चितवन / चितवन जिल्लाको चार वटा विद्यालयका विद्यार्थीलगायत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । चितवनका नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी र विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो । यस्तै ईच्छाकामना गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय रानीखोलाका शिक्षकलाई संक्रमण देखिएको छ ।
वाल्मीकिका कक्षा १० का विद्यार्थीलाई संक्रमण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार हिजो आइतबार र आज उक्त विद्यालय बन्द भएको हो भने अन्य विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाएर कक्षा सञ्चालन गरिएको छ ।
गुञ्जानगर माविका दुई जना विद्यार्थी, नारायणीका लेखाका कर्मचारी र ईच्छाकामनाका दुई जना शिक्षकमा संक्रमण देखिएको शिक्षा विकास तथा समन्वय ईकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले बताए । विद्यालयहरुमा कोरोना देखिन थालेपछि अभिभावक, विद्यार्थी, शिक्षक र कर्मचारी त्रसित भएका छन् । कतिपय अभिभावकले बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको उपस्थितिमा आईतबार बसेको पालिकास्तरका शिक्षा शाखा प्रमुख र समन्वय ईकाई प्रमुखको बैठकले वैशाख महिनाभित्रमा वार्षिक परीक्षा सक्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
सुवेदीका अनुसार जेठमा गर्ने भनिएको वार्षिक परीक्षा वैशाख महिनाभित्रमा सम्पन्न गर्न विद्यालयहरुलाई निर्देशन दिने निर्णय गरिएको छ । निजी विद्यालयको छाता संस्था निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) का प्रतिनिधिसँग आज छलफल गरिंदै छ । जिल्लामा आईतबार मात्रै २२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा हालसम्म ७ हजार ७१ जना संक्रमित भएको छन् । हालसम्म ६ हजार ८१८ जना निको भएका छन् । हाल संक्रिय संक्रमित १४९ जना रहेका छन् । हालसम्म जिल्लाका ११४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो समय कम उमेर समूहमा समेत संक्रमण देखिन थालेको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले कम उमेरमा संक्रमण देखिन थालेकाले बालबालिकालाई विशेष सतर्कता अपनाउन आग्रह गरे । स्वास्थ्य मन्त्रालयलले चितवनलाई उच्च जोखिम जिल्लाको रुपमा घोषणा गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका विद्यार्थी, शिक्षक तथा कर्मचारीमा देखिए कोरोना
April 19, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
