July 20, 2024

कोरोना संक्रमण उपत्यकामा स्थिर, बाहिर बढ्दो

May 23, 2021

काठमाडौँ / एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ। दुई साताअघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५ सय २३ नयाँ संक्रमित थपिएका थिए।
उपत्यकाको मात्र तथ्यांकलाई विश्लेषण गर्दा भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा चौगुना बढी संक्रमित थपिएका छन्। एक सातायता संक्रमणको चक्र उपत्यकाबाहिरका गाउँगाउँमा तथा एक प्रदेशबाट अर्को प्रदेशमा बढेर गएको मन्त्रालयको तथ्यांकले औंल्याएको छ। दुई साताअघिसम्म वाग्मती, लुम्बिनी र गण्डकीमा तीव्र रूपमा फैलिएको संक्रमण अहिले सुदूरपश्चिम, प्रदेश १ र २ मा बढ्दो क्रममा छ।
त्यसैगरी सहरमा घरपरिवारभित्रै र गाउँमा समुदायमै कोरोना संक्रमण फैलिने क्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ। ‘अहिले संक्रमण वाग्मती र लुम्बिनी प्रदेशमा घट्दै गएको तर प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने।
गाउँमा संक्रमण बढ्दा उपचारमा प्राविधिक हिसाबले कठिनाइ हुने भएकाले क्षति बढ्न सक्ने उनको आँकलन छ। गाउँमा निषेधाज्ञा राम्रोसित पालना नभएकाले त्यहाँको संक्रमण दर बढ्दो क्रममा रहेको मन्त्रालयको दाबी छ। प्रवक्ता गौतमका अनुसार हालै गरिएको सर्वेक्षणअनुसार ६० प्रतिशत मानिस निषेधाज्ञाको बेवास्ता गर्दै अहिले पनि हिँडडुल गरिरहेको पाइएको छ। कोरोना संक्रमण हिँडडुल र भेटघाटकै क्रममा सर्ने भएकाले अन्य प्रदेशमा पनि क्रमशः बढ्दै गएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -