April 29, 2025

चितवनका नयाँ प्रजिअ आस्मान तामाङलाई गुम्बामा स्वागत

September 22, 2021
- ADVERTISEMENT -

– बबिलाल तामाङ
चितवन / चितवनमा भर्खर सरुवा भई आउनु भएका नयाँ प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई भोजाडको छेच्यु थर्पलिङ गुम्बामा स्वागत तथा सम्मान गरिएको छ । छेच्यु थर्पलिङ गुम्बा भोजाड, नेपाल तामाङ घेदुङ महानगर समिति चितवन, भरतपुर नगर तामाङ समाज चितवनले संयुक्त रुपमा नयाँ प्रजिअ तामाङलाई बुधबार स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजिअ तामाङले तामाङ समुदायमा शिक्षाप्रति लगाव कम भएको बताए । तामाङ समुदायमा शिक्षाको कमी कमजोरीले गर्दा राज्यको उच्च ओहदामा पहुँच नपुगेको प्रजिअ तामाङको भनाइ थियो ।
सम्पूर्ण तामाङ समुदायले शिक्षालाई जोड दिएर लाग्ने हो भने राज्यको जुनसुकै निकायमा पुग्न सफल हुने उनले धारणा थियो । उनले सबै तामाङ समुदायलाई मेहनत गर्न आग्रह गर्दै आफ्नै कारणले पछि पर्नु नहुने सुझाव दिए ।


कार्यक्रममा उनले तामाङ समुदायलाई सरकारी निकायमा स्थान बनाउन लोकसेवा पढ्नु पर्ने जिकिर गरे । पटकपटक लोकसेवाको परीक्षामा अनुत्तीर्ण भएको उदाहरण स्वयम् भएको र निरन्तर लागि रहेपछि सफलता प्राप्ति भएको उनको भनाइ थियो ।
उनले यो सम्मान र स्वागतको गुण कहिल्यै तिर्न नसक्ने बताउँदै कुनै पनि बेला समस्या परेमा तामाङ समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रजिअ तामाङले सम्मान र स्वागतको गुण तिर्न आफूलाई एक पटक मौका दिनु हुन समेत उनले सबैलाई आग्रह गरे । सम्पूर्ण तामाङ समुदायलाई आह्वान गर्दै जुनसुकै समयमा आए पनि सेवा दिन तयार हुने उनले बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका निवर्तमान अध्यक्ष गंगा लामाले चितवनमा पहिलो पटक तामाङको छोरो प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउनु भएकोमा हामी सबै निकै खुशी भएको बताए । उनले प्रजिअ तामाङको कार्यकाल, बसाई सुखद् र सफलताको कामना ब्यक्त गरे ।


भरतपुर नगर तामाङ समाजका महासचिव सूर्यप्रकाश लामाले राज्यमा तामाङ समुदायको उपस्थिति हुनु भनेको धेरै महत्वपूर्ण भएको बताए । गैर तामाङले तामाङलाई कहिल्यै स्थान नदिएकोले हामीले राज्यस्तरमा बाहुल्यता बढाउन पर्ने बेला आएको उनले भने । लोकसेवामा हाम्रो सहभागिता न्यून रहेकोले अबका दिनमा हामीले त्यसतर्फ ध्यान दिन जरुरी भएको उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथि तामाङलाई मायाको चिनो प्रदान गरिएको थियो भने उपस्थित तामाङ समुदाय सबैले उनलाई खादाद्वारा स्वागत गरेका थिए । कार्यक्रममा भरतपुर नगर तामाङ समाजका पूर्व अध्यक्ष दिलमाया लामा, मोहन लामा, ज्ञानबहादुर पाख्रिन, रामबहादुर शेर्पा, प्रतिमान तामाङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्वमा छेच्यु थर्पलिङ गुम्बाका अध्यक्ष पञ्चबहादुर लामा रहेको थियो भने संचालन सूर्यप्रकाश लामाले गरेका थिए ।

- ADVERTISEMENT -