२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल घोषणा

प्रकाशित मिति : २०७७ चैत्र ८ गते
- ADVERTISEMENT -

काठमाडौं / संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ।
नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५.२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो। नेटवर्कले १ सय ४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो। सन् २०२० मा नेपाल ९२ औं र २०१९ मा सयौं स्थानमा थियो।
सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने मुलुकमा सूचीकृत थियो। राष्ट्रसंघले कोभिड भाइरस महामारीपछि मनोवैज्ञानिक, सामाजिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ मुलुकमा अध्ययन गरेको थियो। कुल गार्हस्थ उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनका लागि आधार लिइएको थियो। भारत ३.८१९ अंक प्राप्त गरी १ सय ३९ औं र चीन ५.३३९ अंक प्राप्त गरी ८४ औं स्थानमा सूचीकृत भएका छन्।
श्रीलंका ४.३२५ अंक ल्याएर १ सय २९ औं, पाकिस्तान ४.९३४ अंक प्राप्त गरी १ सय ५औं, बंगलादेश ५.२५ अंक प्राप्त गरी १ सय १ औं, मालदिभ्स ५.१९८ अंक प्राप्त गरी ८९ औं स्थानमा सूचीकृत भएका छन्। ‘जुन मुलुकका जनता आफ्नोपन महसुस गर्छन्, जहाँ विश्वास र खुसी बाँडिनुका साथै सार्वजनिक संस्थाप्रति भरोसा महसुस हुन्छ, त्यो मुलुक खुसियाली मुलुकमा सूचीकृत हुन्छन्,’ अध्ययनमा सहभागी संयुक्त राष्ट्रसंघका जोन हेलिवेलले भने।
उनका अनुसार मुस्लिम समुदायप्रतिको घृणा, बेरोजगारी र सामाजिक विशृंखलताका कारण केही मुलुक बेखुसी मुलुकको सूचीमा परेका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

- ADVERTISEMENT -