April 30, 2025

कांग्रेसका जिल्ला सदस्य दाहाल नेकपा एकीकृत समाजवादीमा प्रवेश

October 22, 2021
Photo : tukhabar
- ADVERTISEMENT -

मकवानपुर / कांग्रेस मकवानपुरका सदस्य अर्जुन दाहाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले टिका र खादा लगाएर दाहाललाई स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले नेकपा एकीकृत समाजवादी पार्टी लोकतन्त्र र संविधानको रक्षाको लागि सदैव प्रतिवद्ध रहेको बताए ।
उनले पूर्व प्रधानमन्त्रीसमेत रहेका माधव नेपाल र नेकपा एकीकृत समाजवादीका अन्य नेता गणले अवसर त्यागेर विधि र पद्धतीमा उभिएको भन्दै प्रसंसा गरे । ‘नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकाहरु अवसरभन्दा माथि उठ्नु भएको छ । जनताको आवाज बन्ने प्रयत्न गर्नुभएको छ । त्यसकारण म प्रभावित भएँ ।’ उनले भने ।
उनले आफु कांग्रेसमा रहँदा पनि देश जनता र पार्टीप्रति इमान्दार भएको बताउँदै अब नेकपा एकीकृत समाजवादीमार्फत् जनताको घर दैलोसम्म पुग्ने बताए । अवसर नपाएर पार्टी त्यागेको आरोप आफुमाथि भएपनि त्यसमा सत्यता नभएको उनले बताए । कांग्रेसमा रहँदा सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत दिए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज ललित बस्नेत, केन्द्रीय सदस्य एवम् मकवानपुर सह–इन्चार्ज मुनु सिग्देल र सुर्यचन्द्र न्यौपानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मकवानपुर अध्यक्ष श्रीधर पोखरेलको सभाध्यक्षतामा भएको हो ।

- ADVERTISEMENT -