न तयार रहेकोसमेत बताउनुभयो । ‘यो ठाँउमा गाँजा छ, यसरी फाड्नुस भनेर हामी नै देखाउथ्यौँ, वा गाउँलेलाई नै फाल्न लगाउँथ्यौ’ उहाँले भन्नुभयो, ‘यहाँ गाउँपालिकासँग समन्वय नै गरिएन, संविधानबिपरितको काम भयो ।’
उहाँले विभिन्न ठाँउबाट प्रहरी आउँदा गाउँगाउँमा कोरोना संक्रमण हुन सक्ने बताउनुभयो । ‘चेपाङ गाउँमा गएर पानी खाने, भात खाने गर्लान, भोली कोरोना फैलियो भने जिम्मा कसले लिने ? हामी स्थानी तहले लिन सक्दैनौ, कि हामीसँग सोध्नपर्यो’ – उहाँले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख बिनोद श्रेष्ठले भने अवैध लागुऔषध गाँजा खेती नष्ट गर्ने प्रहरीको नियमित अभियान नै रहेको बताउनुभयो । राक्सिराङसहित कैलाश र मनहरी गाँउपालिकाका विभिन्न क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरिने उहाँको भनाइ छ । गाँजालाई नेपालको कानुनले अवैध लागुऔषध मानेको छ भने यसको खेती गर्न तथा ओसारपसार वा कारोबार गर्न प्रतिबन्धित छ । तर मकवानपुर, चितवन, धादिङ, बारा, पर्सा, रौतहट लगायत जिल्लामा गाँजा खेती रोकिएको छैन । गाँजा खेतीलाई बैधानिकता दिनुपर्ने पछिल्लो समय आवाजसमेत उठ्न थालेको छ । हालैमात्र संयुक्त राष्टसंघमा समेत गाँजालाई लागुऔषधबाट हटाई औषधिजन्य पदार्थको रुपमा दर्ता गर्न बाटो खुलिसकेको छ ।

- ADVERTISEMENT -

Advertisement