July 21, 2024

भरतपुर अस्पतालले सुरु गरे आँखाको उपचार

January 19, 2021

चितवन / भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले संयुक्त रुपमा विभागको शुभारम्भ गर्नुभएको हो ।
सो अवसरमा अध्यक्ष डा अधिकारीले अन्य रोगको उपचार हुँदै गर्दा आँखाको उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता अब हटेको बताउनुभयो । राजधानी बाहिरको सुविधा सम्पन्न अस्पतालको रुपमा भरतपुर अस्पताल अघि बढेको भन्दै उहाँले सङ्घीय अस्पताल भएकाले यस अस्पतालको जिम्मेवारी बढी भएको बताउनुभयो ।
निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा तिवारीले मधुमेह, उच्च रक्तचापलगायतका बिरामीको आँखाको सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले साधारण सेवाबाट शुरु गर्छौं, पछि विशिष्ट सेवा दिन्छौं ।” हाल शल्यक्रिया बाहेक सबै सेवा उपलब्ध हुने उहाँले बताउनुभयो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार विभागमा दुई जना विशेषज्ञ चिकित्सकसहित प्राविधिक समूह रहेको छ । पौडेलले अस्पतालको १३आँैं विभागको रुपमा आँखा विभाग स्थापना भएको बताउनुभयो ।
यस अस्पतालमा चितवनसहित आसपासका १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । प्रसूति सेवाका लागि राजधानी बाहिरको उत्कृष्ठ अस्पतालको रुपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -