July 13, 2024

राजधानीमा ह्वात्तै बढ्यो वायु प्रदूषण

March 27, 2021
Photo Google

काठमाडौं / राजधानीमा धुवाँ र धुलोका कारण वायु प्रदूषण ह्वात्तै बढेको छ। वायु प्रदूषणका कारण शुक्रबार दिनभरि नै काठमाडौं उपत्यका धुम्म भयो। विभिन्न स्थानमा जडान गरिएका वायु प्रदूषणमापक स्टेसनले काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकर हिसाबले बढेको देखाए। अत्यधिक वायु प्रदूषण जनस्वास्थ्यका लागि घातक हुन्छ।
वातावरण विभागको वेबसाइटमा साँझ पौने ६ बजे भैंसेपाटीको वायु गुणस्तर सूचकांक (अक्वा) चार सय सतचालीस रेकर्ड भएको उल्लेख छ। यो जनस्वास्थ्यका लागि अत्यधिक घातक स्तर हो। अमेरिकी राजदूतावासमा राखिएको वायु प्रदूषणमापक स्टेसनमा सोही समयमा यो अंक २९४ रेकर्ड भएको छ। यो पनि जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर स्तर हो। रत्नपार्कमा अक्वा २०० को हाराहारीमा थियो। यो पनि जनस्वास्थ्यका हिसाबले अस्वस्थकर स्तर हो।
अन्तर्राष्ट्रिय रूपमा वायु प्रदूषणको मात्रा नाप्ने इन्डेक्स अक्वा १५० देखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थ्यमा प्रभाव पार्ने हिसाबले अस्वस्थकर मानिएको छ। यसलाई रातो रङ दिइएको छ। शून्य देखि ५०० सम्मको प्रदूषणको स्तरलाई ६ तहमा बाँड्दा रातो रङ खतराको हिसाबले चौथोमा पर्छ। त्यस्तै २०० देखि ३०० अंकसम्मलाई बैजनी रङ दिइन्छ। यो खतराको हिसाबले पाँचौं तह हो। यसलाई अत्यन्त अस्वस्थकर मानिन्छ। ३०० अंक नाघेपछि खैरो रङ दिइन्छ। यो तहलाई ‘घातक’ स्तर मानिन्छ।
अक्वा मापन गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड जस्ता प्रदूषणका कारक तत्वहरू हेरिन्छ। प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २.५ का रूपमा मापन गरिन्छ। प्रतिघनमिटर वायुमा १० माइक्रोमिटर व्यास भएका कणलाई पिएम १० को रूपमा नापिन्छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -