February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पहिरोको धरापमा सधैं सिन्धुपाल्चोक

June 17, 2021
Photo : Google

काठमाडौँ / सिन्धुपाल्चोक बाढीपहिरो र भूकम्पका घटनाबाट आक्रान्त बनेको छ । पछिल्लो दशकका हरेक वर्षात् दुःख, पीडा र त्रासमा गुज्रने गरेको छ । वर्षा हुनासाथ कति बेला कुन बस्ती र बजार पहिरोले थिच्छ, बाढीले बगाउँछ भन्ने चिन्ता जिल्लावासीमा सुरु हुन्छ ।
पहाडी भूभागमा पहिरो गएर सुनकोसी, इन्द्रावती, मेलम्ची, भोटेकोसी र ठाडा खोलानालामा जुनसुकै बेला बाढी आउन सक्छ । जोखिम न्यूनीकरणका लागि राज्यका तर्फबाट प्रभावकारी पहल भने हुन सकेको छैन ।
सिन्धुपाल्चोकमा भूकम्पका कारण सर्वाधिक धनजन क्षति भएको थियो । विज्ञहरूले त्यतिबेलै जोखिमयुक्त स्थान पहिचान गर्नुपर्ने सुझाव दिए पनि सरकारी निकायबाट खासै चासो दिइएन । भूकम्पका बेला जिल्लाको हिमाली भेगका डाँडामा जताततै पहिरो गएको थियो । जताततै जमिनमा धाँजा फाटेकाले वर्षात्मा तिनै स्थानमा पानी पसेर पहिरो गएको अनुमान स्थानीयले गरेका छन् ।
२०७२ पछि लगातार पहिरो गएकाले भूकम्पकै असर रहेको अनुमान विज्ञहरूको पनि छ । भूगर्भविद् नरेन्द्र खनाल भूकम्पका बेला मेलम्चीघ्याङको उत्तरतर्फ चार वटाभन्दा बढी पहिरो गएकाले त्यसको खतरा रहिरहेको बताउँछन् । यसपालिको पहिरो पनि सोही स्थानमा गएको हो । खनालले भूकम्पका कारण गएको पहिरोलाई बर्सेनि अनुगमन गरेर त्यसले पार्ने असर अनुमान लगाउन सकिने बताए ।
सिन्धुपाल्चोकमा गत वर्ष बाढीपहिरोले सर्वाधिक क्षति गरेको थियो । त्यतिबेलाका पीडितको बसोबासको व्यवस्थापन अझै हुन सकेको छैन । सरकारले विदेशी सहयोग जुटाउन बागलुङ र सिन्धुपाल्चोकलाई विपद् जोखिम संकटकाल क्षेत्र घोषणा गरे पनि त्यसअनुरूप काम देखिएको छैन । त्यतिबेला संघीय र प्रदेश सरकारले बाढीपहिरो नियन्त्रणका लागि थप संरचना निर्माण, विस्थापितको पुनःस्थापना, बस्ती स्थानान्तरण जस्ता विषयमा प्राथमिकता दिने जनाएका थिए । तर चालु वर्षमा बाढीपहिरो नियन्त्रणको कुनै पनि विशेष कार्यक्रम बनेन । विगतमा जसरी भूसंरक्षणका कार्यक्रम बन्थ्यो अहिले पनि त्यसैलाई निरन्तरता दिइएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोकका प्रमुख दिवाकर मास्के वार्षिक कार्यक्रम परम्परागत ढंगकै स्वीकृत भएको बताउँछन् । उनले भने, ‘सानातिना छरिएका योजना छन् । गत सालको पहिरोलाई प्राथमिकता दिएर ठूलो कार्यक्रम चालु वर्षका लागि स्वीकृत भएको छैन ।’
जोखिमका कुन–कुन बस्ती स्थानान्तरण गर्नुपर्ने, कुन ठाउँमा राख्नेलगायत विषयमा अहिलेसम्म निर्णय हुन सकेको छैन । कतिपय स्थानीय तहले अझै त्यसको तथ्यांक उपलब्ध गराएका छैनन् । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार गत वर्ष विस्थापित भएकाहरूको विषयमा यकिन तथ्यांक नै संकलन भइनसकेको बताए ।
स्थानीय प्रशासनको तथ्यांकअनुसार गत वर्षको बाढीपहिरोमा ३ सय ९० परिवार विस्थापत भएका थिए । उनीहरू गत वर्ष जसरी बसे, अहिले पनि त्यही अवस्थामा छन् । जोखिममा परेको बस्तीका विषयमा स्थानान्तरण गर्ने विषयमा कुनै निर्णय नभएको खनालले बताए । उनले भने, ‘विस्थापितका लागि अस्थायी टहरा बनाउने काम सुरु गर्न लागे पनि वर्षात्ले समस्या पारेको छ ।’
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अनिल पोखरेलका अनुसार सिन्धुपाल्चोकमा लाभग्राहीको सूची तयार नभएकाले अस्थायी आवास रकम पठाउन सकिएको छैन । उनले एक–दुई दिनमा उक्त रकम पठाउने जानकारी दिए । वाग्मती प्रदेशले सिन्धुपाल्चोकका पीडितलाई प्रतिपरिवार आवास निर्माणका लागि २–२ लाख दिने घोषणा गरेको थियो । तर त्यो रकमसमेत निकासा भएन । वाग्मती प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री युवराज दुलाल संघीय सरकारले रकम उपलब्ध गराउने भनेपछि दोहोरो पर्ने भएकाले प्रदेशले नदिएको बताए । प्राधिकरणले यो वर्ष वर्षात् धेरै हुने अनुमान गरेको छ । तर जिल्लामा थप सतर्कता देखिएको छैन । जुरेपहिरो, लिदी, घुमथाङ, जम्बुलगायतका बाढीपहिरो पीडित अझै टहरामा छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -