चितवन / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय क्यान्सर इन्स्टिच्यूट भरतपुरमा बनाइने बताए । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रयाप्त जमिन र भौतिक संरचना भएकाले इन्स्टिच्यूट यही अस्पताल परिसरमा बनाउनु पर्ने उनले भने । अस्पतालको निरिक्षणपछि उनले यो ठाउँलाई छाडेर भक्तपुर इन्स्टिच्यूट बन्न नसक्ने उनको भनाइ थियो ।
सरकारले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई हेर्ने गरी अध्ययन, अनुसन्धान लगाएतका कार्यका लागि इन्स्टिच्यूट भक्तपुर क्यान्सर अस्पतालमा राख्ने निर्णय गरेकोमा चौतर्फी बिरोध भइरहेकोले भरतपुरमा इन्स्टिच्यूट राख्ने उनले धारणा व्यक्त गरे ।
मन्त्री श्रेष्ठका अनुसार क्यान्सर रोग सम्बन्धि अध्ययन र अनुसन्धान केन्द्रका रुपमा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताललाई विकास गरिने छ । उनले भने, ‘राजनेताको नाममा स्थापना भएको यस अस्पतालको विकासमा सरकारले कुनै कसर राख्दैन ।’ क्यान्सर रोग पहिचान गर्ने पेटस्क्यान लगाएतका महत्वपूर्ण उपकरण भित्र्याएर अस्पताललाई सुविधा सम्पन्न बनाउन सरकारको तर्फबाट आवश्यक सहयोग हुने उनको भनाइ थियो ।
सो अवसरमा उनले क्यान्सरका बिरामीका लागि सरकारले उपलव्ध गराउँदै आएको रु १ लाखलाई वढाएर ३ लाख पु¥याइने बताए । क्यान्सरका बिरामीका लागि प्रकृया मिलाएर कोरोना बिरुद्धको खोप उपलव्ध गराईने उनले भने ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले इन्स्टिच्यूट भरतपुरमा बनाउन र क्यान्सर उपचारमा दिँदै आएको रु १ लाख सहयोगलाई बढाएर कम्तिमा ३ लाख पु¥याउन अनुरोध गरे । अस्पतालका अध्यक्ष डा निर्मल लामिछाने, कार्यकारी निर्देशक डा देजकुमार गौतम र उपनिर्देशक डा कृष्णसागर शर्माले अस्पतालका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।















































