February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अटो ब्यवसायीको विना लाइसेन्स र मनपर्दी भाडा, सर्बसाधारणलाई मार

January 5, 2021

 –सुरक्षा न्यौपाने
चितवन । चितवनको भरतपुर क्षेत्रमा चल्ने अटो तथा इ–रिक्साले मनलाग्दी भाडा असुल्दा सर्वसाधारणहरु मारमा परेका छन् । भरतपुरका मुख्य बजार क्षेत्र सहिदचोक, चौबीसकोठी, हस्पिटल रोड, र बजार छेउछाउबाट भित्री बस्तीहरुका छुट्ने यी सवारीले आफूखुशी भाडा असुल्ने गर्दा सर्बसाधारणहरु मर्कामा परेका हुन् ।
जिल्लामा सञ्चालन हुने अटो एवं इ–रिक्साको निश्चित भाडादर कायम गरे पनि यहाँ चल्ने कुनै पनि अटो एवं ई–रिक्साले सरकारी निर्देशनलाई मानेका छैनन् । यातायात व्यवस्था कार्यालयले ३० रुपैयाँ भाडादर कायम गरेको छ । तर जिल्लाका सबैजसो अटो व्यवसायीले भने सरकारी निर्देशनको अवज्ञा गर्दै अटो चढ्नेबित्तिकै मनपरि दरले भाडा लिने गरेको पाइएको छ ।
भाडादर कार्यान्वयनमा निगरानी नहुँदा अटो व्यवसायीहरुले सर्वसाधारणहरुलाई ब्रम्हलुट गरिरहेको यात्रुहरुले गुनासो गरेका छन् । अटो रिक्साको भाडामा देखिएको मनोमानी र लूटतन्त्रमा प्रशासन तथा ट्राफिकले नै चासो नदिएको यात्रुहरुको गुनासो छ । यसरी सरोकारवालाहरुले नै चासो नदिँदा अटो ब्यबसायीहरुमा मनोमानी भाडा अशुल्ने प्रवृत्ति मौलाउँदै गएको देखिन्छ ।
भरतपुरमा चल्ने अटोहरुमा अधिकांश चालकहरु बिना लाईसेन्स चलाउने गरेको देखिन्छ । यसरी बिना लाईसेन्स चलेका अटो तथा ई–रिक्सा चालकहरुलाई ट्राफिक प्रहरीले समेत निगरानी गरेको देखिँदैन । जसकारण बिना लाईसेन्सका अटो ब्यवसायीहरुको संख्या बढ्दै गएको छ ।
अटो तथा ई–रिक्साको लाईसेन्स मात्र हैन गाडीको नम्बर समेत नभएको भएपनि ती सवारी साधनहरु ट्राफिक प्रहरी कै सामू निर्वाध रुपमा चल्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् । पछिल्लो समय यातायातका साधनका लागि निकै लोकप्रिय बन्दै बजारका विभिन्न क्षेत्रहरुमा चल्ने लाइसेन्स नभएका अटो तथा ई–रिक्सा चालकका कारण दुर्घटनामा बृद्धि भइरहे पनि ट्राफिक प्रहरीले कुनै चासो नदिएको जनगुनासो बढ्दै गएको छ । समयमै सम्बन्धित निकाय तथा सरोकारवालाको ध्यानाकर्षण हुन जरुरी भएको सर्वसाधारण बताउँछन् ।

- ADVERTISEMENT -