February 6, 2025
- ADVERTISEMENT -

कोभिड–१९ बढेसँगै पर्यटक आवागमन प्रायः ठप्प

April 11, 2021
file photo.

काठमाडौं / कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ । विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० कोे सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा कमी आएको हो । सन् २०२० को जनवरीसम्म कोभिड विश्व महामारीका रूपमा फैलिएको थिएन। २०२० को जनवरीमा ४ प्रतिशतको वृद्धिसँगै डेढ अर्ब व्यक्ति घुमफिरमा निस्किएको तथ्यांकले देखाएको छ। सन् २०२१ को जनवरीमा भने युरोपेली मुलुकमा कोभिडको दोस्रो लहर चलेकाले पर्यटक आवागमन प्रभावित भएको जनाइएको छ।
पर्यटक आवागमन जनवरीमा सबैभन्दा बढी एसिया तथा एसिया प्रशान्तीय क्षेत्रमा ९६ प्रतिशतले घटेको छ। पर्यटक घुमफिरका दृष्टिले विश्वको पहिलो सूचीमा पर्ने यो क्षेत्रका मुलुकको पर्यटनमा कोभिडले बढी असर गरेको तथ्यांकले देखाउँछ। नेपाल पनि यसै क्षेत्रभित्र पर्ने मुलुक हो। युरोप तथा अफ्रिकी क्षेत्रमा ८५, मध्य एसियामा ८४ र अमेरिकी क्षेत्रमा ७७ प्रतिशत कमी आएको देखिएको छ।
कोभिडको दोस्रो लहर सुरु भएसँगै विभिन्न मुलुकले लगाएको यात्रा प्रतिबन्धसँगै पर्यटक आवागमन घटेको संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार कोभिडको दोस्रो लहरबाट सबैभन्दा बढी अमेरिका र युरोपसँगै केही हदसम्म दक्षिणपूर्वी एसिया प्रभावित बनेका छन्।
कोभिडका कारण सन् २०२० मा करिब ७५ प्रतिशतले अन्तर्राष्ट्रिय पर्यटनमा कमी आएको थियो। उक्त अवधिमा विश्व उड्डयन क्षेत्रले ३ सय ७० अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति व्यहोरेको थियो। विमानस्थलले १ सय १५ अर्ब डलर र हवाई कम्पनीहरूले १३ अर्ब डलरबराबरको क्षति व्यहोरेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले जनाएको छ ।
तीन महिनामा ८५ प्रतिशत गिरावट
सन् २०२१ को प्रथम त्रैमासिकमा ८५ प्रतिशतले अन्तर्राष्ट्रिय पर्यटनमा गिरावट आउने प्रक्षेपण यूएनडब्लूटीओले गरेको छ । सन् २०१९ को पहिलो त्रैमासिकको तुलनामा यो वर्ष २६० मिलियन अन्तर्राष्ट्रिय आवागमनमा कमी आउने प्रक्षेपण गरिएको हो । ३२ प्रतिशतभन्दा बढी मुलुकले फेबु्रअरी पहिलो सातादेखि अन्तर्राष्ट्रिय पर्यटकको आवागमनलाई प्रतिबन्ध लगाएका छन्। यस्तै ३४ प्रतिशत मुलुकले ससर्त मात्रै पर्यटक भित्र्याउने गरी मापदण्ड अपनाएका छन् ।
पहिलो ६ महिना विश्व पर्यटन गिरावटमा जाने भए पनि त्यसपछिको महिनादेखि बढ्ने अनुमान संगठनको छ । यूएनडब्लूटीओको प्रक्षेपणअनुसार २०२० को जुलाईको तुलनामा चालू वर्षको जुलाईमा ६६ प्रतिशतले विश्व पर्यटन माथि उठ्ने भनिएको छ । सेप्टेम्बरसम्म पुग्दा २२ प्रतिशतले पर्यटक बढ्ने अनुमान संगठनको छ । कोभिड–१९ विरुद्धको खोपको उपलब्धता, यात्राको आत्मविश्वास बढ्नु, यात्रा प्रतिबन्ध हट्दै जाने विश्वासका साथ यो प्रक्षेपण गरिएको हो । तर, सन् २०१९ को तुलनामा अन्तर्राष्ट्रिय पर्यटनमा वृद्धि हुन ४ वर्षभन्दा बढि समय लाग्ने अनुमान गरिएको छ । यो समाचार सुनिता कार्कीले अन्नपूर्ण पोष्टमा लेखेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -