April 29, 2025

३३० सवारी साधनलाई निषेधाज्ञा उल्लघंनको कारवाही

May 10, 2021
- ADVERTISEMENT -

चितवन / निषेधाज्ञाको उल्लंघन गर्ने ३३० वटा सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ । प्रहरीद्वारा चितवनका २४० र मकवानपुरका ९० सवारी साधन गरी विभिन्न स्थानबाट ३३० वटा सवारी साधनलाई आइतबार कारबाही गरिएको हो ।
चितवन प्रहरीको कारबाहीमा २४० मध्ये २१८ वटा दुई पाङ्ग्रे तथा २२ वटा अन्य सवारी साधन रहेका छन् । कारवाहीमा परेका सवारी साधनबाट १ लाख १३ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, चितवनमा निषेधाज्ञा उल्लंघन गर्दै पसल सञ्चालन गर्ने २४ जनालाई प्रहरीले कारबाही गरेको छ । कारबाहीमा परेका सञ्चालकहरुबाट ६ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ । तोकिएको समयभन्दा अन्य समयमा पसल सञ्चालन गरेकोले कारबाही गरिएको चितवनका प्रहरी प्रवक्ता सरोज गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार निषेधाज्ञामा अनावश्यक हिँडडुल गर्ने ३७० जनालाई एक घण्टा होल्ड गरी छाडिएको छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई २४ घण्टा होल्डमा राखी जरिवाना गरी छाडिएको उनले भने ।
मकवानपुरमा ९० वटा सवारीसाधनलाई कारवाही
मकवानपुरमा निषेधाज्ञा उल्लघंन गर्ने ९० वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार निषेधाज्ञा उल्लघंन गर्ने मोटसाइकल र स्कुटर गरी ५६ वटा, अटो १० वटा, ट्रक १५ वटा, कार २ वटा र बस ७ वटा गरी जम्मा ९० वटा सवारी साधनलाई कारवाही गरिएको हो ।
त्यस्तै, अटेर गरी पसल संचालन गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ । नियन्त्रणमा रहेको ती सवारीसाधन र व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारबाही अघि बढाइने उनले बताए ।

- ADVERTISEMENT -