February 6, 2025
- ADVERTISEMENT -

भरतपुर नगर तामाङ समाजले मनाए सोनाम ल्होछार, मेयर दाहालद्वारा सक्दो सहयोग गर्ने प्रतिबद्धता

February 12, 2021

–बबिलाल तामाङ
चितवन । भरतपुर नगर तामाङ समाजले ‘तामाङ जातिको उत्थान, भाषा, धर्म, संस्कार र संस्कृतिको सम्बद्र्धन’ भन्ने मूल नाराका साथ २८५७औं सोनाम ल्होछार मनाएको छ । समाजले छेच्यु थर्पलिङ गुम्बा भोजाडमा २८५७औं सोनाम ल्होछार मुसा वर्षलाई विदाई गर्दै गाई वर्षलाई स्वागत गर्दै मनाएको समाजका अध्यक्ष पासाङ तामाङले जानकारी दिए ।
समाजले तामाङ समुदायबीच शुभकामना आदान–प्रदान, विविध साँस्कृतिक कार्यक्रम तथा खुल्ला रक्तदान गरी मनाएको हो । भरतपुर महानगरपालिका मेयर रेनु दाहालद्वारा दियो प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा बोल्दै मेयर दाहालले गुम्बाको लागि सहयोगको सक्दो सहयोग गर्ने बताए । यो गुम्बाको तर्फबाट सहयोगका लागि माग भएको आफूसँग कुनै जानकारी नै नभएको पनि उनले भने ।
गुम्बाका लागि गर्नुपर्नु काम के हो के आवश्यकता छ यकिन गरेर सहयोगका लागि आउनु भएमा यहाँहरुको आशालाई निराशामा पार्न नदिइने उनले भने । उनले यो गुम्बा महानगरको पहिचान भएकोले समाजका हितका लागि आफूले हरतरहबाट सहयोग प्रतिबद्धता व्यक्त गरिन् ।


कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष गंगा लामाले तामाङहरुको धर्म, संस्कृति, भेषभूषा लगायतको संरक्षणको लागि समाज निर्माण गरिएको बताए । उनले सम्पूर्ण तामाङ समुदायलाई अब हुने राष्ट्रिय जनगणनामा आफ्नो थर तामाङ नै लेख्न आग्रह गरे ।
उनले तामाङ जातिलाई राज्यले पनि अवहेलना गरेको जिकिर गरे । सम्पूर्ण तामाङ समुदाय अब आफ्नो हक अधिकारको लागि उठ्नु पर्ने बेला आएको र सबैलाई जागरुक हुनुपर्ने बताए ।
छेच्यु थर्पलिङ गुम्बाका अध्यक्ष पंचबहादुर लामाले स्थानीय सरकार बनेदेखि महानगर र वडाबाट गुम्बालाई सहयोग नभएको बताए । उनले तामाङ जातिको आस्थाको धरोहर अधुरो रहेको यो गुम्बालाई महानगरले अवलोकन गरी सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय लोकगायक शिवम लामा स्थानीय गायकहरु कुमार बाइवा, अनिश पाख्रिन लगायतले बेजोड प्रस्तुति दिएका थिए भने क्षितिज एण्ड द ब्याण्डले गुम्बा परिसरलाई झुमाएका थिए । त्यसैगरी शारदा गु्रप, द ब्रदर्श डान्स गु्रपले पनि बेजोड सांगीतिक नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तैगरी गुम्बा परिसरमा खुल्ला रक्तदान कार्यक्रम गरिएको थियो । जसमा ७ महिला सहित १५ जना रक्तदाताले रक्तदान गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष दिलमाया तामाङ, अधिवक्ता अजयकुमार तामाङ, ज्ञानबहादुर तामाङलगायतले शुभकामना मन्तव्य दिएका थिए भने नरिमाया लामा, प्रतिमान थिङ, कान्छीमाया लामा, खेन्पो दावा तामाङ, ओमराज तामाङलगायतको उपस्थिति थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष पासाङ तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन उपाध्यक्ष सूर्यप्रकाश लामाले गरेका थिए । कार्यक्रमको लागि प्रीति तामाङ र पासाङ तामाङले सहजीकरण गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -