July 13, 2024

कान्छी श्रीमती हत्या गर्ने श्रीमानलाई जन्मकैद

February 1, 2021

चितवन / जिल्ला अदालत चितवनले कान्छी श्रीमतीलाई हत्या गरेको आरोपमा श्रीमानलाई जन्मकैदको फैसला सुनाएको छ ।
आइतबार न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले खैरहनी नगरपालिका–९, सिमलटाँडी बस्ने ४५ वर्षीय कृष्णप्रसाद अधिकारीलाई सो फैसला सुनाएको हो । सोही घटनाकी आरोपित कृष्णप्रसादकी जेठी श्रीमती शर्मिला अधिकारी ढुङ्गानालाई भने सफाइ दिइएको अदालतका स्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ०७७ वैशाख २७ गते राति ३४ वर्षीया अञ्जु अधिकारीलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो । हत्यामा प्रयोग भएको खुकुरी प्रहरीले बरामद गरेको थियो । घरायसी विवादका कारण खुकुरी प्रहार हुँदा अञ्जुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । मृतक महिलालाई पहिलेदेखि नै कृष्णप्रसाद र जेठी श्रीमतीले यातना दिने गरेको स्थानीयले बताएका छन् । पहिलो श्रीमतीबाट बच्चा नभएपछि अञ्जुलाई दोस्रो श्रीमतीको रुपमा कृष्णप्रसादले ल्याएका थिए । उनीहरुको साथमा हाल एक वर्षको बालक रहेको छ । कृष्णप्रसादले बच्चा आफूसँग छाडेर अञ्जुलाई घरबाट निस्कन दबाब दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।
बेलुकी खाना खाने समयमा झगडा भएको स्थानीयको भनाइ छ । बारा जिल्ला स्थायी घर भए पनि उनीहरु खैरहनी सिमलटाँडीमा डेरामा बस्थे । बैशाख २८ गते मृतक अञ्जुका बुबा बच्चुराम तिमिल्सेनाले इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएका थिए । त्यसपछि दुई आरोपितहरुविरूद्ध प्रहरीले जेठ २० गते जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । अदालतको आदेशमा उनीहरुलाई थुनामै राखिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -