February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारतमा कोरोनाविरुद्धको खोप आजबाट लगाउन सुरु

January 16, 2021

काठमाडौं / भारतले कोरोनाविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गर्दैछ । स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने छ। अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुराकानी गर्ने कार्यक्रम छ । भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार छ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्नेछन् ।
अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ । भारतले पहिलो प्राथमिकतामा ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ । खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । भारतको राष्ट्रिय खोप इन्स्टिच्युटका प्रमुख सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोरोनाविरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेकाले सावधानीपूर्वक तयारी गरेको बताउनुभयो ।
भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । अभियानको लागि भारत सरकारले एक करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको छ ।

- ADVERTISEMENT -