July 13, 2024

कोरोना संक्रमणसँगै मृत्युदर पनि उच्च

April 26, 2021

काठमाडौँ / कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो ।
आइतबार एक दिनमै २८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । ‘लापरबाही गरे स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयले भनेको छ । मृत्युदरले कोभिडको विस्तार भयावह अवस्थातिर गइरहेको स्पष्ट संकेत गरेको वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले बताए ।
‘नेपालजस्तो थोरै जनसंख्या भएको देशमा एकै दिन २८ जनाको मृत्यु हुनु जटिल अवस्था निम्तिसकेको संकेत हो,’ उनले भने, ‘बढ्दो मृत्युदरले बिरामीले अस्पतालमा राम्रो स्याहार पाउन नसकिरहेको अवस्थासमेत छर्लङ्ग भएको छ ।’ विज्ञहरूले दिनहुँ थपिइरहेका कोरोना संक्रमितको वास्तविक अवस्था अज्ञात रहेको औंल्याएका छन् ।
उनीहरूका अनुसार परीक्षण प्रक्रियामा नआएका संक्रमितको संख्या उल्लेख्य छ । संक्रमण पुष्टि नभएका कोभिड बिरामीको मृत्यु झन् बढी हुने उनीहरूको अनुमान छ ।
पछिल्लो साता देखिएका संक्रमितमध्ये विदेश जान पीसीआर परीक्षण गराउने धेरै रहेको उल्लेख गर्दै डा. बीसीले भने, ‘हामीले विदेश जानेको संख्या घटायौं भने परीक्षण गराउनेमध्ये करिब आधाजतिमा संक्रमण देखिएको अवस्था छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -