२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

१५औं लोकतन्त्र दिवस – ‘जनआन्दोलनका घाइतेहरुलाई राज्यबाट अवहेलना’

प्रकाशित मिति : २०७८ बैशाख ११ गते
- ADVERTISEMENT -

–बबिलाल तामाङ
चितवन । २०६२/६३ का जनआन्दोलनका घाइतेहरुलाई राज्यले अवहेलना गरेको जनआन्दोलन शहीद परिवार तथा घाइते समिति चितवनका अध्यक्ष सूर्य श्रेष्ठले आरोप लगाएका छन् । अध्यक्ष श्रेष्ठले १५औं लोकतन्त्र दिवसको अवसर पारेर शनिबार पत्रकार भेटघाटमा २०६२/६३ का जनआन्दोलनका घाइतेहरुलाई राज्यले अवहेलना गरेको बताएका हुन् ।
आफ्नो ज्यानको प्रवाह नगरी आन्दोलनमा होमिए पनि राज्यबाट कुनै सहयोग नपाएको उनको गुनासो थियो । उनले राजतन्त्र फ्याँक्न आफूले निकै ठूलो संघर्ष गर्नु परेको र ज्यानको बलिदानी दिएको बताए ।
उनले आफूलाई राज्यले राष्ट्रिय सम्मान गरे पनि लोकतन्त्रको लागि लडेको कुनै अस्तित्व नभएको बताए । लोकतन्त्र आए पनि देशमा शान्ति, सुरक्षा, अमन चयन नभएर राजतन्त्र नै मौलाएको उनको भनाइ थियो ।
उनले राज्यले लोकतन्त्र दिवस नै नमानेर जनआन्दोलनका घाइतेहरुको अपमान गरेको आरोप समेत लगाए । अब हामी सबैले देशमा परिवर्तन ल्याउनका लागि फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने उनले भने । उनले २०४६ सालदेखि राजनीतिमा लागे पनि आफ्नो योगदानको कुनै मूल्य नै नभएको गुनासो गरे ।
कार्यक्रमका प्रमुख अतिथि कुलप्रसाद पोखरेलले हामी लोकतन्त्रवादी, गणतन्त्रवादी हौं तर पनि देशमा राजनीतिक दलहरुको भाँडभैलोले देशमा अशान्ति मच्चिएको बताए । यस्तै हो भने यो देशको अस्तित्व मेटिने खतरा बढ्दै गएको उनको भनाइ थियो ।
प्रमुख अतिथि पोखरेलले अहिलेको अपरिहार्यता भनेको देशमा शान्ति सुरक्षा भएको जिकिर गरे । हजारौं शहीदहरुको सपनालाई राज्यले अझै पनि बेवास्ता गरेको उनले आरोप लगाए ।
चितवन जिल्ला अदालत बार एशोसियसनका निवर्तमान उपाध्यक्ष हरि मैनालीले जनताले गरेको बलिदानी खेर गएको र केही सीमित व्यक्तिहरुले प्रजातन्त्रलाई कुण्ठित पारेको बताए । विभिन्न पार्टी पंक्तिहरुले लोकतन्त्रलाई गरी खाने भाँडो मात्र बनाएको उनको भनाइ थियो ।
नेतृत्वमा जाने नेताहरुले एजेण्डाको राजनीति कहिल्यै नगरेको उनको आरोप थियो । उनले राजनीतिक दलका नेताहरुको स्वार्थले गर्दा प्रजातन्त्र हरेक जनताको घरमा पुग्न नसकेकोमा दुःख व्यक्त गरे ।
एस एण्ड पी कम्पनीको प्राङ्गणमा भएको कार्यक्रममा स्थानीय विनय तण्डुकार, निर्मला प्रधानलगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -