चितवन / चितवन मेडिकल कलेज (सिएमसी) ले सात वर्षिया बालिकाको मुटुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । जन्मजात मुटु सम्बन्धी समस्या भएकी तनहुँ घर भई भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने सात वर्षिया खुशी थापाको मुटुको शल्यक्रिया सफल भएको हो ।
अस्पतालका प्रा. डा. श्यामराज रेग्मीको नेतृत्वमा डा. सुधिर रेग्मी, डा. विष्णुमणि धिताल, सर्जन डा. सुरज भट्टराई, रेडियोलोजिष्ट डा. विज्ञान पौडेल, एनेस्थेसियोलोजीष्ट डा. भारती शर्मा रेग्मी र क्याथ ल्याब प्रमुख अमृत काफ्लेको संग्लनतामा शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ ।

बालिका थापाको मुटुमा पेशमेकर राखी सफल शल्यक्रिया भएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए । बालिकामा सानो उमेरदेखि नै सास फेर्न गाह्रो हुने, बेलाबेलामा ढल्ने, समान्यतया अरु बच्चाहरु भन्दा फरक रहेको परिवारलाई उद्धृत गर्दै उनले भने । परिवारका अनुसार बच्चालाई १७ महिनाको हँुदा काठमाण्डौको शहीद गंगालाल अस्पतलामा चेक जाँच गर्ने क्रममा जन्म जात मुटु सम्बन्धी रोग भएको पुष्टि भएको थियो ।
प्रा.डा. श्यामराज रेग्मीले सामान्यतया मानिसको धड्कन ६० भन्दा माथि हुनु पर्नेमा सो बच्चामा धड्कन ३० देखि ३२ मात्र रहँदै आएको बताए । बच्चाका लागि छुट्टै पेशमेकर पाईदैन, वयस्कका लागि बनेको पेशमेकर नै बच्चालाई राख्नुपर्ने भएको हुँदा जटिल मानिने प्राडा रेग्मीले भने । पेशमेकर बच्चाको लागि जोखिमपूर्ण हुने हुँदा कतिपय अभिभावक र चिकित्सकले यस्तो शल्यक्रिया गर्न हिच्किचाउने गरेको उनको भनाइ छ ।
- ADVERTISEMENT -


मंसिर २० गते अस्पाल भर्ना भएकी थापालाई २२ गते शल्यक्रिया गरिएको हो । हाल बच्चाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ । प्रायः उमेर पुगेका मानिसहरुमा रोग पत्ता लागेपछि गरिने यो शल्यक्रिया बच्चाहरुमा बढी जटिल र जोखिम हुने चिकित्सकले बताएका छन् ।
यसरी शल्यक्रिया गरी पेशमेकर राखेर उपचार गर्दा सामान्य मुटुको धड्कन ६० सम्म चल्ने र यसले १० वर्षसम्म काम गर्ने गर्छ । काम गर्न छोडेपछि चिकित्सको सल्लाह बमोजिम पुनः शल्यक्रिया गरी सो पेशमेकर फेर्नु पर्ने हुन्छ ।














































