July 21, 2024

एकताका लागि नेपालसँग संवाद गर्ने ओली पक्षको निष्कर्ष

June 6, 2021

काठमाडौँ / सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको छ ।
पछिल्लोपटक अनौपचारिक संवादमा रहेका दोस्रो पुस्ताका नेताहरूले मात्रै कुराकानी गरेर एकताको सम्भावना नदेखिएकाले नेपालसँगै बसेर गहन छलफल गर्नुपर्ने निष्कर्ष सो पक्षले निकालेको हो। ओली पक्षले सकेसम्म नेपालसँगै औपचारिक–अनौपचारिक कुराकानी गरेर पार्टी एकतालाई जोगाउन सकिने भन्दै नेपालसँगको संवादलाई महत्व दिएको हो। ‘हामी निरन्तर संवादमै छौं ।
पार्टी विभाजन हुनुहुँदैन भन्ने पक्षमा पार्टीका सबै तह छन्। त्यसकारण संवादलाई नै जोड दिइएको हो। आशा गरौं, संवादले निकास निस्कन्छ,’ उपप्रधानमन्त्रीसमेत रहेका विष्णु पौडेलले भने। नेपाल पक्षको भर्चुअल बैठकले पनि सकेसम्म पार्टी विभाजनलाई रोक्नुपर्ने तर समस्या समाधानको बल भने ओली कोर्टमा रहेको निष्कर्ष निकालेको छ।
त्यहीबेला औपचारिक–अनौपचारिक संवादको माध्यमबाट नेपाल पक्षलाई पार्टीबाट बाहिर पठाउन नहुने र सकेसम्म अन्तिम समयसम्म एकताको पहल गर्नुपर्ने निष्कर्षमा ओली पक्ष पनि पुगेको हो। ‘निरन्तरको संवादपछि नै निष्कर्षमा पुग्न सकिन्छ भन्ने हाम्रो धारणा छ। अहिले नै निराश हुनुपर्दैन,’ उपप्रधानमन्त्री पौडेलले भने। नेपाल पक्षले संवादलाई जोड दिन नसकिए नयाँ दल खोल्नुको विकल्प नभएको जनाएको छ।
सो पक्षद्वारा आयोजित केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकले सकेसम्म पार्टी एकतालाई कायमै राखेर जाने निर्णय गरेको थियो। त्यसपछि बसेको स्थायी कमिटी बैठकले ६ वटा बुँदालाई अघि सारेर पार्टी विभाजन रोक्ने प्रयास गर्नुपर्नेमा जोड दिएको छ।
नेपाल पक्षले पार्टीका सबै कमिटीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने, माधव नेपालसहितका नेताहरूमाथिको कारबाही फिर्ता हुनुपर्ने, २०७५ जेठभन्दा अगाडिकै स्थायी कमिटीको बैठक बोलाउनुपर्ने, नवौं महाधिवेशनको विधानबमोजिम पार्टी चल्नुपर्ने, तल्लो तहका नेताहरूको व्यवस्थापनका लागि कार्यदल बनाउनुपर्ने, प्रतिनिधसभा विघटन, अध्यादेशलगायत संविधानविपरीतका कार्यमा गल्ती स्वीकार गर्नुपर्ने सर्त अघि सारेको छ। त्यस्ता विषय नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठकमा जोडतोडले उठेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -