April 29, 2025

चितवन राप्तीका उप–मेयर लामा दशैंमा पनि विरामी ल्याउन र लैजानमा नै व्यस्त

October 19, 2021
photo : Kalikadainik
- ADVERTISEMENT -

चितवन / राप्ती नगरपालिकाका उप–मेयर इमानसिंह लामा दशैंको समयमा पनि विरामीलाई अस्पतालसम्म लिएर आउन र लैजान ब्यस्त छन् । गत वर्ष नेपालमा कोरोना महामारी सुरू भएको समयमा पनि धेरै विरामीहरुलाई उपमेयर लामाले अस्पतालसम्म ल्याउने र लैजाने कार्यमा व्यस्त भएका हुन् ।
गत वर्ष कोरोना महामारीका कारण देशभर लकडाउन भयो । लकडाउनका कारण बजार, यातायातदेखि सरकारी, गैरसरकारी कार्यालय सबै ठप्प हुँदा जनजीवन अस्तव्यस्त बन्न पुग्यो । एकातिर कोरोना महामारी बढ्दै थियो, अर्कोतिर विपन्न वर्ग खानबाटै बञ्चित हुँदै थिए ।
उपचारका लागि अस्पताल पुग्नै पर्ने बिरामीको हालत दिन–प्रतिदिन बिग्रँदै थियो । फोन गरेर बोलाउँदा एम्बुलेन्स ठाउँमा पुग्दैनथे । पुगिहाले पनि मनलाग्दी भाडा असुलेर बिरामीलाई झनै पीडा थप्ने काम भयो । यस विषम परिस्थितिमा पनि उपमेयर लामा हरेक विरामीको सहारा बनेर उभिएका हुन् ।
उनले अझै पनि विरामीको सेवालाई निरन्तरता दिइरहेका छन् । अघिल्लो वर्ष लकडाउनको अवधिमा उनले दीर्घरोगी बिरामीहरुलाई निःशुल्क अस्पताल लैजाने र ल्याउने जिम्मा नै लिएका थिए । जनतासँग नजिक रहेर काम गर्न रुचाउने उनले अघिल्लो वर्ष ११७ जना दीर्घरोगी विरामीहरुलाई नियमित रुपमा सेवा गरेका थिए ।
उनका अनुसार राप्ती नगरपालिकामा १ सय ६३ जना को हाराहारीमा दीर्घरोगीहरु रहेका छन् । उनले दशंैको बेलामा पनि ३–४ जनालाई हस्पिटलसम्म ल्याउने र लैजाने गरेको बताए । दशंैको बेला सबै आफ्नो घर परिवारसँग रम्ने अनि रमाउने आशीर्वाद ग्रहण गर्ने बेलाको समयमा पनि विरामीलाई सेवा गर्न पाउँदा आफू भाग्यमानी भएकोे उनको भनाइ छ ।
उप–मेयर लामाले आफै सवारी चलाएर बिरामीको घर–घरमा पुगेर हस्पिटलसम्म ल्याउने र लैजाने गर्ने गरेका छन् । लामा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् लुम्बिनी विकास कोषका पूर्व निर्देशक समेत हुन् ।

- ADVERTISEMENT -