चितवन / भरतपुर महानगरपालिका वडा नं. १ मा अवस्थित रामनगर पुष्प बाटिकामा विभिन्न जातका फलफूलका विरुवा वृक्षरोपण गरिएको छ । नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक तथा पतञ्जली योग समिति नेपालका संरक्षक प्रमुख अतिथि ज्ञानेन्द्र विक्रम महतबाट मंगलबार वृक्षरोपण गरी शुभारम्भ गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रहरी नायब महानिरीक्षक महतले रामनगर पुष्प बाटिकाको संरक्षण र सम्बर्धन हामी सबैको दायित्व भएको बताए । यस बाटिकालाई हरियाली बनाउनु र सरसफाइमा ध्यान पुर्याउनु नै प्रमुख उद्देश्य भएको उनले भने । वृक्षरोपणले रामनगरको सुन्दरतामा थप सहयोग पुग्ने उनको विश्वास छ ।
रामनगर नेपालको मध्य राजमार्गको काखमा रहेकोले पर्यटकीय गन्तव्यको रुपमा पनि विकास गर्न सकिने भएकाले यस बाटिकाको स्तरोन्नति गरेर रामनगरको परिचय फराकिलो बनाउन सकिने उनको धारणा थियो ।
रामनगर पुष्प बाटिकाका प्रमुख संरक्षक तथा कार्यक्रम संयोजक तारानाथ कुँवरले ३२५ वटा फलफूलका विरुवा वृक्षरोपण गरिएको जानकारी दिए । उनले असारभित्रै अझै ४०० फलफूलका विरुवा वृक्षरोपण गरिने बताए ।
उनका अनुसार आँप, कटहर, अम्बा, सरिफा, मौसम, आरु, च्याउ, लब्सी, स्ट्रफूडलगायतका विरुवाहरु वृक्षरोपण गरिएको हो । सतनचुली सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत रहेको करिब १ विगाह क्षेत्रफल ओगटेको पुष्प वाटिकाभित्र नै सो वृक्षरोपण गरिएको उनले भने ।
डेढ वर्ष अघि स्थापना भएको पुष्प बाटिकामा हालसम्म ३२ लाख बढी खर्च भएको प्रमुख संरक्षक कुँवरको भनाइ छ । स्थानीयस्तरबाट सहयोग जुटाएर निर्माण गरिएको उक्त बाटिका भविष्यमा पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुने उनको विश्वास छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १ जयराम श्रेष्ठ, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेल, विभिन्न टोल विकास संस्थाका अध्यक्ष लगायतको उपस्थिति थियो ।
रामनगर भरतपुर महानगरपालिकाबाट अपहेलित ठाउँ भएको र यहाँका स्थानीयहरुकै सक्रियतामा यस पुष्प बाटिकाको निर्माण भएको बताइएको छ ।