चितवन / मेची–महाकाली युवा जागरण अभियानको लागि चैत २१ गते कञ्चनपुरको दोधारा चाँदनीबाट सुरू भएको अभियानको टोलीले शनिबार चितवनमा मोटरसाइकल र्याली आयोजना गरेको छ।
‘दलाल पुँजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गर्न उठौं, वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणको निम्ति संघर्षमा जुटौं’ भन्ने मूल नारालाई आत्मसात गर्दै सुरु गरेको अभियान अत्तरिया, धनगढी, टिकापुर, भुरीगाउँ, कोहलपुर, नेपालगन्ज, भालुबाङ, बुटवल हुँदै शनिबार चितवन आइपुगेको हो।
चितवन आइपुगेलगत्तै भरतपुरको चौबीसकोठीबाट मोटरसाइकल र्याली आयोजना गरिएको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विजय विश्वकर्माले जनाकारी दिए। चौबीसकोठीबाट सुरु भएको र्यालीले हाकिम चोक, केन्द्रीय बस टर्मिनल, मालपोत चोक हुँदै रिङरोड परिक्रमा गरी नारायणगढको पुलचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उक्त सभालाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी युवा लिगका केन्द्रीय महासचिव श्याम कुँवरले दलाल संसदीय पुजीवादको विरुद्ध वैज्ञानिक समाजवाद निर्विकल्प भएर लागेको बताए। ‘त्यसैको जागरण फैलाउन यो अभियान आयोजना गरिएको हो,’ उनले भने। केन्द्रीय अध्यक्ष लच्छुराम विश्वकर्माले देशमा व्याप्त भ्रष्टाचार र लुटतन्त्रको जरो नै दलाल संसदीय पुजीवादी व्यवस्था भएकोले यसको अन्त्य आवश्यक रहेको बताए।
‘यसलाई अन्त्य गर्न वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्नुपर्छ,’ उनले भने। चितवनको र्यालीमा करिब एकसय मोटरसाइकल सहभागी थिए। पश्चिमबाट सुरु भएको अभियान चितवनपछि पूर्वको यात्रामा निस्कनेछ।
चितवनमा वैज्ञानिक समाजवादीको मोटरसाइकल र्याली

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
