२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

जग्गा अतिक्रमण गरेर बनाइएका घर भत्काइए

प्रकाशित मिति : २०७८ असार २८ गते
File Photo.
- ADVERTISEMENT -

खोटाङ / खोटाङको बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा भत्काएको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरालाई शनिबार डोजर लगाएर भत्काएको हो।
शंखेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन तीनपटक दिइएको समयलाई स्थानीयले बेवास्ता गरेपछि २०७७ मंसिर १८ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले १० दिनको अवधि दिएर मंसिर २१ गते २७ जनाको नामावलीसहित अन्तिम पटक सूचना जारी गरेको थियो । कतिपयले सो अन्तिम सूचनालाई पनि बेवास्ता गरेर बसेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिमा घरटहरा भत्काइएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बन्जराले बताए। बराहपोखरीको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउने गाउँपालिकाको प्रयास झन्डै तीन वर्षपछि सफल भएको हो।
बराहपोखरीका सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका व्यक्तिलाई घरटहरा हटाउन गाउँपालिकाले २०७५ असोज ८ गते, २०७५ साल चैत ४ गते र २०७६ साल मंसिर ३० गते सार्वजनिक सूचना प्रकाशन गरी अनुरोध गरेको थियो । सरकारको सय गन्तव्यको सूचीमा समावेश बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसिरहेका भुवन श्रेष्ठ, ढकबहादुर कार्की, तोर्णबहादुर कार्की, शिव श्रेष्ठ, कर्णकुमार श्रेष्ठ, खगेन्द्र राई, भीमबहादुर तामाङ, हर्कबहादुर तामाङ, भरत तामाङ, अर्जुन तामाङका नाममा गाउँपालिकाले घरटहरा हटाउन सूचना जारी गरेको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -