चितवन / दसैँ संघारमै आइसक्यो । बजारमा दसैँको चहलपहल राम्रै बढिसकेको छ । तर, विकटमा जङ्गली कन्दमुलको भरमा दिन धकेलिरहेका विपन्न चेपाङ समुदायलाई भने दसैँ कहिल्यै नआए हुन्थ्यो भन्ने भइरहेको छ । वर्षेनि दाताकै भरमा दसैँ मनाउँदै आएका चेपाङ समुदायको यसपटकको व्यथा पनि विगतका जस्तै हुन् । ‘दसैँ आइसक्यो, तर हाम्रा लागि कोही आउलान् कि भन्ने आसमा बाटो हेरेर बसिरहेका छौँ,’ राप्ती १० का वीरबहादुर चेपाङले भने, ‘कसैले ल्याएर दिए यसपालिको दसैँ मनाइएला । होइन भने यसवर्षको दसैँ सम्झिने मात्रै हो ।’
आफूले चित्त बुझाउन सके पनि बालबच्चालाई बुझाउन गाह्रो हुने उनको भनाइ छ । गाउँमा एक जनाको मात्रै समस्या नभई सबैको समस्या उस्तै रहेको उनले बताए । ‘गाउँमा सबैको व्यथा उस्तै हो,’ उनले भने, ‘जसलाई हेरे पनि उस्तै छ । त्यसैले सबैजना दाताको बाटो हेरेर बसिरहेका छौँ ।’
इच्छाकामना १ जाइथलीका डम्मरबहादुर चेपाङले पनि हरेक वर्ष दाताहरूकै भरमा दसैँ मनाउँदै आएको बताए । कुनै वर्ष दाताको नजर आफ्नो गाउँमा नपर्दा गाउँलेले भोकैभोकमा दसैँ मनाउनुपर्ने अवस्था रहेको उनले बताए । ‘दाताले चामल ल्याएर बाँडेको वर्ष दुई छाकै भए पनि मीठो मानेर दसैँ मनाउँछौँ,’ उनले भने, ‘दाताको नजर नपरेको बेला दसैँ नआए पनि हुन्थ्यो जस्तो हुन्छ ।’ उनको घरमा १० जनाको परिवार छ । १० जनाले बिहान बेलुका दुई किलो चामल खर्च हुन्छ ।
अर्को कुरा विपन्न परिवारलाई कोरोना भाइरसको जोखिम पनि कमाउनलाई बाधक बनेपछि थप समस्यामा परेका छन् । ‘कोरोनाले गर्दा कमाउने बाटो पनि बन्द भयो,’ उनले भने, ‘त्यसले पनि हामीलाई थप समस्यामा पा¥यो ।’ वर्खाको समयमा आएको मकै पनि सकिइसकेको र नयाँ अन्न पनि नआएको हुँदा दसैँको समयमा चाहिँ हरेक चेपाङको घरमा अनिकाल पर्ने गामबेँसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी ‘किरण’ शर्माले बताए ।
हरेक वर्ष दाताको खोजी गरेर चेपाङ गाउँमा खाद्यान्न वितरण गर्दै आएको उनले बताए । ‘सबैलाई समेट्ने प्रयास हरेक वर्ष रहन्छ,’ उनले भने, ‘यसपटक पनि हामीले प्रयास गरिरहेका छौँ । केहीले पाइसके, केहीले पाउने क्रममा छन् ।’
चेपाङको विपन्नता र पारिवारिक अवस्थालाई हेरेर सबैभन्दा कमजोर परिवारलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गर्दै आएको उनले बताए । ‘सकभर घरमा कमाउने व्यक्ति पनि नहुने र आयस्रोतको बाटो कतै पनि नभएका परिवारलाई पहिलो प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘यो दसैँमा कम्तिमा दुई छाक चामलको भात खान पाओस् भन्ने हाम्रो चाहना छ ।’ विकट बस्तीका चेपाङ समुदायलाई खाद्यान्न मात्र नभई हरेक वर्ष जाडोको याममा न्यानो कपडाको समेत अभाव हुने गर्दछ । न्यानो कपडा नहुँदा हरेक वर्ष बालबालिकाहरू आगोमा जल्ने गरेका छन् । –न्यूजप्रवाह साप्ताहिकबाट ।
दसैँ मनाउन चेपाङलाई दाताकै भर
October 9, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
