२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

कांग्रेसको १४औं महाधिवेशन : चितवनमा सरागर्मी तीव्र

प्रकाशित मिति : २०७८ भाद्र ९ गते
- ADVERTISEMENT -

नारायणगढ  / पछिल्लो समय भदौ १८ गते वडाको अधिवेशन सुरू गर्ने गरी १४औँ महाधिवेशनको मिति तोकिएसँगै नेपाली कांग्रेसको जिल्ला तहमा कांग्रेसभित्रको सरगर्मी निक्कै बढेको छ । पार्टीका वडादेखि जिल्ला तहका नेताहरू सम्भव भएसम्म कार्यकर्ताको घरदैलोमा पुग्ने, कार्यकर्ता भेला गराउनेलगायतका काममा व्यस्त छन् । उम्मेदवारहरूले त्यसबाहेक पनि सामाजिक सञ्जालको भरपुर प्रयोग गरी आफ्नो पक्षमा मत पार्ने प्रयास गरिरहेका छन् ।
केन्द्रीय समितिको निर्णय–अनुसार भदौ १८ मा वडाको अधिवेशन, त्यसपछि गाउँ÷नगर, प्रदेश क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन हुँदै मंसिर ९ देखि १३ गतेसम्ममा केन्द्रको महाधिवेशन गराइसक्ने निर्णय गरेपछि तल्लो तहसम्ममै पार्टीको चुनावी सरगर्मी बढेको हो । यसअघि भदौ २३ भित्र महाधिवेशन सकाउने पर्ने संवैधानिक अड्चन भए पनि पार्टीले क्रियाशील सदस्यता वितरण गर्न नसक्नु र केपी ओली नेतृत्वको सरकारमा सत्तारूढ दलभित्रैको उथलपुथलले कांग्रेसको महाधिवेशन कहिले हुने भन्नेमा अन्यौलता छाएको थियो ।
तर, भदौ २३ गतेसम्ममा महाधिवेशन गर्नुपर्ने भए पनि त्यसभन्दा अगाडि नै महाधिवेशन सुरू गर्दा महाधिवेशन हुँदाहुँदैको अवस्थालाई मान्यता दिएर उक्त मितिअगावै महाधिवेशन सुरू गर्ने निर्णय गरेको हो । जे होस् ढिलै भए पनि महाधिवेशनको मिति तोकेपछि भने जिल्ला, नगर र वडास्तरमा पार्टीभित्रको चहलपहल निकै बढेको छ ।
कूल सातवटा स्थानीय तह रहेको चितवनमा ९८ वटा वडा छन् । ती वडाहरूमा अधिवेशन गराउन वडा सभापतिहरूलाई आवश्यक काम र प्रकृयाको लागि निर्देशन दिइसकेको नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए । ‘अहिले पार्टीभित्रको राजनैतिक माहौल एकदमै तातिएको छ,’ उनले भने, ‘उम्मेदवारहरूले अरूबेलाभन्दा यतिबेला आफूलाई बढी सक्रिय बनाएर पार्टी गतिविधि गरिरहेका छन् ।’
तर, पार्टीको महाधिवेशन विभिन्न कारणले पछि धकेलिँदै गएकोले कोरोना भाइरस संक्रमण जोखिमका बाबजुद पनि महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको उनले बताए । त्यसैले वडा भेला गर्न पनि एकै ठाउँमा सम्भव नरहेको उनको भनाइ छ । ‘हामीले सबै वडामा वडा भेला गर्दा एकै ठाउँमा नगर्न भनेका छौँ,’ उनले भने, ‘एकै ठाउँमा वडा भेला गर्दा मानिसहरूको जमघट धेरै हुने हुँदा सकभर थोरैथोरै मानिसको भेला हुने गरी वडाको कार्यक्रम गर्न भनेका छौँ ।’
वडाले गर्नुपर्ने गतिविधि नियमित चलिरहेको र अधिवेशनको लागि निर्वाचन अधिकृतसहितको टिम आइसकेपछि उनीहरूलाई सबै वडामा पठाउने तयारी गरिरहेको सचिव जोशीले बताए ।
केन्द्रीय समितिको निर्णयअनुसार गाउँ र नगरअधिवेशन भदौ २७, प्रदेश ‘क’ र ‘ख’ अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्र अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ र केन्द्रको अधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो । चितवनमा जिल्ला १, संघीय क्षेत्र ३, प्रदेश क्षेत्र ६ र वडा ९८ मा कांग्रेसको अधिवेशन हुँदैछ ।

- ADVERTISEMENT -