चितवन / नृत्य निर्देशक संघ नेपाल चितवन शाखाले दिवंगत नृत्य गुरुहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ । गुरुपूर्णिमाको अवसर पारेर संघले शनिबार गौरेश्वर मन्दिर पोखरा बसपार्कमा दिप प्रज्वलन गरेको हो ।
चलचित्र अभिनेता तथा कार्यक्रमका प्रमुख अतिथि मदन श्रेष्ठले पानसमा दियो प्रज्वलन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले कलाकारको हकहितको लागि सहयोग गर्न सदैव तयार रहेको बताए । उनले कलाकारलाई कहिँ कतै केही अप्ठेरो परे आवाज उठाउनुस पूर्ण समर्थन दिएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
संघका उपाध्यक्ष पुष्पकुमार श्रेष्ठका अनुसार चितवन जिल्लामा संघले गुरुहरुको सम्झनामा दिप प्रज्वलन गरेको पहिलो हो । परिवर्तनका लागि सुरुवात आफैबाट गर्नुपर्छ भनेझैँ दिप प्रज्वलन मार्फत् दिवंगत नृत्य गुरुहरुको स्मरण गरिएको उनले भने । कलाकारको उच्च सम्मान तथा भावी पिढीहरुलाई पनि यसले पाठ सिकाउने उनको धारणा छ ।
यस्तै श्रेष्ठले नृत्य निर्देशक संघ नेपाल काठमाडौंले हालसम्म तेस्रो पटक दिप प्रज्वलन गरेको जानकारी गराए । देशभर सरकारी तथ्यांक अनुसार ५१ जना दिवंगत भइसकेका छन् । कार्यक्रममा दिवंगत नृत्य गुरुहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष जनार्दन ढकाल, चितवन डान्स सेन्टरका निर्देशक मनोज लामा, विक्रम श्रेष्ठ, शंकर कुँवर, बसन्त लामा, शंकर राना देव आले, चन्द्र घले, गीता कुमाल, सरु कुमाल दिनेश दर्नाल, नितेश परियारलगायतको उपस्थिति थियो ।
कार्यक्रम संघका अध्यक्ष लिलाराज थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव रेनु तामाङले संचालन गरेका थिए ।
- ADVERTISEMENT -