July 21, 2024

‘जनतासँगको साँझेदारीलाई प्राथमिकतामा राखेर काम गरिने’

January 17, 2021

चितवन / जिल्ला प्रहरी कार्यालयका प्रमुखका लागि नयाँ भवन बनाइएको छ । उक्त भवनको आज आइतबार वागमती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उद्घाटन गरेका हुन् । भवनको उद्घाटनमा प्रहरी नायव महानिरीक्षक लामाले वागमती प्रदेश प्रहरीले जनतासँगको साँझेदारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
प्रदेशमा प्रहरी शुद्धिकरण अभियान सुरु भएको ५ महिना भएको छ । ५ महिनामा प्रहरीको आचरण विपरित काम गर्ने १७ जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको उनले बताए । यो अभियान जारी रहेको भन्दै उनले गलत काम गर्ने प्रहरीको निगरानि गर्न स्पेशल टास्क फोर्स नै तयार गरिएको बताए ।
राम्रा काम गर्ने प्रहरीलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कृत गर्ने काम पनि गरिएको उनको भनाइ छ । अन्य जिल्लाको तुलनामा चितवन निकै संवेदनशील जिल्ला भएको बताउँदै उनले चितवनमा धेरै अपराधका घटना घट्ने गरेको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तिराज गुरुङले जिल्लामा शान्तिसुरक्षा कायम राख्न आफूहरु सक्रियरुपमा लागिरहेको बताए । कार्यक्रममा प्रहरीले सञ्चालन गरेको ‘सय स्थान सय साँझेदारी’ अभियानमा सक्रियरुपमा कार्य गर्ने समाजसेवी तथा विभिन्न कलेजहरु जस्तै फोबर्स कलेजलाई सम्मान गरिएको थियो ।
यस्तै प्रहरी दिवसका दिन सम्मान गर्न छुटेकालाई पनि सम्मान गरिएको थियो । प्रहरी दिवसमा विभिन्न सामाजिक संघसंस्था तथा मिडियामा आवद्ध भइ प्रहरीलाई सहयोग पुर्‍याउनेलाई सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -