February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सदस्यता शुद्धिकरणको विषयलाई गम्भीर रुपमा लिनुपर्ने

September 12, 2021

चितवन / चितवनका पत्रकारहरुले सदस्यता शुद्धिकरणको विषयलाई पत्रकार महासंघले गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा शनिबार भरतपुरमा जिल्लाका पदाधिकारी, पत्रकार महासंघ चितवनको पदाधिकारी निर्वाचनका उपविजेता, विभिन्न संघ संगठनका केन्द्रीय नेतृत्वमा रहेका तथा जिल्ला अध्यक्षहरुसँग आगामी कार्य योजनाबारे पूर्व अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सदस्यता शुद्धिकरणको विषयलाई प्रमुखताका साथ उठाएका हुन् ।
अन्तरक्रियामा नेपाल प्रेस युनियनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले बर्सेनि शुद्धिकरणको विषयमा बहस हुने गरेको भए पनि यसबारे ठोस निर्णय हुन नसकेको बताउनुभयो । पत्रकार महासंघले सदस्यता शुद्धिकरण गर्दै क्रियाशील सदस्यको मात्रै सदस्यता नवीकरण गर्नुपर्ने आचार्यले बताउनुभयो । उहाँले जिल्लामा सूचनाको हक कार्यान्वयन कमजोर भएको भन्दै यसको कार्यान्वयनमा महासंघले दबाब दिनुपर्ने भन्दै प्रेसमैत्री कानून निर्माणमा पैरवी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सृजना अर्यालले केही दिन अगाडि महासंघको केन्द्रीय कार्यसमितिले कार्ययोजना गरेर धेरै विषय समेटेको भन्दै कोभिडका कारण सञ्चार क्षेत्रमा परेका प्रभावबारे पनि महासंघले ध्यान दिनुपर्ने बताउनुभयो । अर्यालले कोभिडका कारण धेरै पत्रकारहरुको रोजगार गुमेको भन्दै उनीहरुको समस्या समाधानमा समेत महासंघले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । लामो समय पत्रकारिता गरेका अग्रज पत्रकारलाई पेन्सनको व्यवस्था राज्यबाट हुनुपर्ने भन्दै यसमा महासंघले दबाब दिनुपर्ने अर्यालको भनाइ थियो ।
अन्तरक्रियाका क्रममा नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष एवं निवर्तमान केन्द्रीय सदस्य कृष्ण गिरीले चितवनमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान बनाउनेगरी अघिल्लो सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा यसको कार्यान्वयनका लागि चितवन शाखाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने भन्दै गिरीले नयाँ पुस्ताका लागि समेत सहज हुनेगरी महासंघले काम गर्नुपर्ने बताउनुभयो । दक्ष पत्रकार सबैभन्दा महत्वपूर्ण विषय भएकाले यसतर्फ महासंघले सचेत भएर काम गर्नुपर्ने गिरीको भनाइ थियो ।
पेसागत दक्षताका लागि प्रविधिमैत्री तालिम आवश्यक हुने भन्दै गिरीले फरक फरक विषय वस्तुबारे तालिम लिन चाहेका पत्रकारहरुको तथ्यांक लिएर सोहीअनुसारका तालिम प्रदान गर्न गिरीले सुझाव दिनुभयो । जिल्लामा श्रमजीवी ऐन कार्यान्वयनको अवस्थाबारे अध्ययन÷अनुसन्धान गरेर तथ्यांक निकाल्नुपर्ने र ऐन कार्यान्वनयमा सञ्चार गृहलाई दबाब दिनुपर्ने गिरीको भनाइ थियो । पत्रकारको भौतिक र पेशागत सुरक्षा महत्वपूर्ण विषय भएकाले दुर्घटना पीडित पत्रकारलाई तत्काल राहत दिनेगरी कल्याणकारी कोष स्थापना गर्नुपर्ने गिरीले बताउनुभयो ।
महासंघले वितरण गर्ने पुरस्कारको कोष स्थापना गर्दा जो सुकै व्यक्ति तथा संस्थाले दिएको रकम लिन नहुने भन्दै गिरीले यसबारे कार्ययोजना बनाएर निर्णय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । पत्रकारको आचरणको विषयमा सार्वजनिक स्थानमा समेत टिकाटिप्पणी हुने गरेको भन्दै यसबारे पत्रकार स्वयं सचेत हुनुपर्ने भन्दै गिरीले पत्रकारहरु आफै आचरणमा बस्दै आचारसंहिता पालना गर्नुपर्नेमा गिरीले जोड दिए ।
सो अन्तरक्रियामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शालिग्राम नेपालले आम सञ्चार प्रशिक्षण प्रतिष्ठानका अलावा जिल्ला शाखाले सञ्चालन गर्नेगरी जग्गा खोजेर भौतिक संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । जिल्लाको आफ्नै गेष्ट हाउस निर्माण गर्दै तालिम केन्द्र निर्माण गर्न सकेको अवस्थामा महासंघको आर्थिक स्रोत बलियो हुने नेपालको भनाइ छ । स्थानीय सञ्चार गृहहरुलाई मजबुत बनाउनका लागि जिल्लाका स्थानीय तहले जिल्ला बाहिर पठाउने गरेको विज्ञापनको तथ्यांक लिएर त्यस्ता विज्ञापन स्थानीय सञ्चार माध्यममा नै प्रकाशन गर्नुपर्ने व्यवस्था गर्न महासंघले भूमिका खेल्नुपर्ने नेपालको भनाइ थियो ।
अन्तरक्रियामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरु शिशिर सिंखडाले पत्रकार महासंघ चितवनले भौतिक संरचना निर्माण गर्दै सम्पत्ति संरक्षणमा ध्यान पु¥याउनुपर्ने बताउनुभयो । कोभिडका कारण सञ्चार गृह धराशायी अवस्थामा पुगेका भन्दै सिंखडाले तिनलाई स्थायीत्व दिन महासंघले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । महासंघमा आवद्ध भएका पत्रकारहरुले विज्ञापनका विषयमा विभिन्न संघसंस्थालाई दबाब दिने गरेको भन्दै सिंखडाले त्यस्तो कार्य रोक्नका लागि समेत महासंघले पहल गर्नुपर्ने बताउनुभयो ।
सो अन्तरक्रियामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरु अनन्त प्रकाश सुवेदी, संगीता आचार्य, नवराज ढकाल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य वसन्त पराजुली, प्रेस चौतारी नेपाल चिवनका अध्यक्ष सुवास पण्डित, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकारहरु सूर्यप्रकाश कँडेल, टीकादत्त तिमल्सेना, राजेश घिमिरे, रामकान्त पौडेल, राजु सापकोटा, अमीर रामदामलगायतले विभिन्न सुझाव दिनुभएको थियो । पत्रकारहरुबाट आएका सुझावलाई संकलन गरेर आगामी कार्ययोजनमा समेटिने पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीले बताउनुभयो ।
सबै पत्रकारहरुको सुझावलाई दस्तावेजको रुपमा महासंघमा फाइलिङ गरेर राखिने समेत अध्यक्ष अधिकारीको भनाइ थियो । सुझावहरु प्राथमिकताको आधारमा कार्ययोजनमा पारेर काम गर्दै जाने अधिकारीले बताउनुभयो । नेपाल पत्रकार महासंघ चितवनको कार्ययोजना गोष्ठी भदौ २८ गते बस्दैछ ।

- ADVERTISEMENT -