२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

देवघाटको त्रिकोणात्मक पुल बजेट अभावमा रोकियो

प्रकाशित मिति : २०७७ माघ २० गते
- ADVERTISEMENT -

चितवन / चार वर्षदेखि निर्माणको प्रक्रियामा रहेको पवित्र तीर्थस्थल देवघाटको त्रिकोणात्मक पुल ठूलो बजेट हुँदा अगाडि बढ्न सकेको छैन । सस्पेन्सन ब्रिज डिभिजनले बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकेको हो । डिभिजनका आयोजना प्रमुख ई.कुमार थापाले पुल निर्माणका लागि रु.८३ करोड हाराहारी खर्च हुने बताउनुभयो ।
उहाँका अनुसार डिभिजनले परामर्शदाता कम्पनी मार्फत् नक्सांकनको काम सम्पन्न भई वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पु¥याएको छ । थापाले भन्नुभयो “हाम्रो थोरै लागतका पुल बनाएको कार्यालयले यति ठूलो बजेट आएपछि निर्णय लिन सकेका छैनौं ।” अर्थमन्त्रालयसँग परामर्श गरेर बजेट सुनिश्चितता भएपछि मात्रै काम अगाडि बढाउने उहाँको भनाई छ ।
डिभिजनले पुल निर्माणलाई आफ्नो कार्यक्रमा समावेश गरेको छ । अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेमा आउँदो आर्थिक वर्षको शुरुमा नै बोलपत्र आव्हान गर्न सकिने उहाँको भनाई छ । यस कार्यालयले झोलुङ्गे पुलको काम गर्दै आएको छ । डिभिजनका सिनियर डिभिजनल ईञ्जिनियर हुमाकान्त मिश्रका अनुसार पुलको बीचको पिल्लरबाट तीनै तर्फ लम्बाई १९०÷१९० मिटर छ । तीनै तर्फको जोडर पुलको कूल लम्बाई ५७० मिटर हुनेछ ।
चितवनतर्फ बीचमा ठूलो एउटा पिल्लर रहन्छ भने पुलले चितवन, नवलपरासी र तनहुँलाई जोड्दछ । पुल २.४ मिटर फराकिलो हुन्छ । उहाँले अहिले प्रचलनमा भईरहेका झोलुङ्गे पुलभन्दा दोब्बर फराकिलो हुने जानकारी दिनुभयो । आकर्षक उच्चस्तरको स्टिलको प्रयोग गरेर आर्च पुल बनाउन लागिएको हो । धार्मिक पर्यटक भित्र्याउने प्रमुख उद्देश्यका साथ पवित्र तीर्थस्थल देवघाटमा तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको परिकल्पना गरिएको थियो ।
चार वर्ष अघि तत्कालिन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले समितिका तर्फबाट पुल निर्माणका लागि पहल थाल्नुभएको थियो । उहाँले भन्नुभयो “हामी निरन्तर लागिरहेका छौं, केही दिनमा काठमाण्डौं गएर सम्बन्धित निकायमा अनुरोध गर्दैछौं ।” यो पुल रकमका कारण रोक्न नहुने भन्दै उहाँले देवघाटलाई विश्वसामु चिनाउन पुल सार्थक हुने बताउनुभयो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले पुल निर्माणका लागि पहल भईरहेको जानकारी दिनुभयो । ठूलो रकम खर्च हुने भएकाले उच्चस्तरमा राजनीतिक र प्रशासनिक क्षेत्रमा पुलको महत्वको बारेमा बुझाउने काम भईरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “मलाई विश्वास छ, छिट्टै पुल निर्माण अघि बढ्छ ।” देवघाट विश्वका हिन्दूहरुका लागि पवित्र तीर्थस्थल हो । देवघाटबाट बढी पर्यटक आउने सौराहा, लुम्बिनी, पोखरा र पशुपति क्षेत्र पनि निकट रहेको छ । ती क्षेत्रमा आउने धार्मिक पर्यटकलाई देवघाट भित्र्याउनका लागि बन्न लागेको पुल सार्थक हुने अपेक्षा गरिएको छ । धार्मिक क्षेत्रमा आकर्षक पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने घिमिरेको भनाई छ ।

- ADVERTISEMENT -