–बबिलाल तामाङ
चितवन । देशभर महाशिवरात्री पर्व मनाइएको छ । विशेषगरी हिन्दुहरुले मनाउने पर्व महाशिवरात्री पर्व बिहीबार देशैभर मनाइएको हो । हिन्दूहरुको शिवरात्री पर्व विगत वर्षहरुमा जस्तो भक्तजनहरुको उल्लेख सहभागी भएको पाइँदैन ।
यस वर्ष घरघर, टोलटोलमा मानिसहरुको शिवधुनी बाल्नेहरुको संख्या ज्यादै न्यून रहेको पाइएको छ । विभिन्न संघसंस्थाद्वारा आयोजना गरिएको महाशिवरात्रीमा भक्तजनहरुको खासै उपस्थिति नभएको बुद्धिजीवीहरु बताउँछन् ।
महानगर फलफूल तथा तरकारी बजार क्षेत्रपुर २, चितवनमा शिवरात्री महोत्सव मनाएको छ । तरकारी बजारमा बिहीबार सम्पन्न शिवरात्री महोत्सव फलफूल तथा तरकारी थोक व्यवसायी संघको आयोजनामा भएको हो । सहआयोजकमा कृषि प्रवर्धन बजार विकास प्रा.लि. र सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. रहेका थिए ।
फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मदनप्रसाद सापकोटाले भोलिको पुस्ताको लागि हामीले चाडपर्वलाई निस्तेज हुन नदिन सबै व्यवसायीहरु लाग्नु पर्ने बताए । महान शिवरात्री पर्व सबै फलफूल व्यवसायीहरुले उल्लासमय वातावरण मनाउनु पर्ने उनको धारणा थियो । फलफूल बजारभित्र अवस्थित मन्दिर परिसरमा दैनिक पूजापाठ हुने गरेको उनले भने ।
- ADVERTISEMENT -
शिवरात्री हिन्दूहरुको महान पर्व भएकोले फलफूल व्यवसायीहरुले संस्कृतिलाई जिवन्त राख्न सबैले हातेमालो गर्नुपर्ने आवश्यकता भएको कृषि प्रबर्धन बजारका अध्यक्ष शालिकराम घिमिरेले बताए । उनले व्यवसायीहरुको चाहना भएमा शिवरात्री पर्वको लागि रंगीचंगी, बाजागाजा तथा धुमधामसँग गर्नको लागि कुनै पनि कसर, कन्ज्युस्याई नगरिने प्रतिबद्धता व्यक्त गरे ।
धेरै वर्ष अघिदेखि व्यवसायीहरुको बीचमा समर्पित रहेर शिवरात्री पर्व मनाउँदै आएको सिद्धि विनायक साकोसका अध्यक्ष थिरप्रसाद धिताले बताए । व्यवसायी–व्यवसायी बीचमा एकता, सुमधुर सम्बन्ध कायम होस् भन्ने हेतुले शिवरात्री पर्व मनाउँदै आएको उनले भने । फलफूल संघले सबै व्यवसायीलाई एकताबद्ध गर्नका लागि धार्मिक, सामाजिक कार्य गर्दै आएको उनको भनाइ थियो ।
कार्यक्रममा भक्तजनहरुबाट बेलपत्र चढाउने तथा पूजा आरधना सम्पन्न भएको थियो । संघद्वारा आयोजित उक्त कार्यक्रममा भक्तजन र उपस्थित सबैलाई प्रसाद वितरण गरिएको थियो ।
कार्यक्रममा सिद्धि विनायक साकोसका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, सचिव मुकुन्दप्रसाद गौतम, कृष्ण सिलवाललगायतको उपस्थिति थियो ।
फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष मदनप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन जयराम पाण्डेले गरेका थिए । कार्यक्रम रामप्रसाद घिमिरेको संयोजकत्व सम्पन्न भएको हो ।