२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

निकुञ्जमा आजदेखि गैंडा गणना

प्रकाशित मिति : २०७७ चैत्र ९ गते
- ADVERTISEMENT -

चितवन / दुर्लभ जन्तु एकसिंगे गैंडा गणना आज (आइतबार) बाट सुरु गर्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गणना गर्न लागिएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाइएको छ । राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना सुरु गरिनेछ । यस्तै चैत १७ देखि बर्दिया राष्ट्रिय निकुञ्ज र १९ गते शुक्लाफाँटामा गणना गरिनेछ । हात्तीको प्रयोग गरेर गैंडा गनिन्छ ।
हात्ती जहाँ पनि पुग्न सक्ने भएकाले यसको प्रयोग बढी हुन्छ । गैंडा गणनामा सहभागी हुने हात्तीको छनोट गरिएको छ । स्वास्थ्य परीक्षण गरेर गणनामा जाने झन्डै ४० वटा हात्ती तयारी अवस्थामा राखिएको छ । गैंडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ । गणनाका लागि चाहिने गणक, हात्ती र प्राविधिकसहित बन्दोबस्तीको सामग्री तयारीमा लागेको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख अणनाथ बरालले बताए ।
‘निश्चित क्षेत्र लिएर त्यहाँ देखिएका गैंडाको फोटो खिच्ने, रिपोर्ट गर्दै जाने कुनै गैंडा भागेर अघिपछि गए त्यसको रेकर्ड राखेर जोड घटाउ गर्दै जाने हो,’ उनले भने, ‘बढीमा २५ दिनमा गनेर त्यसको पाँचदिनमा नतिजा बाहिर ल्याउने गरी काम गरेका छौं ।’ ४० वटा हात्तीमा गणक बसेर निश्चित दूरीमा देखिएका गैंडा गणना गर्छन् । ४० जना मुख्य गणक र वैकल्पिक २० जना हुन्छन् ।
गणनामा खटिनेका लागि शुक्रबारदेखि आइतबारसम्म सौराहामा तालिम आयोजना गरिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले तयारी तीव्र पारिएको बताए । ‘गैंडाको पछिल्लो अवस्था, बासस्थान, विचरण र संरक्षणको आगामी रणनीतिबारे अनुगमन गरिन्छ’, उनले भने, ‘निकुञ्जका लागि मात्रै होइन हामीले अन्तर्राष्ट्रिय स्तरमा गरिएको प्रतिबद्धतामा हामी कहाँ छौ भनेर झक्झकाउँछ ।’

- ADVERTISEMENT -