– बबिलाल तामाङ
चितवन । यो सिजन सरकारी नियमअनुसार नदीनालाबाट ढुंगा, गिट्टी, बालुवाजस्ता नदीजन्य पदार्थको उत्खनन हुने समय हो । यसरी नदी उत्खनन हुँदा सरकारी मापदण्डअनुसार छ कि छैन भनेर हेर्ने निकाय मौन बस्दा त्यसको असर वरिपरिका स्थानीयले भोग्न बाध्य हुन्छन् । भरतपुर महानगरपालिका वडा नं. १६ स्थित खरखरे घाटमा पनि वर्षेनि नदीजन्य पदार्थको उत्खनन् हुँदै आएको छ, जसले गर्दा वरिपरिका सर्वसाधारण खानेपानीबाट समेत बञ्चित भएका छन् ।
नदी उत्खननकै कारण वर्षौँदेखि प्रयोग गर्दै आएको खानेपानीको धारोसमेत सुक्न थालेको स्थानीयले बताउँदै आएका छन् । नदी उत्खननले बाटो बिगार्ने मात्र नभई धारोको पानीसमेत सुकाउने गरेको स्थानीय पूर्णबहादुर तामाङले बताए ।
‘खोलामा बढी गहिराई गरेर ढुंगा, गिट्टी खोतल्दा त्यसको असर बस्तीसम्म पर्दोरहेछ,’ उनले भने, ‘किनकि वर्षौँदेखि प्रयोग गर्दै आएको धारो पनि यसपालि सुक्यो ।’
ज्ञानेश्वर सामुदायिक वनको अधिनमा खरखरेघाटमा नदी उत्खनन हुँदै आएको छ । नदीजन्य पदार्थको उत्खननले मात्र नभई नजिकै बोरिङ खन्ने क्रम बढ्दै जाँदा वरिपरि पानीको स्रोत सुक्दै गएको उनले बताए ।
सम्बन्धित निकायको बेलैमा ध्यान नजाने हो भने यहाँका स्थानीय निकट भविष्यमा पानीविहीन बन्न बाध्य हुने उनको बुझाई छ । हालसम्म महानगरपालिकाको वडा नं. १६ भरमा १५ भन्दा बढी धारा सुकिसकेको स्थानीयको भनाइ छ । यही क्रम जारी रहे स्थानीयले पानीको हाहाकार खेप्नु पर्ने अवस्था सिर्जना हुने तामाङले बताए ।
वि.सं. २०५० सालदेखि बस्दै आएका बद्रीप्रसाद बोलखेको घरमा पनि धारा सुकेको २० दिनभन्दा बढी भइसक्यो ।
‘मेरो घरमा दुई वटा बनाएको दुईवटै सुक्यो,’ उनले भने, ‘खानेपानी नै सुकेपछि छिमेकीको धारोबाट पानी बोकिरहेको छु ।’ नदी उत्खननले नै पानीको मुहान सुकेको उनले दाबी गरे । ‘छिमेकीको धाराबाट पानी ल्याएर खान थालेको २० दिन भइसक्यो,’ उनी भन्छन्, ‘अब अन्तिम उपाय वडामा डेलिगेशन लिएर जानुमात्र बाँकी छ ।’
फेरि नयाँ धारा हाल्ने क्षमता नभएकोले स्थानीयको भावनालाई ध्यानमा राख्दै महानगरपालिका र वडा कार्यालयले सरकारी पानीको व्यवस्था यथाशीघ्र गरिदिन उनले माग गरे । स्थानीयको जनजीविकासँग जोडिएको विषय भएकोले सरोकारवाला व्यक्ति तथा निकायले गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनले बताए ।
भरतपुर वडा नं. १६ का अध्यक्ष अमृतराज हमालले खरखरे घाटको नदी उत्खननमा वडा कार्यालयको कुनै समर्थन नभएको बताए । महानगरको मनोमानी ढंगबाट नदीमा उत्खनन भइरहेको भनाइ छ । ‘ठेकेदारले उचित ढंगबाट उत्खनन कार्य गर्दैनन । मापदण्डअनुसार उत्खनन गरेको छ कि छैन भनेर सम्बन्धित निकायबाट अनुगमन भएको पाइँदैन । किनभने प्राविधिकहरु पनि ठेकेदारसँगकै मिलेमतोमा काम गरेका होलान्,’ उनले भने ।
तर, स्थानीयको धारोमा पानी सुक्नुको कारण नदी उत्खनन प्रमुख कारण नभएको उनले बताए । ‘नदी उत्खननले भन्दा पनि बोरिङबाट चाहिँ नजिकको धारो सुक्न सक्छ,’ उनले भने, ‘किनकि नदी उत्खननका कारण पानीको धारो सुकेको भनेर अहिलेसम्म कहीँकतैबाट पनि गुनासो आएको छैन ।’
स्थानीयबाट गुनासो आएमा त्यसैको आधारमा समस्या समाधानको उपाय खोज्ने उनले बताए । ‘कतैबाट गुनासो आएमा पहिलो प्राथमिकताका साथ स्थानीयको समस्या समाधान गर्नेतर्फ लाग्नेछु,’ उनले भने ।
नदी उत्खननले धाराको पानी सुक्दै, स्थानीय सास्ती खेप्न बाध्य

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
